ललितपुर । ललितपुरमा थप एक जनामा कोरोना भाइरस (कोभिड– १९)को संक्रमण भएको पुष्टि भएको छ । अफगानिस्तानमा काम गरेर फर्किएकी ४१ वर्षीय महिलामा कोभिड–१९ पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । योसँगै जिल्लामा कोभिड–१९ संक्रमितको संख्या ६ पुगेको कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले जानकारी दिए ।
उनका अनुसार तीन दिनअघि अफगानिस्तानबाट फर्किएर आफ्नै खर्चमा होटलमा क्वारेन्टिनमा बसेकी ती महिलामा गरिएको पीसीआर परीक्षणमा नतिजा पोजेटिभ आएको हो । ललितपुर महानगरपालिका घर भएकी ती महिला होटलमा बसेकाले अरूमा संक्रमणको खतरा नदेखिएको कार्यालय प्रमुख डा. गेलालले जानकारी दिए ।
‘महिलाबाट समाजमा संक्रमण फैलिएको भन्नेतर्फ चिन्ता लिनुपर्दैन । विदेशबाट आउनेबित्तिकै आफ्नै खर्चमा होटलमा सुरक्षित तवरले क्वारेन्टिनमा बसेकाले अरूलाई खतरा छैन । उनलाई कोरोना पुष्टि भएलगत्तै बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा रहेको आइसोलेसन वार्डमा भर्ना गरिएको छ,’ उनले भने ।
यसअघि केही दिन पहिले महालक्ष्मी नगरपालिकाको टीकाथली बस्ने एक महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । चितवन स्थायी घर भई टीकाथली बस्ने ती ५० वर्षकी महिला बिरामी भएर नर्भिक अस्पतालमा जाँदा संक्रमण पुष्टि भएको डा. गेलालले बताए ।
‘कोखा दुख्यो भनेर नर्भिक अस्पताल जचाउन गएका बेला गरिएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो । उनलाई हाल पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ,’ गेलालले भने । यस्तै एक साता अघि कुवेतबाट आएकी हरिसिद्धीकी एक महिलामा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
यसअघि १८ जेठमा सुनाकोठीमा एक सुत्केरी महिलामा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै, बुङ्मतीका करिब ५७ वर्षीय पुरुष र ललितपुरै बस्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत एक चिकित्सकमा पनि कोरोना पोजेटिभ देखिएको थियो । बुङ्मतीका पुरुषको भने निधन भइसकेको छ । कोरोना पोजिटिभ देखिएका ती चिकित्सक र सुत्केरी महिला निको भएर घर फर्किएको डा. गेलालले जानकारी दिए । उपचाररत बिरामीको पनि अवस्था सामान्य रहेको उनको भनाइ छ ।






