मकवानपुर । मकवानपुरको भीमफेदीमा भएको भीषण सवारी दुर्घटनामा परी मृत्यु भएका चालकसहित ११ जनाको पहिचान खुलेको छ । दुर्घटनामा पाँच महिला र छ पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार मृत्यु हुनेमा सवारी चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डल रहेका छन् । अन्य १० जना मृतक सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका बासिन्दा हुन् ।
दुर्घटनामा एकै परिवारका आमा र तीन छोरी तथा अर्को परिवारका श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया पुनम यादव र उनका तीन छोरी १० वर्षीया अनु कुमारी यादव, सात वर्षीया दिक्षा यादव र पाँच वर्षीया दिपिका यादव रहेका छन् ।
त्यस्तै, ३६ वर्षीय गुड्डु यादव र उनकी ३२ वर्षीया श्रीमती गायत्री देवीको पनि दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा २६ वर्षीय बिकेश यादव, २६ वर्षीय राम दुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवले पनि ज्यान गुमाएका छन् ।
दुर्घटनामा घाइते भएका छ जनालाई उद्धार गरी सुरुमा हेटौँडा अस्पताल पुर्याइएको थियो । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका अवधेश यादवका १४ महिने छोरा सुदीप यादव र मृतक गुड्डु यादवका तीन वर्षीय छोरा सुजन यादवलाई थप उपचारका लागि काठमाडौँस्थित नेपाल मेडिसिटी अस्पताल पठाइएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
त्यसैगरी, टाउको र शरीरमा चोट लागेका ३१ वर्षीय देवेन्द्र राय (बेचु) लाई थप उपचारका लागि चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको छ ।
अन्य तीन जना घाइते ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र राय भने हेटौँडा अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
यसअघि बिहीबार बिहान छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय गाडी ९इभी० भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको थियो ।
सम्बन्धित समाचार
नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने
बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न युनिसेफको सुझाव
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?
तिहारको चौथो दिन गाईपूजा गरिँदै
पर्सामा पटका पड्काउने क्रममा बालकको मृत्यु
नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै
झिनिया बेचेर दसैं–तिहारमा मात्रै चार लाखसम्म आम्दानी
बालगोपालेश्वरको भाइटीका प्रभावित






