सप्तरी, राजविराज । दिनहुँ कोरोना संक्रमित थपिदै गएपछि जिल्लामा आइसोलेशन वेडको अभाव भएको छ । वेडको अभावमा १२ जना संक्रमितलाई भने अझैं सम्बन्धीत स्थानिय तहको क्वारेन्टाइनमै छुट्टै कोठामा राखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबारसम्ममा जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको छ । जसमध्ये ९३ जना डिस्चार्ज भई बाँकी १ सय १५ जना संक्रमित उपचारको क्रममा छन् ।
जिल्लाको एक मात्र आइसोलेशन कक्ष रहेको सदरमुकाम राजविराजस्थित साईकृष्णा अस्पतालमा १ सय ३ वटा मात्र आइसोलेशन वेड रहेको छ । जसकारण बाँकी रहेका १२ जना संक्रमितलाई अहिले क्वारेन्टाइनमै राख्नु परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।
वेड अभावमा संक्रमण पुष्टि भइसकेका छिन्नमस्ता र बलानबिहुल गाउँपालिकाका ५÷५ तथा तिरहुत गाउँपालिकाका २ जनालाई आइसोलेशनलाई ल्याउन सकिएको छैन् उनले लाचारी सुनाउँदै भने, “वेडको अभाव हुदा निकै तनाव झेल्नु परिरहेको छ, थप वेड बिस्तारका लागि प्रयासरत छौं ।”
संक्रमित व्यक्ति क्वारेन्टाइनमा राख्दा त्यहा राखिएका अन्य व्यक्तिमा समेत कोरोना संक्रमण फैलिने जोखिम रहेकाले अविलम्ब आइसोलेशन वेडको व्यवस्थापन गर्न स्थानियले माँग गरेका छन् ।







