सर्लाही । सर्लाहीमा फेरी दुई जना कोरोना संक्रमित थपिएका छन् । सर्लाहीको विष्णु गाउँपालिका दुई जना कोरोना संक्रमित थपिएसँगै सर्लाहीमा कोरोना संक्रमितको संख्या ५ सय ३० पुगेको छ ।
बिहिवार विष्णु गाउँपालिका वडा नं. ३ मा १८ वर्षिय एक युवक र ४८ वर्षिय एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।
विष्णु गाउँपालिकामा दुई जना कोरोना संक्रमित थपिए सँगै हाल सम्म संक्रमित हुनेको संख्या ६९ पुगेको छ । ६९ जना कोरोना संक्रमित मध्ये गाउँपालिकाले वडा नं. ८ बत्रौल स्वास्थ्य चौकीको नयाँ भवनमा संचालन गरेको आइसोलेसन कक्षमा ४० जनाको उपचार भइरहेको छ । त्यस्तै २९ जनाको मलंगवा अस्पतालले संचालन गरेको सन्त अल्पमाई रामनारायण यादब नर्सिङ्ग कलेजमा स्थापना गरिएको अस्थाई विशेष कोरोना अस्पतालमा उपचार भइरहेको विष्णु गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत संजिव सापकोटाले जानकारी दिए ।
विष्णु गाउँपालिका कोरोना संक्रमित सबै भारतको विभिन्न ठाउँबाट आएको अधिकृत सापकोटाले बताए । सर्लाहीमा २० पालिका मध्ये लालबन्दी नगरपालिका बाहेक १९ पालिका गरी हाल सम्म कोरोना संक्रमित ५ सय ३० जना मध्ये हाल सम्म ९९ जना उपचार पश्चात निको भएर घर फर्किसकेका छन् ।






