बागलुङ । नेपालको संविधान–७२ को भाग–३ मौलिक हक र कर्तव्यको धारा ४४ को उपभोक्ताको हक ४४(१) अनुसार प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हकहुनेछ । ४४(२) अनुसार गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक उल्लेख गरिएको छ ।
उपभोक्ताको गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक संविधानले सुनिश्चित गरेपनि खाद्यन्न तथा पेय पदार्थ गुणस्तरहिन भएको गुनासो आउने क्रम रोकिएको छैन । पछिल्लो पटक बागलुङ बजारमा वितरण गरिएको खानेपानी गुणस्तरहिन भएको भन्दै उपभोक्ताहरुले चर्काे आवाज उठाएका छन् ।
बागलुङ बजार क्षेत्रलाई गुणस्तरयुक्त नियमित खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ जिम्मेवारी लिएको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको भन्दा आक्रोशित भएका छन् । असार महिनाको सुरुवातसँगै करिव दुई साताखानेपानीआपूर्ति नियमितहुननसक्नु तथा त्यसपछि पनिखानाउपयुक्तनहुने धमिलो पानीवितरण गरेपछि उपभोक्ताले खानेपानीवितरणको जिम्मेवारी नगरपालिकाले नै लिनुपर्ने आवाज उठाएका हुन् ।
बागलुङ नगरपालिकाको हालै सम्पन्न ७औँ नगरसभामा बानपा–२ का वडाध्यक्ष जीवन शर्माले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराए लगतै नगरपालिकाले सरोकारवाला निकाय र उपभोक्ताबीच छलफल गरेको थियो । छलफलमा सहभागी अधिवक्ता बद्री शर्माले सम्बन्धीत पक्षलाई प्रश्नगरे, ‘उपभोक्तालाई रातो पानी खुवाउन पाइन्छ ?’ उनले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने संस्थालाई कार्वाही गर्नुपर्ने माग राख्दै खानेपानीको जिम्मेवारी नगरपालिकाले लिनुपर्नेमा जोड दिए ।
अधिकांश सहभागीले नगर खानेपानीतथा सरसफाई उपभोक्ता संस्थाका पदाधिकारी कर्मचारीबाट परिचालित भएको भन्दै आक्रोस पोखेका थिए । समितिले कर्मचारीलाई काम लगाउने हो कर्मचारीले समिति चलाउने होइन अधिवक्ता राम शर्माले भने, ‘कर्मचारी संस्थाप्रति उत्तरदायी भएनन् कार्वाही गर्नुहोस ।’ अधिवक्ता शर्माले संस्थामा चरम आर्थिक अनियमितता रहेको दावी गरे । कोषाध्यक्षको राजीनामा स्वीकृत विना कसरी चेक काटिएको छ ?’, उनले भने– सम्बन्धीत निकायले छानवीन गर्नुपर्छ ।’
संस्थाले खानेपानी आपूर्ति नियमित गर्न नसकेको, खानेपानीलाई किटाणुरहित बनाउन नसकेको, साधारणसभा टारेको, प्राविधिक जनशक्ति नियुक्तिमा चासो नदिएको जस्ता विषय उठान गरेका थिए । सहभागीले नगरपालिकाले खानेपानी सम्बन्धमा चाखो देखाएर राम्रो कामको सुरुवात गरेपछि त्यसको जिम्मेवारी नै लिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा उपभोक्ता रुद्र महत, देवबहादुर श्रेष्ठ, डिल्लीराज शर्मा, भरत पुरी, कृष्ण बहादुर केसी, तारानाथ आचार्य, रणसिंह बोहोरालगायतले नगर खानेपानी संस्थाले बिधि सम्मत तरिकाले संस्था सञ्चालन नभएको, आर्थिक अनियमितता, अपारदर्शिता भएको भन्दै सच्चिनु पर्ने माग गरेका थिए ।
खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कोषाध्यक्ष रामप्रसाद शर्माले आफुले अवैध रुपमा कसैलाई पैसा दिन नसक्ने भन्दै राजिनामा दिएको बताए । तोकिएको जिम्मेवारी अनुसार काम नभएको क्षेत्रमा समेत भुक्तानी दिन दवाव भएपछि संस्थामा अट्न नसकेको उनले बताए ।
सो अवसरमा नेकपा बागलुङ नगर कमिटिका अध्यक्ष धनबहादुर परियार, नेपाली कांग्रेसका नेता वसन्त कुमार श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका तर्फबाट अध्यक्ष अमर थापाले गुणस्तरिय खानेपानी वितरणमा संस्था संवेदनशिल बन्नुपर्नेमा जोड दिए ।
सवालको जवाफ दिँदै संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले प्राकृतिक विपत्तीसँग बराबर लडन नसक्दा नियमित पानी आपूर्तिमा समस्या भएको स्वीकार गरे । पहिरोले पानीको पाइप पटक– पटक बगाउँदा समस्या भएको उनले जानकारी दिए ।






