खबरदार, काठमाडौं प्रशासनको फन्दामा परिएला !

काठमाडौं । ‘यस्तो संकटको समयमा पनि ठग्ने ? अति भयो, अब ठग्न खोज्नेहरूलाई पाता फर्काउँछौं, कोही पनि उम्कन पाउँदैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालको आक्रोश हो यो । महासंकटको समयमा पनि यातायात व्यवसायीहरूबाट विभिन्न बहानामा चर्को भाडा असुली भएको पाइएपछि दाहालले त्यस्ता व्यवसायीमाथि आक्रोश पोख्दै भने, ‘संकटको समयमा मानवधर्मको वास्ता नगरी ठग्नेहरू महाअपराधी हुन् । त्यस्ता व्यक्तिमाथि कडा कारबाही गरिन्छ ।’

शुक्रबार बिहानदेखि आफ्नो कार्यालयमा आएर सेवाग्राहीको सेवामा जुटेका उनले राजधानी संवाददातासँग भने, ‘तपाईंहरू पनि खोज्नुस् र कसैले ठगी गरेको भेटेमा तत्काल हामीलाई भन्नुस् । ठाउँका ठाउँ कारबाही गरिन्छ र पाता फर्काइन्छ ।’

दाहालकै अग्रसरतामा एक माइक्रो हायस सञ्चालकलाई एक दिनअघि कारबाही गरिएको छ भने ठगी धन्दा सञ्चालन गर्नेहरूको खोजतलास गर्न कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपालगन्जबाट काठमाडौं आउने क्रममा यात्रुहरूबाट सरकारले निर्धारण गरेभन्दा दोब्बर भाडा लिने सवारी चालक विकास शर्मालाई जरिमाना गर्नुका साथै यात्रुबाट बढी असुल गरिएको १२ हजार ६ सय ७५ रुपैयाँ फिर्ता गराई सरकारी राजस्वमा दाखिला गराइएको हो । बा१४ख ७३८३ नम्बरको हायसका चालक शर्मालाई सवारी चालक संरक्षण ऐन २०२० अनुसार जरिमानासमेत गरिएको छ ।

कालाबजारी भइरहेको सूचना पाएर अनुगमन गर्न टोलीहरू परिचालन गरिएको छ । अब त्यस्ता व्यक्तिहरू छिटै कारबाहीको दायरामा आउनेछन् ।
जनकराज दाहाल, प्रमुख जिल्ला अधिकारी, काठमाडौं

अहिले विभिन्न जिल्लाबाट काठमाडौं आउनेहरूको संख्या बढ्दो छ । यही मौकामा यातायात व्यवसायीले दोब्वर भाडा असुली गर्न थालेको पाइएपछि काठमाडौं प्रशासनले त्यस्तो ठगी धन्दा खोज्न सुरक्षाकर्मी नै परिचालन गरेको दाहालले जानकारी दिए । यातायात सञ्चालकहरूले यात्रुलाई काठमाडौंका विभिन्न नाकाहरूमा छाड्ने गरेको र ओहोरदोहोर गर्ने क्रममा दोब्बर भाडा असुली गर्ने क्रम बढेको देखिएको छ ।

कतिपयले आफ्नो निजी सवारीमार्फत पनि यात्रुहरू बोकेर बढी भाडा असुली गर्न थालेकाले त्यस्ता व्यक्तिमाथि पनि आवश्यक छानबिन भइरहेको दाहालले बताए । दाहालले उपत्यकाका ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँग नियमित समन्वय गरी ती जिल्लामा हुने ठगी धन्दा नियन्त्रण गर्न सशक्त भूमिका खेलिरहेका छन् । अहिले विभिन्न उपभोग्य वस्तुहरूमा समेत व्यवसायीहरूले मूल्यवृद्धि गरिरहेका छन् । तरकारीमासमेत अस्वाभाविक रूपमा मूल्यवृद्धि भइरहेको छ ।

दाहालले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि गर्नेहरूलाई समेत अनुगमन गरी कारबाही गरिने चेतावनी दिएका छन् । दैनिक उपभोग्यवस्तुमा कालाबजारी भइरहेको सूचना आएकाले अनुगमन गर्न टोलीहरू परिचालन गरिएको छ । अब त्यस्ता व्यक्तिहरू छिटै कारबाहीको दायरामा आउनेछन्,’ सीडीओ दाहालले भने ।

दाहाल अन्याय सहन सक्दैनन तर अन्यायमा परेकालाई न्याय दिन न्यायिक मन प्रयोग गर्न पनि खप्पिस छन् । शुक्रबार उनकै कार्यकक्षमा केही काम लिएर आएका दुईजना सांसदलाई उनी भन्दै थिए, ‘हामी यहाँहरूले नै बनाएको कानुनअनुसार काम गर्छौं त्यसैले यहाँहरूले कानुन पालना गराउने सवालमा हामीलाई सघाउनुप¥यो ।’

जब ११ चैतमा कोरोना संकटका कारण सिंगो मुलुकमा लकडाउन घोषणा गरियो । त्यसयता दाहालले राम्ररी आरामसमेत गर्न पाएका छैनन् । उपत्यकामा हुने ठगीदेखि अपराधका घटनाहरूसमेत नियन्त्रण गर्न उनी दिनरात नभनी प्रहरीसँग नियमित समन्वयमा हुन्छन् ।

पूर्ण रूपमा लकडाउन हुँदा अत्यावश्यक वस्तुहरूका लागि पासको व्यवस्थापन गर्नसमेत उनको संयोजनकारी भूमिकाले सफलता पायो भने अहिले पनि लकडाउन खुकुलो भएपछि यातायातका साधनको व्यवस्थापन गर्न उनी सफल देखिएका छन् । भनिन्छ– देशभरका ७६ वटा जिल्ला प्रशासन कार्यालयभन्दा काठमाडांै प्रशासनले बढी काम गर्नुपर्छ । यतिधेरै कामको बोझ पर्दा पनि सीडीओ दाहाल सधैं उत्साहित देखिन्छन् र भन्छन्– ‘निजामती सेवामा रहेर रातदिन जनताको सेवामा जुट्न पाउदा जीवन नै सार्थक भएको अनुभूति हुन्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

अब मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य