काठमाडौँ । नेपाल युथ डेवलपर क्लबले अबको एक वर्षभित्र २० हजार युवालाई रोजगारी दिने उद्देश्यका साथ विषादीरहित सस्तो र गुणस्तरीय किचेन शुरु गरेको छ । ‘भान्स किचेन’ नाम दिएर उसले कलंकीबाट अभियान सुरु गरेको हो । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी उक्त क्लबले नेपालमा विषादीयुक्त र लापरवाहीबाट बनेको खानाहरुले ग्राहकवर्गको स्वास्थ्यमा निकै समस्या देखापरेको भन्दै भान्सामार्फत गुणस्तर खानाको निर्माण प्रक्रिया सुरु गरेको जनाएको छ ।
क्लबका अध्यक्ष महेश मगरले भान्साले विषादीरहित अर्गानिक खानामात्र उपलब्ध गराउने बताए । अहिले ५० युवालाई रोजगारी दिइएको र एक वर्षभित्र २० हजारलाई रोजगारी दिनेगरि अभियान बढाईएको उनको भनाई थियो । उनले भने,‘हाम्रो अभियान विषादीरहित स्वस्थ, शुलभ र सस्तो खाना खुवाउने हो ।’ उनले देशमा युवाहरुलाई रोजगारीको अवसर दिलाउनुको साथै स्वास्थ्यवद्र्धक खाना खुवाउने अभियान पनि आफूहरुले चलाएको विश्वास दिलाए ।
स्नातक पहिलो र दोस्रो वर्ष पढ्दै गरेकालाई रोजगारी
आफूहरुले स्नातक पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई रोजगारीको लागि पहिलो प्राथमिकतामा राखेको पनि उनले सुनाए । युवा सशक्तिकरणका लागि क्लब सक्रिय रहेको बताउँदै मगरले भने,‘राजगारीका लागि अहिलेसम्म पनि पहिचान हुनुपर्छ । पहिचान नभए रोजगारी पाउन निकै कठिन छ ।’
हरेक दिन फरक फरक खाना
नेपाल युथ डेवलपर क्लबद्वारा स्थापना गरिएको भान्सले प्रत्येक दिन फरक–फरक खानाका परीकार बनाउने पनि अध्यक्ष मगरले बताए । उनले बजारको मूल्यभन्दा निकै सस्तो दरमा खाना उपलब्ध गराउने जानकारीसमेत दिए । उनका अनुसार भान्सले सात दिन सात परिकारको खानाको व्यवस्था गरेको छ । सो खानाहरु प्रत्येक दिन गुणस्तर टेस्ट भएपश्चात मात्र खाना ग्राहकवर्गमा पु¥याउने गरिएको पनि उनले जनाए ।
तत्काल भान्साले ५० जना विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गरेको र आगामी एक वर्षभित्र नेपाल युथ डेवलपर क्लबले २० हजारलाई रोजगारी दिने उद्देश्य लिएको मगरले बताए । खानाको गुणस्तरमा कुनैपनि सम्झौता नहुने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।
ट्याक्सी कर्नर
त्यस्तै, ट्याक्सी चालकहरुलाई ध्यानमा राखेर ‘ट्याक्सी–कर्नर’ को समेत स्थापना गर्न लागिएको उनले घोषणा गरे । ‘भविष्यमा नेपाल युथ डेवलपर क्लबले नेपालीहरुलाई ठूलो मात्रामा विदेश पलायन हुनबाट रोक्नसक्ने र स्वदेशमै रोजगानरी सिर्जना गर्नेछ । हामी यो विश्वासका साथ यो अभियानमा लागेका छौं ।’–उनले थपे ।
यस वर्ष काठमाण्डौँ, ललितपुर र भक्तपुरमा सटर खोल्ने समेत उनले जनाए । बजारको मूल्यभन्दा कम दर र गुणस्तरमा खाना प्रदान गर्ने जनाउँदै उनले अहिले प्रति प्लेट ७५ रुपैयाँ लिईएको बताए ।
देशमा रोजगारीको अवस्था नभएको कारण सम्पूर्ण युवाहरु विदेश पलायन हुन बाध्य भएको उनले कहालीलाग्दो अवस्था सुनाए ।