पिसिआर रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट भागिन् गर्भवती युवती

सप्तरी । सप्तरीमा रहेको विभिन्न क्वारेन्टाइनबाट मानिस भाग्ने क्रम बढेको छ । यसरी मानिस भाग्ने क्रम बढ्दा संक्रमणको जोखिम समेत उत्तिकै बढेको छ । पछिल्लो क्रममा राजविराज १ स्थित राजदेवी माविको क्वारेन्टाइनमा राखिएकी १६ वर्षीया एक युवती पिसिआर परिक्षण रिपोर्ट नआउँदै भागेकी छिन् । बिहीबार मध्यरात क्वारेन्टाइनबाट भागेकी उनी दुई महिनाको गर्भवती समेत रहेको उक्त क्वारेन्टाइनका इन्चार्ज एवं स्वास्थ्यकर्मी हरिवंश यादवले बताए ।

शुक्रबार बिहान क्वारेन्टाइनमा बसेकाहरुको गणना गर्ने क्रममा उनी फरार रहेको खुलेको उनको भनाई छ । गर्भवती भएकाले उनलाई छुट्टै कोठामा एक्लै राखिएको थियो, इन्चार्ज यादवले भने, ‘एक्लै भएकाले ढोका खोली रातीको समयमा विद्यालयको पछाडीपटी रहेको पर्खाल नाघेर भागेको हुन सक्ने अनुमान गरेका छौं ।’

परिवारिक श्रोतका अनुसार गत माघ १३ गते सीमावर्ती भारतको कमलपुर ग्राम पंचायतका एक युवासँग भागेर उनी दिल्ली गएको र जेठ २५ गते उनी एक्लै घर फर्केकी थिइन् । सोही दिन उनलाई क्वारेन्टाइनमा लगिएको थियो । क्वारेन्टाइनमा बसेको ११ दिनपछि भागेकी ती युवतीको प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको वडा अध्यक्ष अरुण यादवले बताए । उनले क्वारेन्टाइनबाट भागेकी युवती चोर बाटो हुँदै प्रेमीलाई भेट्न भारतको कमलपुर पुगेको हुन सक्ने अनुमान समेत व्यक्त गरेका छन् ।

डिएसपी तिलक भारतीले भागेको युवतीको माइत र अन्य आफन्त कहाँ खोजी गरिए पनि फेला नपरेको जनाउँदै खोजतलास जारी रहेको बताए । यसरी क्वारेन्टाइनबाट भागेकाहरु समुदायको सम्पर्कमा आउँदा जोखिम झनै बढ्ने भन्दै स्थानियले चिन्ता व्यक्त गरिरहेका छन् ।

यसअघि सोही कवारेन्टाइनबाट गत मंगलबार पिसिआर रिपोर्ट नआउँदै राजविराज १ निवासी ३२ वर्षीय यूवक भागेका थिए । उनलाई पछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि प्रहरीले घरबाटै नियन्त्रणमा लिई आइसोलेशनमा पठाएको थियो । यस्तै बैशाख १९ गते पनि डाक्नेश्वरी नगरपालिकास्थित विद्यालयको क्वारेन्टाइनबाट एक १९ वर्षीय यूवा भागेर घर पुगेका थिए । त्यसको भोलिपल्टै छरछिमेकले सम्झाई बुझाई उनलाई पुनः क्वारेन्टाइनमै फिर्ता पठाएको थियो ।

क्वारेन्टाइनबाट भागेकाहरुमध्ये सम्पर्कमा आएकाहरु अस्तव्यस्त क्वारेन्टाइनका कारण क्वारेन्टाइन भित्रै संक्रमण फैलिने खतरा देखिएको बताएका छन् । ‘क्वारेन्टाइन केन्द्र अस्तव्यस्त छन्, खाना पनि घरबाटै मगाउनु पर्छ, एक आशंकितले भने, ‘ज्यान जोगाउन यहाँबाट आशंकितहरु भाग्न थालेका छन् ।’

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले क्वारेन्टाइनमा राखिएका आशंकितहरुको स्वाब संकलन तथा प्रारम्भिक उपचारका लगि स्वास्थ्यकर्मीहरु खटाइएको भन्दै सुरक्षाको जिम्मेवारी प्रहरीको रहेको बताए । यसरी क्वारेन्टाइन केन्द्रहरु अस्तव्यस्त बन्नु र मानिस भाग्ने क्रम बढेपछि त्रसित भएका स्थानियले क्वारेन्टाइनहरुको उचित व्यवस्थापन र सुरक्षा सतर्कता बढाउनु पर्ने माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका