सिन्धुपाल्चोक । बागमती प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको पहाडी क्षेत्रमा हिल स्टेशन निर्माणको काम सुरु भएको छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रालयले १० जिल्लामा हिल स्टेशन निर्माण गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा नै समेटिएको थियो ।
उपत्यकाको तिन जिल्ला बाहेक बागमती प्रदेशको १० जिल्लाका विभिन्न स्थानमा हिल स्टेशन निर्माणको प्रक्रिया सुरु भएको छ । धादिङको रुबि भ्याली र रसुवामा जग्गा नमिलेकाले स्टेशन निर्माणको काम अघि नबढे पनि अन्य आठ स्थानमा भने हिल स्टेशन निर्माणको काम सुरु भएको हो ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाको पर्यटकीयस्थल मुडेमा निर्माण हुने हिल स्टेशनको बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपालले शिलन्यास गरेका छन् । तीन वर्षमा निर्माण सम्पन्न हुने हिल स्टेशनको लागत साढे आठ करोड रुपैयाँ रहेको छ ।
दोलखाको पर्यटकीयस्थल कालिञ्चोक, दोलखा भिमसेन र शैलुङ प्रवेशद्धारमा हिल स्टेशन निर्माण गरेर आन्तरिक एवम् बाह्य पयर्टकहरुलाई आकर्षित गर्नका लागि हिल स्टेशन निर्माण सुरु गरिएको मन्त्री अरुण नेपालले जानकारी दिए ।
नेपालमा पहिलो पटक बागमती प्रदेशले हिल स्टेशनको अवधारण ल्याएकोले यसको निर्माण पछि पर्यटकहरु बढी भित्रने मन्त्री नेपालले जानकारी दिए । तीन वर्षभित्र आठ जिल्लामा नै हिल स्टेशन निर्माण सकिन्छ मन्त्री नेपालले भने हाम्रो प्रदेशको गौरवको आयोजना भएकोले पनि यसलाई सफल गर्नुपर्छ ।
हिल स्टेशनमा आर्कषक बगैचा, बहुउदेश्यी तालिम हल, कोशेली घर, भ्यु टावर, आरम कक्ष, पौडी पोखरी, सार्वजनिक शौचालयलगायतका सुविधा हुने मन्त्री नेपालले जानकारी दिए । स्थानीयले उत्पादन गरेका सामग्रीहरुलाई कोशेली घरमा ल्याएर यहाँ घुम्न आउने पर्यटहरुलाई उपहार स्वरुप पठाउने हिल स्टेशनको अर्काे अवधारण भएको मन्त्री नेपालले बताए । हिल स्टेशनमा नै बस्ने पर्यटकहरुका लागि आवस घर समेत निर्माण हुने मन्त्रालयले जानकारी दिएको छ ।
मुडेमा निर्माण हुने हिल स्टेशनबाट डाङडुङेमा निर्माण हुने चलचित्र नगरीका साथै जुगल हिमाल र गौरी शंकर हिमालका रमणीय दृश्य अवलोकन गर्न पाउने भएकाले पर्यटकीय हिसाबले यो आर्कषक हुने मन्त्रालयले जानकारी दिएको छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रालयले प्रदेश भित्रका सबै स्थानीय तहमा पर्यटकीय स्थलहरुको निर्माणका लागि गृहकार्य गरेर बजेट समेत व्यवस्था गरिसकेको मन्त्री नेपालले बताए ।
‘एक स्थानीय तह, एक पर्यटकीयस्थल केही वर्षभित्रै निर्माण सम्पन्न हुन्छ’, मन्त्री नेपालले भने । दोलखाको प्रसिद्ध शैलुङलाई पर्यटकीय रुपमा अन्तराष्ट्रिय स्तरको गन्तव्य बनाउन मन्त्रालयले योजना बनाएको र त्यसको मुख्य प्रवेशद्वार मुडे भएकाले हिल स्टेशनबनाट यस क्षेत्रका स्थानीयको आर्थिक समृद्धि हुने मन्त्री नेपालले बताए । प्रदेश सरकारले सिन्धुपाल्चोकलगायत सबै जिल्लामा उद्योग ग्राम निर्माणको समेत सुरुवात गरेको बताए ।

हिल स्टेशन निर्माणको जिम्मा खानी निर्माण सेवाले पाएको छ । पहिलो वर्ष ३ करोड ३७ लाखमा हिल स्टेशनको एक चरणको काम निर्माण सम्पन्न हुने र अर्काे वर्ष फेरी टेण्डर मार्फत बाँकी काम निर्माण सम्पन्न गरिने निर्माण कम्पनीका प्रबन्ध निर्देशक छत्र तामाङले जानकारी दिए । हिल स्टेशन शिलन्यास कार्यक्रममा लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले मुडेमा हिल स्टेशन निर्माण पछि यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकास हुने बताए ।
गाउँपालिका समृद्धिको मुख्य आधार कृषि र पर्यटन भएकाले यो निर्माण पछि कृषि र पर्यटकीय क्षेत्रमा सहयोग पुग्ने अध्यक्ष नेपालले बताए । दोलखाको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले मुडे क्षेत्रको विकास पछि मात्रै शैलुङलगायत दोलखाको अन्य पर्यटकीय स्थलहरुको विकास हुने भएकाले आफुहरु छिमेकी गाउँपालिका सग सहकार्य गरेर काम गर्ने बताए ।