सप्तरी, राजविराज । राजविराजमा रहेको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस हाताभित्र २५ लाख रुँपैयाको लागतमा निर्माण गर्न लागिएको पार्कमा सौन्दर्यकरण तथा हरियाली प्रवद्र्धनका लागि विभिन्न प्रजातीको सयौं बिरुवा रोपिएको छ ।
राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर आइतबार डिभिजन वन कार्यालय सप्तरी द्वारा निर्माणधिन अवस्थामा रहेको पार्कमा विभिन्न प्रजातीका २ सय ९० बिरुवा रोपिएको हो ।
हरियाली प्रवद्र्धन र सौन्दर्यकरणका लागि क्याम्पस प्रशासनले परिसरभित्र निशुल्क जग्गा उपलब्ध गराएपछि डिभिजन वन कार्यालयको २५ लाखको लगानीमा सुरु गरिएको पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सोही पार्कभित्र राष्ट्रिय बृक्षारोपन दिवसको अवसर पारेर कल्की, कपुर, समी, बाइलोबा, हिभसक्ष, असारे फुल, कल्की फुल, तेजपत्ता लगायत विभिन्न जातका धार्मिक महत्व र सौन्दर्यपरक २ सय ९० बिरुवा रोपिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष झाले बताए ।
बृक्षारोपन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकर आचार्य, भिमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवर, क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्र, प्रहरी उपरिक्षक कृष्ण प्रसाई लगायतको पनि सहभागिता रहेको थियो ।
न्युन वन क्षेत्र रहेको सप्तरीमा वन क्षेत्रको बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएको वन कार्यालयले वन व्यवस्थापन र आर्थिक उपार्जनका विभिन्न गतिविधिलाई तिब्र बनाएपछि हरियाली प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।







