बेसीशहर नगरसभाद्वारा ७६ करोडको बजेट पारित

लमजुङ । लमजुङको सदरमुकाम स्थित बेसीशहर नगरसभाले ७६ करोड १९ लाख रुपैयाँको बजेट पारित गरेको छ । नगरपालिकाको सातौं नगरसभाले आउँदो आव २०७७-७८ का लागि ७६ करोड १९ लाख ५७ हजारको बजेट पारित गरेको हो ।

उपमेयर लक्ष्मी अधिकारीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै कार्यक्रम तथा बजेटमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, कृषि क्षेत्रको उत्थान तथा रोजगारी सिर्जना, उद्यमशीलता र जिविकोपार्जनमा जोड दिइएको बताइन् । उनका अनुसार सम्पन्न सातौं नगरसभाले बजेटमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई प्रार्थमिकतामा राख्दै आउँदो आर्थिक बर्ष २०७७÷७८ का लागि चालु खर्चतर्फ ४७ करोड ७५ लाख ४४ हजार तथा पुँजीगततर्फ २८ करोड ४४ लाख १३ हजार १ सय ८० रुपैया विनियोजन गरिएको छ ।

विनियोजित बजेटमा सामाजिक विकासतर्फ ४० करोड ५३ लाख ९३ हजार, पूर्वाधार विकासतर्फ १८ करोड १६ लाख ९ हजार तथा संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ११ करोड ३५ लाख ७६ हजार बजेट रहेको छ । यसैगरी, वातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड ७० लाख, आर्थिक विकासतर्फ ५ करोड ७६ लाख ९ हजार रुपैयाँ विनियोजन गरिएको अधिकारीले उल्लेख गरिन् ।

कोरोना भाइरसले महामारीको रुप लिएमा अन्य क्षेत्रको बजेट कटौती गरेर भएपनि रोकथाम र नियन्त्रणमा खर्च गर्न सकिने म्याण्डेट पनि नगरसभाले पारित गरेको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिए । उनका अनुसार नगरसभाले ४१ वटा निर्णय सर्वसम्वत पारित गर्दै आर्थिक ऐन र विनियोजन विधेयक २०७७ पनि पारित गरेको छ ।

नगरपालिकाका मेयर गुमानसिंह अर्यालको अध्यक्षतामा भएको बैठकमा उनले सभासदहरुको जिज्ञाशको जवाफ दिएका थिए । मेयर अर्यालले पारदर्शी, जनउत्तरदायी र समृद्ध नगर निर्माणका लागि आफ्नो टिम केन्द्रीत रहेको छ, चालु बर्षमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ध्यान केन्द्रित गर्नु परेको बताउँदै लकडाउनका कारण कतिपय योजना सम्पन्न गर्न कठिनाई भए पनि अधिकांस योजनाहरु सम्पन्न भएको जानकारी दिए । उनले भने, ‘कोरोना संक्रमणको प्रभावले उच्च जोखिमा रहेका अपांगता, भएका, गर्भवती, र सुत्केरी महिला र बच्चा, अति विपन्न, असहाय नागरिक, जेष्ठ नागरिक दीर्घरोगी ब्यक्ति र उक्त परिवारको लागि राहत र रोजगार विमुख हुन परेका युवा जनशक्तिको लागि कामको अवसर सिर्जना गर्न बजेटमा जोड दिइएको छ ।’ समग्रमा बजेट कोरोना नियन्त्रणमा केन्द्रीत रहेको अर्यालले बताए ।

नीति, कार्यक्रम तथा बजेटमा स्वास्थ्य तथा पोषण, शिक्षा, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, लैगिक समानता र सामाजिक समावशीकरण, सामाजिक सुरक्षा र न्याय, संस्कृति तथा कला साहित्य, कृषि, उद्योग वाणिज्य, सहकारी, श्रम तथा रोजगारी, पर्यटन, सडक यातायात, भवन तथा शहरी विकास, विद्युत तथा उर्जा र सूचना तथा सञ्चारमा जोड दिने उल्लेख छ ।

सम्पन्न नगरसभामा सभासदहरुले विभिन्न जिज्ञाश राख्नुको साथै छलफलमा भाग लिएका थिए । सातौं नगरसभाको सञ्चालन निमित्त प्रमुख प्रशासकीय अधिकृत किसान राज चिलुवालले गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

epaper

ताजा समाचार

दुर्गम संखुवासभाको सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण