मुस्ताङ पुग्यो कोरोना, गण्डकी प्रदेशमा कुल ४८८ संक्रमित

पोखरा । हिमालपारीको जिल्ला मुस्ताङमा पनि कोरोना भाइरस पुगेको छ । त्यहाँका एक जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो । पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशालामा भएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ । उनी मुस्ताङको घरपजोङ गाउँपालिका ८३ वर्षीय वृद्ध पुरुष हुन् ।

गण्डकीमा योसहित शनिबार पुनः ५० नयाँ संक्रमित थपिएका छन् । थप ५० सँगै कुल संक्रमित संख्या ४ सय ८८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ । थप संक्रमितमध्ये मुस्ताङका १ सहित बागलुङका २९, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १८ र तनहुँका २ जनामा कोरोना भेटिएको हो । बागलुङको गल्कोट नगरपालिकामा ८ जना पुरुषमा कोरोना देखिएको छ । उनीहरु वर्ष २० देखि ५१ वर्ष समूहका छन् ।

ताराखोला गाउँपालिकाका २४ वर्षीय पुरुषसहित बडिगाड गाउँपालिकाका ३ जना पुरुषमा समेत कोरोना पुष्टि भएको छ । उनीहरु २३, ३३ र ३४ वर्षका हुन् । बडिगाडकै वर्ष २०, ३७ र ७२ वर्षीया महिला पनि संक्रमित भएका छन् । बागलुङ नगरपालिकाका ६ जना पुरुषमध्ये वर्ष २५, ५०, १९, ४२, ५४ र २५ वर्षका पुरुष तथा ढोरपाटन नगरपालिकाका १८ वर्षीय पुरुषमा समेत कोरोना भाइरस संक्रमण देखिएको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्युबिन्दु नगरपालिकाका १४ जना पुरुषमा कोरोना देखिएको छ । उनीहरुमध्ये ३ वर्षीय बालक पनि छन् । अन्य पुरुषको उमेर समूह वर्ष १६ देखि ३९ सम्म छ । मध्यबिन्दु नगरपालिकाका २१ र २५ वर्षीया महिला, बुलिङटार गाउँपालिकाका २८ वर्षीय पुरुष तथा पालिका नखुलेको ७ वर्षीय बालकमा पनि कोरोना पुष्टि भएको छ ।

संक्रमित सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेकोमा उपचारका लागि सोही जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा शनिबार बिहान मात्रै ५८ जनामा कोरोना देखिएको थियो । पछिल्लो चौबीस घण्टामा तनहुँमा २५, नवलपुरमा १६, बागलुङ ८, गोरखा ५, कास्की २, म्याग्दी १ र स्याङ्जामा १ गरी ५८ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार पहिलो विज्ञप्ति प्रकाशित गरी पुष्टि गरेको थियो ।

हिमालपारीको अर्को जिल्ला मनाङ भने ३ दिनअघि एक पुरुषमा कोरोना देखिएको थियो । मुस्ताङसहित गण्डकीका ११ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड