गुल्मीका कोतघरमा सरायको रौनक

गुल्मी । एकादशीदेखी पूर्णिमासम्म गुल्मीका कोतघर एवं शक्तिपिठमा सरायको रौनक देखिएको छ । नौमती बाजा तालमा जिल्लाका विभिन्न शक्तिपिठहरुमा भक्तजनहरु सरायमा झुमेका छन् ।

नेपालका पश्चिमी जिल्लाहरुमा सराय नाँच्ने गरिन्छ । सराय एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म नाँचिन्छ । सरायमा खुडा, भाला, तरबार, खुकुरी जस्ता युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरी ‘वाख्खै वा’ शब्द उच्चारण गरी गरिन्छ । गुल्मी, अर्घाखाँची, प्युठान लगायतका जिल्लाहरुमा एकादशीदेखि पूर्णिमाको दिनसम्म फरक–फरक ठाउँमा सराय नाँच्ने गरिन्छ । गुल्मीको इस्मा मैदान, धुर्कोट दरबार, अर्जै, जोगिथुम भगवती मन्दिर, राङदलचौर, कुमारीदेवी मन्दिर, चोयघा लगायतका स्थानमा सराय नाँचिएको छ ।

पूर्णिमाको दिन धुर्कोट कोत, अर्जै, जोगिथुम भगवती मन्दिर, लगायतका स्थानमा सराय नाँचिएको छ । सरायमा बालबालिका, युवा, महिलाका साथै बृद्धबृद्धा समेत नाँच्ने गरेका छन् । ‘यस बर्ष सराय खेल्न र हेर्न पाइयो ।’ रेसुङ्गा नगरपालिका–४ का झवि पाण्डेले भने, ‘विगतका बर्षभन्दा निकै उत्साह भयो ।’ रेसुङ्गा नगरपालिका–४ मा रहेको जोगिथुम भगवती मन्दिरमा नवमीको दिन बली दिइन्छ भने पूर्णिमाको दिन सराय नाँचिन्छ ।

रंगीचंगी ध्वजापतकाले सिंगारिएको आलमलाई भगवानको प्रतीकको रूपमा लिइन्छ । लाइनमा रहेका सयौँ भक्तजन एक समूहले अर्को समूहलाई आक्रमण गरे जस्तो देखिने सराय नाँच रमाइलो संस्कृतिको रूपमा लिइन्छ । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र दुर्गा भगवती तथा कालिका मन्दिरमा हतियार नचाएर सराय नाँच्न थालिएको हो । यसरी नाच्दा देवी प्रसन्न हुने धार्मिक विश्वास रहेको जोगिथुम भगवती मन्दिरका अध्यक्ष लाल बहादुर दर्लामीले बताए ।

तत्कालिन समयमा युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरेर सराय नाँचिन्छ । गुल्मीका अधिकाशं शक्तिपिठमा बाउ–बाजेका पालादेखि नै सराय नाँचिएको छ । इस्मामा छापाली र इस्माली भेट भएपछि सरायको औपचारिक सुरुवात हुन्छ । बाइसेचौबिसे राज्य हुँदाताका भुरे राजाले आफ्नो कोतमा सराय नाँच नचाउने गरेपछि नै सराय सुरु भएको बुढापाका बताउँछन् । घटस्थापनादेखि नौ दिनसम्म देवीको पुजा गर्दा महाकाली उत्पति भइन् । पछि महाकाली ठूली हुदैँ गइन् र राक्षसलाई मारिन पनि ।

त्यसपछि रामचन्द्रले राउण्डेलाई मारे । नौ दिनसम्म पुजा गरी राक्षसलाई मारेको उत्सवस्वरुप दसैँको टिका लगाउने प्रचलन बस्यो । त्यसैगरी राउण्डेलाई मारेको उत्सवमा हजारौँ बर्षअघि द्धापरयुगमा सराय खोल्न थालिएको इतिहास छ । किम्बदन्ती अनुसार वि.स. १४६५ मा खड्गराज मल्ल धुर्कोटको राजा बनेपछि खुसियालीमा दसैँको पूर्णिमाका दिन विजय उत्सव मनाइएको थियो । सो समयमा राजाले प्रजालाई बोलाई सेनाद्धारा ढाल, तरवार, खुँडा, समाएर शक्ति प्रदर्शन गरिएको थियो । त्यसबेला विजयको उत्सव स्वरुप नाँच नाँचेर देवी देवता र प्रजाप्रति श्रद्धा प्रकट गरिएको थियो । त्यही श्रद्धा अपभ्रशं भएर सराय भएको हो भन्ने बुझिन आएको छ ।

धुर्कोटमा छिमली र पट्टा नाँच
धुर्कोट दरबारमा छिमली र पट्टा नाँचको रौनक छुट्टै हुने गर्दछ । पहिले सराय नाँचको सुरुमा गन्धर्वलाई अगाडी लगाई बाजागाजाको धुनसँगै हतियार लिएर पहिले विस्तारै र पछि छिटो छिटो गतिमा मौला वरिपरि छिमली नाच नाचिन्छ । दोस्रो नाँचको रुपमा हुहु नाँच खेलिन्छ । जुन दरबारबाट झर्ने सिढीको पश्चिमतर्फ बाजा तालमा नाचिन्छ । तेस्रो नाचको रुपमा तुरी नाच नाँच्ने गरिन्छ ।

चौथो नाचको रुपमा पटा नाचलाई लिने गरिन्छ । यसमा दुईजना प्रतिद्धन्द्धिीहरु ढाल र तरबार लिई बाजाको तालमा नाच्छन । डरलाग्दो देखिने यो नाँचले मिल्ने साथि साथि बीच पनि द्धन्द्ध, इष्र्या र प्रतिशोध हुने भएकोले सबैसँग सतर्क हुनुपर्ने संदेश दिने स्थानीय जानकार कृष्ण प्रसाद भण्डारी बताउनुहुन्छ ।

बाजा गाजाको साथमा तरबार, खुकुरी, ढाल, खुँडादेखि लिएर रुपमाल र लठी नचाउदैँ फन्को मारेर सराय नाँच्ने गर्दछन् । यो नाचमा सहभागि हुन र हेर्न छिमेकी गाउँपालिकाहरुबाट पनि दर्शकहरु आउने गर्दन् । कामको सिलसिलामा वा विभिन्न उदेश्यहरुले घरबाहिर गएका व्यक्तिहरु पनि दसैँमा घर फर्कन्छन् ।

रेसुङ्गा नगरपालिका–४ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक लिलाधर आचार्यले मन्दिरको पुन निर्माण, बाजागाजा व्यवस्थापन, मन्दिरभित्र प्रयोग हुने हातहतियार व्यवस्थापन लगायतका क्षेत्रमा नगरले काम गरेको बताए । उनले दसैँमा हुने सराय नाँचले आन्तरिक पर्यटक प्रवद्र्धन र शक्तिपिठको प्रचार–प्रसार हुने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो