काठमाडौं । वर्षौँसम्म ठेक्का ओगटेर आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीमाथि सरकारले कारबाही तीव्र बनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेपछि सुनिल लम्सालले रुग्ण आयोजना पहिचान, ठेक्का अन्त्य र निर्माण व्यवसायीबाट सरकारी बाँकी रकम असुल गर्ने प्रक्रियालाई अघि बढाएका छन् ।
४७ ठेक्का तोडिए, साढे ४९ करोड दाखिला गर्न ताकेता
मन्त्री लम्सालको सयदिने कार्यकालमै सडक विभागअन्तर्गत रहेका २२७ रुग्ण ठेक्कामध्ये ४१ वटाको सम्झौता अन्त्य गरिएको थियो । कुल १८ अर्ब ३३ करोड ४२ लाख रुपैयाँका रुग्ण ठेक्कामध्ये ३ अर्ब ८६ करोड रुपैयाँ बराबरका ठेक्का तोडिएका थिए । लम्साल नेतृत्वको मन्त्रालयले त्यसपछि पनि ठेक्का तोड्ने क्रम अघि बढाउँदा पछिल्लो पटक अछाममा मात्रै लामो समयदेखि अलपत्र रहेका सडक तथा पुल निर्माणसम्बन्धी ६ वटा रुग्ण ठेक्का अन्त्य गरिएको छ । ती आयोजनाका निर्माण व्यवसायीबाट ४९ करोड ६ लाख रुपैयाँभन्दा बढी सरकारी खातामा दाखिला गराउन पत्राचार गरिएको मन्त्री लम्सालले बताएका छन् ।
अछाममा पछिल्लो पटक तोडिएको ठेक्कामध्ये मंगलसेन–सुखाड–खेतगैरे–जुलिमारे–ढकारी सडकको अवस्था उदाहरणीय छ । १० किलोमिटर लामो सडक निर्माणका लागि ३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो । २०७९ वैशाखमा सम्झौता भएको आयोजना २०८३ वैशाखसम्म म्याद थप्दा पनि सम्पन्न हुन सकेन ।
ठेक्का तोड्दासम्म भौतिक प्रगति १९.८३ प्रतिशत मात्रै थियो । सडक डिभिजन कार्यालय साँफेबगरले निर्माण व्यवसायीलाई ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न पत्राचार गरेको छ ।
अछाममा ठेक्का अन्त्य गरिएका अन्य आयोजनामा साँफे–मार्तडी सडक मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत तथा नाली निर्माण र बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक निर्माणलगायत छन् । यीमध्ये कतिपय आयोजना २०७६ सालदेखि अलपत्र थिए ।
यसअघि मेची करिडोरअन्तर्गत इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने बेलासे–गोलाखर्क भञ्ज्याङ सडकको ठेक्का पनि अन्त्य गरिएको थियो । २७ करोड २२ लाख रुपैयाँमा सम्झौता भएको उक्त सडकको भौतिक प्रगति करिब ४७ प्रतिशतमा सीमित थियो । ठेक्का तोडिएपछि सरकारी रकम फिर्ता ल्याउने प्रक्रिया भने चुनौतीपूर्ण देखिएको मन्त्रालय स्रोतले जनाएको छ ।
सम्बन्धित समाचार
नेपाल–चीन जोड्ने ‘लाइफलाइन’ खाँदबारी–किमाथांका सडक पुनः सञ्चालनमा
सुनकोशीमा खस्यो टाटासुमो, तीन जनाको मृत्यु
हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने
एकै दिन ४७० सवारीसाधन कारबाहीमा
ग्लोबल आइएमई बैंकले लगातार तेस्रो पटक पायो ‘बेस्ट बैंक’ अवार्ड
नेप्से स्थिर रहँदा पौने ६ अर्बको कारोबार
चोरीको आरोप लागेका ४ भारतीय नागरिक पक्राउ






