जनकपुरधाम । जनकपुरधामको मूल सडकमा पानी बग्न थालेपछि स्थानीयवासीहरु सडकमै माछा मार्न थालेका छन । नगरको दर्जनो स्थानमा विहानैदेखि माछा मार्ने कार्य भइरहेको छ । विभिन्न ठाउँमा नाला जाम भएका कारण सडकमै पानी बगिरहेको छ ।
जनकपुरधामलाई पोखरीको शहरको रुपमा पनि चिनिन्छ । पोखरीबाट नाला भएर माछा पनि निस्कने गरेकाले माछा मार्नहरुलाई निकै फाइदा भइरहेको छ । बिहानैदेखि मैले २० किलो माछा मारेको जनकपुरधाम ४ का मनोज मण्डलले बताए । माछा निकै भेटाई रहेकाले आम्दानी पनि निकै भएको उनले बताए ।

समयमा नगरपालिकाले यसपाली नाला सफा नगरेको स्थानीयवासीहरुले आरोप लगाएका छन् । नाला सफा नगरेका कारणले नगरको दर्जनो घरमा पानि ढुकेको छ । मेयर लालकिशोर साह र उपमेयर रीताकुमारी मिश्र नाला सफाई नगरेकोमा दोषी रहेको जनकपुरधाम उपमहानगरपालिका ५ का वडाध्यक्ष मनोज साहले बताए । ‘हामीले नाला सफाई गराईदिनुस् भनेर पटक पटक आग्रह गर्दापनि मेयरले वेवास्था गर्नु भयो’, उनले भने ।
एडिबीको ऋण सहयोगमा सडक र नाला जनकपुरधाममा निर्माण गरिएको छ । नाला र सडक निर्माण भएपनि घर घरमा पानी नपस्ने नगरपालिकाका अधिकारीहरु बताउँथे तर नाला सफाइको विषयमा गम्भीरता नदेखाएकाले यो समस्या भएको बताइएको छ । प्रदेश २ को अस्थायी राजधानी हुँदापनि सानो पानीमा यसप्रकारको अवस्था हुनु दूर्भाग्य रहेको नेपाली कांग्रेसका युवा नेता प्रफुल्ल घिमिरेले बताए ।







