पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बुधबारमात्रै थप ३२ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ७ सय २९ पुगेको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकी प्रवक्ता डा. विनोदबिन्दु शर्माले बुधबार बिहान विज्ञप्ति जारी गरी प्रदेशका विभिन्न ८ जिल्लामा गरी थप ३२ जनामा कोरोना संक्रमण देखिएको जनाएका हुन् ।
जसमा लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाका ४ जना, वेशीसहर नगरपालिकाका १ जना छन् । मध्यनेपालका वर्ष २१, २२, २४ र ३७ का पुरुष हुन् भने वेशीसहरकी ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । यस्तै, पर्वत सदरमुकाम कुष्माकी २४ वर्षीया महिलामा पनि कोरोना देखिएको छ ।
स्याङ्जामा थप ७ जनामा कोरोना पुष्टि हुँदा कास्कीका ५ जनामा कोरोना देखियो । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १२ वर्षीय बालक कोरोना संक्रमित हुन पुगेका छन् । स्याङ्जाकै आँधीखोला गाउँपालिकाका ६५ वर्षीय पुरुष र वालिङ नगरपालिकाका थप ५ जनामा कोरोना देखिएको छ । वालिङका ३० महिने बालिकासहित २४ वर्षीया महिला कोरोना संक्रमित भएकी छन् भने वर्ष २४, ४० र ४५ का पुरुषमा पनि कोरोना देखियो ।
कास्कीमा थप ३ जनामा कोरोना देखिएको छ । जसमा पोखरा घर भएका २५ वर्षीय पुरुष र मादी गाउँपालिकाका वर्ष ४० की महिला र वर्ष ४१ का पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरामा मंगलबारमात्रै ७ जनामा कोरोना देखिएको थियो ।
उता, गोरखा जिल्लाको गण्डकी गाउँपालिकाका ४२ वर्षीय पुरुष संक्रमित हुँदा बरेङ गाउँपालिकाका ८ जना अन्य पुरुष पनि संक्रमित भएका छन् । उनीहरुको उमेर समूह वर्ष २० देखि ६० सम्म छ । तीमध्ये वर्ष २० का २ जना छन् । यस्तै वर्ष १९, ३३, ३५, ३७, ४० र ६० का पुरुष छन् ।
यस्तै, प्रदेशमा उच्च जोखिम रहेको बागलुङको जैमिनी गाउँपालिकाका २० वर्षीय पुरुषमा कोरोना पुष्टि हुँदा तनहुँको देवघाट गाउँपालिकाका २३ वर्षीय पुरुष पनि कोरोना संक्रमित हुन पुगेका हुन् ।
यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ३ जना महिलामा कोरोना देखिएको छ । उनीहरुको उमेर वर्ष ३३, ५१ र ५६ छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित पुष्टि भएका ३२ मध्ये तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का संक्रमितको नमुना परीक्षण भरतपुर अस्पताल, चितवनमा गरिएकोमा अन्य सबैको प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको हो ।






