काठमाडौं । भेट्रान फरवार्ड जुमान राईले ह्याट्रिक पुरा गरेपछि एनआइविएल फ्रेन्ड्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजनमा सुपर सिक्समा स्थान पक्का गरेको छ । सुपर सिक्समा पुग्न जित्नैपर्ने लिगको अन्तिम खेलमा पुलिसले फ्रेन्ड्सलाई ३–० ले पराजित गरेको हो ।
यस नजितासँगै पुलिस १३ खेलबाट २० अंक जोडेर पाँचांै स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको जावलाखेलको १९ अंक छ । सुपर सिक्समा स्थान बनाइसकेको जावलाखेलले शुक्रबार मनाङलाई पराजित गर्न सके पाँचांै स्थानमा रहँदै लिगको अन्त्य गर्न सक्नेछ । फ्रेन्ड्स १४ अंक जोडेर १०औं स्थानमा छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलको पलिो हाप गोलरहित बराबरीमा सकिएको थियो । तर, पुलिसले दोस्रो हाफमा ३ गोल गर्दै ३ अंक जोड्न फल भयो । जुमानु दोस्रो हाफको सुरुमै हेमन्त श्रेष्ठको स्थानमा मैदानमा प्रवेश गरेका थिए । उनले मैदान प्रवेश गरेको चौथो मिनेटमा नै गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । त्यसपछि जुमानुले ५६औं र ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । जारी लिगमा जुमानु ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने ।
यसअघि थ्री स्टारका सन्जोक राईले सरस्वती क्लबविरुद्धको खेलमा ह्याट्रिक पूरा गरेका थिए । जुमानुले जारी लिगमा अन्तिम खेलमा मात्रै मौका पाएका थिए । पुलिसका प्रशिक्षक अनन्तराज थापाले युवा खेलाडीहरूलाई विश्वास गर्दै बनाएको टोलीले सुपर सिक्सको यात्रा गर्न सफल हुनु सकारात्मक रहेको बताए । उनले पुलिस आफ्नो पुरानो छविमा फर्कन केही समय लाग्ने समेत बताए । फ्रेन्ड्सका प्रशिक्षक शुक्र तामाङले टोलीले सुपर सिक्सको यात्रा तय गर्ने लक्ष्य लिए पनि त्यो सफल नभएको बताए । उनले विदेशी खेलाडीले सोचेअनुरूपको खेल पस्कन नसक्दा सोचेजस्तो लक्ष्यमा पुग्न असफल भएको थपे ।
बिहीबारै नेपाल एपीएफ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि समान ९ अंक जोडेर एपीएफले ११औं तथा बीबीसीले १२औं स्थानमा रहेर लिगको अन्त्य गरेको छ । एपीएफले सुरुवाती अग्रता लिएर पनि अन्तिम समयमा सम्हालिन नसक्दा अंक बाँड्न बाध्य बनेको हो । लिगको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा रहेका आशिष लामाले खेलको ४४औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । उनले जारी लिगमा ९ गोल पु¥याएका छन् । तर, इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा सब्सिच्युट विजय गुरुङले गोल गर्दै खेललाई बराबरीमा ल्याउँदै एपीएफसँग अंक खोस्न सफल भए ।
बराबरीपछि एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले लिगमा डिफेन्स र गोलकिपिङमा कमजोरी हुँदा सोचेअनुरूपको लक्ष्यमा पुग्न नसकिएको बताए । बीबीसीका व्यवस्थापक अर्विन्द्र गुरुङले युवा खेलाडीबाट लिगमा सुपरसिक्सको अपेक्षा गरिए पनि विदेशी खेलाडी चल्न नसक्दा रेलिगेसनकै डर उत्पन्न भएको बताए ।
यस्तै लिगको सर्वाधिक बढी ८ गोल भएको खेलमा संकटाले रेलिगेसनमा परिसकेको सरस्वती युवा क्लबलाई ६–२ ले पराजित गरेको छ । संकटाको फराकिलो जितमा मासोउके इटिग्ने मारीले २ गोल गरे । सुवास गुरुङ, टीकाराज गुरुङ र रोशन पहरीले गोल गर्दा १ गोल उपहार पाएको थियो । सरस्वतीका लागि दुवै गोल काजिम बुसारीले गरे । पाँचांै मिनेटमा मासोउके इटिग्ने मारीले गोल गर्दै संकटालाई अघि बढाए । ३३औं मिनेटमा सुवास गुरुङको पासमा मासोउकेले व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता दोब्बर पारे । ३८औं मिनेटमा सुवास गुरुङले गोल गर्दै संकटालाई पहिलो हाफमा ३–० ले अघि बढाए ।
संकटाको गोल गर्ने क्रम दोस्रो हापमा पनि रोकिएन । ५६औं मिनेटमा टीकाराज गुरुङले गोल गर्दै संकटालाई ४–० को अग्रतासहित फराकिलो जिततर्फ अघि बढाए । ६५औं मिनेटमा पूर्णबहादुर श्रेष्ठले आत्मघाती गोल गरेपछि संकटाले खेलमा ५–० को आरामदायी अग्रता बनायो ।
६७औं मिनेटमा काजिम बुसारीले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याए । ७९औं मिनेटमा काजिमले पेनाल्टीमा गोल गर्दै खेललाई ५–२ को अन्तरमा झारे । विशाल शाहीले पेनाल्टी बक्समा दीपक गुप्तामाथि खराब ट्याकल गरेपछि सरस्वतीले पेनाल्टी पाएको थियो । ८३औं मिनेटमा रोशन पहरीले गोल गर्दै संकटालाई ६–२ फराकिलो जित दिलाए । यससँगै संकटा १३ खेलमा १८ अंकका साथ सातौं स्थानमा रहेको छ । सरस्वती १३ खेलमा मात्र १ जित र १ हारसहित ४ अंकका साथ पुछारमा रहँदै लिग अन्त्य ग-यो ।