बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले कोरोना संक्रमणको कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएका नागरिकको अनलाइन तथ्याङ्क संकलन सुरु गरेको छ ।
आगमी आर्थिक वर्षको लागि रोजगार मुलक कार्यमा जोड दिएको गाउँपालिकाले गाउँपालिकामा विदेशबाट फर्किएका तथा स्वेदशमा रोजगार गुमाएका युवाको तथ्याङ्क संकलन गरी आवश्यक निर्णय लिने प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिए ।
तथ्याङ्क संकलनको लागि गाउँपालिकाका सूचना प्रविधि अधिकृत विजय गौतमले अनलाइन फारमको विकास गरेका हुन् । फारममा व्यक्तिगत विवरणको अतिरिक्त शिक्षा, रोजगार गुमाएको अवस्था, विदेश फर्किने वा नफर्किने, नेपालमा रोजगार कि व्यवसाय, रोजजारी गर्न खोजेको क्षेत्र, रोजगारी तथा व्यवसायको लागि लिन खोजेको तालिमको किसिम, सरकारसँगको अपेक्षा लगायतका जिज्ञासा (बुँद्दा) समावेश गरिएको छ ।
गाउँपालिकाले कोभिड १९ का कारण बेरोजगार भएका नागरिकलाई र अन्य बेरोजगार युवाहरुलाई रोजगारीमा जोडन प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत पालिका भित्रका सडक संरचना निर्माण, पर्यटन प्रर्वद्धनका लागि पदमार्ग निर्माण जस्ता कार्य संचलन गरी रोजगारी सृजना गर्ने नीति लिएको छ ।
अधिकांश योजनाहरुमा मेशिन प्रयोगलाई कम प्राथमिकता दिई मानव श्रमलाई बढी भन्दा बढी प्रयोगमा ल्याइने गाउँपालिका अध्यक्ष अमरबहादुर थापाको भनाई छ । ‘अनावश्यक मेसिन प्रयोगलाई दुरुत्सान गर्ने योजनामा छौँ’, अध्यक्ष थापाले भने– ‘भोको पेट भर्न गाउँपालिकाले सक्दो रोजगारी सृजनाको क्षेत्र खोजेका छौँ ।’
आर्थिक रुपले विपन्न श्रमिक तथा मजदुरलाई रोजगारी श्रृजना गर्ने खालका आयोजनाहरु छनौटमा प्राथमिकता दिई कार्यान्वयनमा ल्याइनुका साथै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई समेत जोडेर संचालन गरिने नीति कार्यक्रममा उल्लेख छ ।






