८१ दिनदेखि बन्द रहेको जानकी मन्दिर पूजापाठका लागि खोलियो

जनकपुरधाम । कोरोना महामारीका कारणले गत ८१ दिनदेखि बन्द रहेको हिन्दुहरूको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधामको जानकी मन्दिर पूजापाठका लागि खोलिएको छ । महामारीको नियन्त्रण तथा रोकथामका लागि घोषणा गरिएको लकडाउन अवधिमा मन्दिरको मूल ढोका बन्द रहको थियो । गत चैत्र १५ गतेदेखि जानकी मन्दिरको मूल ढोका बन्द गरिएकोमा अहिले खुल्ला गर्ने काम भएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।

पूजामा सोशल डिस्टेन्सलाई ध्यानमा राखिने छ । लकडाउनकै क्रममा रामनवमी र जानकी नवमी जस्तो उत्सव भएको थियो । मनिदरकै पूजारीहरुले मात्रै सो उत्सवमा सहभागि भएका थिए । प्रत्येक महिना कूनै न कुनै उत्सव भइरहन्छ त्यो उत्सवमा पनि विशेष सर्तकर्ता अपनाइने मन्दिरले जनाएको छ । मन्दिर बनद रहेको बेला धेरै व्यक्ति बाहिर पुगेर नै पूजा गर्ने गर्थे ।

जानकी मन्दिर स्थापना भएको पाँच सय वर्षको इतिहासमा पहिलो पटक मूल ढोका ८१ दिनसम्म बन्द गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । मन्दिरका संस्थापक महन्थ सुरकिशोर दास वैष्णवले स्थापना गर्नु भएको जानकी मन्दिर सुरुमा सानो आकारको भए पनि भारतका टिकमगढका महारानी बृषभानु कुमारीले आज भन्दा एक सय २६ वर्ष अगाडी तत्कालीन ९ लाख असर्फी मुद्रामा अहिलेको जानकी मन्दिरको विशाल मन्दिरको निर्माण गराएका थिए ।

विश्वका हिन्दुहरूका लागि आस्थाको केन्द्रको रूपमा रहेको जानकी मन्दिर खुले पनि भक्तजनहरू निक्कै कमै मात्रामा पूजा पाठका लागि आउने गरेका छन् । मन्दिरमा आउने भक्तजनहरू प्रायः स्थानीय नै रहेको उत्तराधिकारी महन्थ दासले जानकारी दिए । लकडाउन अवधिभरिमा मन्दिरको मूल ढोका बन्द रहे पनि भित्र पूजारी तथा महन्थहरुले परम्परागत रूपमा चल्दै आएको पद्धतिद्वारा नियमित रूपमा पूजापाठ आयोजना गर्दै आएका थिए ।

मन्दिरका मूल ढोका खुल्ला भए पनि कोरोनाको सङ्क्रमण जारी नै रहेका कारणले भक्तजनहरू निक्कै न्युनमात्रामा दर्शनका लागि पुग्ने गरेका छन् । भक्तजनहरू मन्दिरमा पुगे पनि मास्क, सेनिटाईजर तथा व्यक्तिगत दूरी कायम गर्ने गरी मन्दिरमा प्रवेशका लागि उचित व्यवस्थापन गरेको पाइँदैनन् । सचेत भक्तहरू आफै दूरी बनाएर पूजापाठ तथा दर्शन गर्ने गरेका छन् ।

स्थानीय प्रशासन, प्रदेश सरकार तथा मन्दिरका व्यवस्थापन यस तर्फ सचेत रहनु पर्ने अवस्था रहेको छ । खास गरेर मन्दिर प्रवेश गर्नेलाई सेनिटाईजर वा साबुन पानीले हात खुट्टा धुन लगाएर मात्र प्रवेश गराउने व्यवस्था मिलाउन जरुरी रहेको छ । खास गरेर अहिले पनि प्रदेश तथा देशभरिको विभिन्न क्वारेन्टाईनमा बस्नेहरूमा कोरोनाको सङ्क्रमण देखिइएकाले सजगता अपनाएर पूजापाठ तथा दर्शनको व्यवस्थापन नभएको खण्डमा थप जोखिम रहेको छ । मन्दिरमा निक्कै कम संख्यामा पर्यटन प्रहरी भए पनि पूजाका लागि अहिले अवस्थामा अपनाउनु पर्ने सावधानी अपनाएको देखिएको छैन ।

आस्थाको केन्द्र जानकी मन्दिर
जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिर पर्यटकहरुका लागि आकर्षणको केन्द्र रहेको छ । सामान्य नागरिक मात्रै नभई विशिष्ट व्यक्तिहरु पनि जनकपुरधाम आउँदा जानकी मन्दिर पुग्न छुटाउँदैनन् ।

जानकी मन्दिरमा राम र सीताको मूर्ति रहेको छ । जानकी मन्दिरमा निष्ठापूर्वक पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ । भारतको जयपुरको लोहागढका साधु सुरकिशोर दास जनकपुरधाम पत्ता लगाएका थिए । भनिन्छ उनलाई जानकीले नै स्वप्नमा यही मेरो जन्मभूमि रहेको बताएकी थिइन् । शुरुमा उनले नै सानो कुट्टी बनाएर पूजा प्रारम्भ गरेका थिए । त्यही बेलादेखि जनकपुरमा पूजा गर्न बाहिर बाट साधु सन्तहरु आउन थाले ।

जानकी मन्दिरको वर्तमान स्वरुप टिकमगढकी महारानीले बनाएकी थिइन । भाकल गर्दा पुत्र प्राप्त भएपनि वृषभानु कुमारीले ९ लाखको लागतमा मन्दिर बनाएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन । जानकी मन्दिरको शिलान्यास सन् १८९४ मा गरिएको थियो भने सन् १९११ मा मन्दिरको निर्माण कार्य पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलवासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वार्षिक क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप नै हुने गर्छ ।

राम जन्मको अवसरमा प्रत्येकक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन–भदौमा झुला, फागुनमा परिक्रमा लगायत मनाइनु यसकै उदाहरण हो । जानकी मन्दिर ४ हजार ८ सय ६० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । जानकी मन्दिरलाई नेपालको सबैभन्दा ठूलो मन्दिर भनिन्छ । भगवान राम जानकीकै कारण भगवान बनेकाले पनि जानकी र जनकपुरको महत्व संसारभरी अत्याधिक रहेको विधायक सुरिता साह बताउँछिन । उनले भने जनकपुर आउनुभन्दा पहिला उहाँ एउटा राजकुमार मात्रै थिए । विधायक एवं सेभ हिस्टोरिकल जनकपुरका संस्थापक अध्यक्ष रामअशिष यादवले पशुपतिनाथ पछि नेपालमा पर्यटकका लागि जानकी मन्दिर, गौतम बुद्धको जन्मस्थल र सगरमाथा रहेको छ । यो स्थलले नै संसारका पर्यटकलाई जनकपुरधाममा ल्याउन सकिन्छ ।

जानकी मन्दिरमा तीन पटक आरती हुन्छ । आरतीको बेला भीड लागेको हुन्छ । जानकी मन्दिरमा २४ घण्टे रामनाम संकिर्तण हुनुका साथै राम जानकीसंग जोडिएको संग्रहालय पनि रहेको छ । मन्दिरमा आउँदा कोही प्रसादी चढाउँछन, कोही मुण्डन गराउँछन्, कोही अन्य कार्य गर्ने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 665 times, 1 visits today)

epaper

ताजा समाचार

जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका