सप्तरीमा २० प्रतिशत रोपाईं, ५ सय विगहामा लगाइएको धान खेत डुवानमा

सप्तरी । मानौं रोपेर मुरी उब्जाउने समय हो असार १५ । धान दिवसका रुपमा समेत चिनिने गरेको यस दिन सोमबार जिल्लाभरी किसानहरु आ–आफ्नो खेतमा रोपाईका लागि खटेका छन् । सिंचाई सुविधा नपुगेका जिल्लाका अधिकांश खेतहरुमा पनि वर्षाले साथ दिएपछि धान रोप्न किसानहरुको उल्लेख्य सहभागिता रहेको छ ।

रोपाईका लागि बेर्ना तयार भएको र वर्षा पनि समयमै हुँदा जिल्लाका किसानहरुमा उत्साह थपिएको कृषक गोपाल गुप्ताले बताए । यद्यपि उनले समयमै मलखाद उपलब्ध हुन नसक्दा किसानहरु समस्यामा परे पनि जेनतेन गरी धान खेती समयमै गर्न भ्याएको बताए ।

देशकै सबैभन्दा पुरानो चन्द्र नहर, कोशी पश्चिमी नहर र कोशी पम्प नहर गरि तीन तीन वटा नहरहरुबाट सिंचाई सुविधा व्यवस्था गरिए पनि मर्मत सम्भारको अभावले गर्दा कमान्ड क्षेत्र भित्र पानी पुग्न नसकेका कारण जिल्लाका अधिकांश भू–भागमा धान खेतीका लागि आकाशे भर पर्नु पर्ने अवस्था छ ।

यता लगातार तीन दिनदेखि भइरहेको वर्षाले गर्दा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका किसान भने चिन्तामा डुबेका छन् । निरन्तरको वर्षाले १२ कठ्ठा जग्गामा लगाइएको धान खेती डुवानमा पर्दा आफू समस्यामा परेको तिलाठी कोइलाडी गाउँपालिका २ लोनियाका कृषक दिनेश मण्डलले बताए । तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश सिंहले लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, को. बसाईन र तिलाठीका गरि करिब ५ सय बिगहा जग्गामा लगाइएको धान खेती डुवानमा परेको बताए । उनले यसरी धान खेती डुवानमा पर्दा कृषकहरु समस्यामा परेको भन्दै उनीहरुलाई सहयोग गर्न गाउँपालिकाले आवश्यक पहल थालेको जानकारी पनि दिए ।

सप्तरीमा कूल ७० हजार हेक्टर खेती योग्य जग्गा रहेको छ । जसमध्ये ५९ हजार २ सय ५७ हेक्टर जग्गामा धान खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख राजेन्द्र यादवका अनुसार जिल्लामा हालसम्म करिब २० प्रतिशत जग्गामा धान रोपाई भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 663 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान