काठमाडौं । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रण नहुन्जेलसम्म अब यात्रु ओसारे वापत सार्वजनिक सवारी साधनले ५० प्रतिशत बढी भाडा लिन पाउने भएका छन् ।।
सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यकाबाहिर बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाईने बताए ।
यी सुविधा हुनै पर्छ
अब सञ्चालन हुने सवारी साधनमा चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनु पर्नेछ ।
साथै सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जनामात्र राख्नु पर्नेछ । एक दिनमा एक पटक यातायातको साधन निसंक्रमण पनि गर्नुपर्नेछ ।