नागरिकता विधेयकविरुद्ध सप्तरीमा विशाल प्रदर्शन

सप्तरी । नागरिकता संसोधन विधेयक विरुद्ध मंगलबार जनता समाजवादी पार्टी सप्तरीले विशाल विरोध प्रदर्शन गरेको छ । पार्टीका केन्द्रिय पदाधिकारी, प्रदेश मन्त्री र सो पार्टीबाट निर्वाचित जनप्रतिनिधि समेतको सहभागीतामा सदरमुकाम राजविराजमा विशाल विरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनका क्रममा वैवाहिक अगिकृत नागरिकताको ७ बर्षे प्रावधान खारेज गर, महिलासँगको विभेद अन्त गर, बेटीरोटीको सम्बन्ध बिगार्न पाईंदैन, मधेशीमाथिको अत्याचार बन्द गरका साथै प्रधानमन्त्री विरुद्घ समेत चर्को नारावाजी गरिएको थियो ।

महिलाहरुको उल्लेख्य सहभागीतामा स्थानिय शिवमन्दिरको प्राङ्गनबाट निस्केको जुलुस नगरपरिक्रमा पछि स्थानिय गजेन्द्र चौकमा पुगी विरोध सभामा परिणत भएको थियो । विरोध सभाका सहभागी वक्ताहरुले सरकारले नागरिकता सम्बन्धी ल्याएको संशोधन विधेयक मधेश विरोधी रहेको आरोप लगाए ।

सरकारले निरंकुश शैलीमा नागरिकता विधेयक ल्याएर मधेश प्रतिको विभेद मात्र होईन सदियौंदेखि भारतसँग रहेको रोटी र बेटीको सम्बन्धमा दरार पैदा गर्ने काम समेत गरेको भन्दै वक्ताहरुले नागरिकता संसोधन विधेयक खारेज नभएसम्म सडक र सदन दुवै ठाउँबाट संघर्ष जारी राख्ने बताएका थिए ।

जनता समाजवादी पार्टीका नेता केदार यादवको अध्यक्षतामा आयोजित विरोध सभालाई प्रमुख अतिथि प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोरा साहका साथै संघिय सांसद डा. सुर्य नारायण यादव, जनता समाजवादी पार्टीका नेता गजेन्द्र मण्डल, दिपेन्द्र चौधरी, दिनेश यादव, नगरप्रमुख शम्भु यादव, शैलेश साह, शिव नारायण साह, गाउँपालिका प्रमुख सतिश सिंह, हरेराम यादव, दयानन्द गौईत, महिला नेतृ साधना झा, पुनम यादव लगायतले सम्बोधन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित