काठमाडौं । राजस्व माराको ध्यान मुलुक लकडाउनको मौकामा पनि जान सक्ने भन्दै विशेष सक्रियता देखाएको राजस्व अनुसन्धान विभागले भन्सार चोरी तथा नक्कली विजक प्रयोग गरी करोडौं रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा काठमाडौं उपत्यकाका विभिन्न फर्म तथा व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।
विभागले भन्सार चोरी पैठारी तथा नक्कली बिजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा विभिन्न चारवटा फर्म र व्यक्तिविरुद्ध कुल ७७ करोड ४ लाख १३ हजार २२० रुपैयाँ बिगो कायम राखेर ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । यसैगरी, विभागले भन्सार चोरी पैठारीमा संलग्न एक जना व्यक्तिविरुद्ध पनि सोही अदालतमा मुद्दा दायर गरेको छ । यो एकैदिन गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै रुपैयाँको बिगो दाबी र जरिमानासहितको मुद्दा हो ।
विभागले काठमाडांै र ललितपुरका न्यु कोइराला ब्रदर्स इन्टरप्राइजेज, समर ट्रेडर्स, जिमी ग्रुप तथा न्यु क्रियसन इम्पेक्सविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । त्यसैगरी, विदेशबाट मोबाइललगायतका विभिन्न इलेक्ट्रोनिक्स सामान चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा काठमाडौं महानगरपालिका–१५ का मयूर मालाकारविरुद्ध पनि मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
विभिन्न तरिका अपनाएर राजस्व छली गरेको अभियोगमा न्यू कोइराला ब्रदर्ससँग भ्याट र आयकर गरी कुल १ करोड ७० लाख ३९ हजार ८ सय ५५ रुपैयाँ बिगो दाबी असुल्न र जरिमाना एवं कैद सजायको माग दाबी गरिएको छ । सो फर्मले वास्तविक वस्तु तथा सेवा खरिद नगरी झुट्टा मूल्य अभिवृद्धि कर (भ्याट) बिजक मात्र लिएर भ्याट र आयकर छली गरेको अभियोग विभागले लगाएको छ । यसैगरी, समर ट्रेडर्ससँग पनि विभागले ४ करोड ५८ लाख २ हजार २ सय ३९ रुपैयाँ बिगो दाबी असुल्न र विगोको दोब्बर जरिमाना एवं कैद सजायको मागसहित मुद्दा दायर गरेको छ । सो ट्रेडर्समाथि आयात गरेका सबै वस्तुको बिक्री नदेखाएको, कतिपयमा आयातभन्दा बिक्री बढी देखिएको र सक्कल प्रज्ञापनपत्र पेस गर्न नसकेको अभियोग लगाइएको छ । त्यसैगरी, विभागले यस ट्रेडर्सका प्रोप्राइटर गौतम सरार्फ तथा फर्मको कारोबार र बैंक खाता चलाउने राधाकृष्णप्रसाद तुराहालाई पनि विपक्षी बनाएको छ । अहिले उनीहरूसँग बिगो रकमबराबरको जरिमाना र ब्याजसमेत असुलको दाबी गरिएको विभागले जनाएको छ ।
त्यस्तै, विभागले विदेशबाट मोबाइललगायत इलेक्ट्रोनिक्स सामान चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा काठमाडौं महानगरपालिका–१५ घर भई हाल टोखा नगरपालिका ग्रान्डी अपार्टमेन्टमा बस्ने मयूर मालाकारसहित दुई जनाविरुद्ध कुल ४३ करोड १८ लाख ९५ हजार ४ सय ३१ रुपैयाँ बिगो दाबी माग गर्दै मुद्दा दायर गरेको छ ।
झुटा तथा नक्कली भ्याट विल र अन्य बिजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा काठमाडौं महानगरपालिका–४ स्थित जिमी ग्रुपसँग पनि १८ करोड ३३ लाख रुपैयाँ बिगो एवं कैद सजाय माग दाबी गर्दै सोही अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
विभागले ललितपुर महानगरपालिका–३ स्थित न्यु क्रियसन इम्पेक्स, बंगलामुखी ट्रेड एन्ड सप्लायर्स, बीएस ट्रेड इन्टरनेसनलसँग ९ करोड २३ लाख रुपैयाँ बिगो जरिमाना र कैद सजाय दाबीसहित मुद्दा दायर गरेको छ । अनुगमन क्रममा उसले वस्तु तथा सेवाको खरिद नै नगरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको पाइएको थियो । अनुसन्धानको क्रममा यति फर्मले विभिन्न वस्तु तथा सामान खरिदमा नक्कली बिलबिजक प्रयोग गरी राजस्व चुहावट गरेको पाइएको विभागले जनाएको छ । विभागले उनीहरूविरुद्ध पनि सो रकमको विगो असुलउपर गरी जरिमाना एवं कैद सजाय माग दाबीसहित मुद्दा दायर भएको बताएको छ ।
विभागका महानिर्देशक दीर्घराज मैनालीले अनुगमन एवं विशेष सुराकीको आधारमा विभागले एकैपटक यतिधेरै राजस्व छलीमा संलग्नको अवैध धन्दा फेला पारी मद्दा दायर गराएको जानकारी दिए । उनले अहिले यस विभाग निकै सक्रिय रूपमा अघि बढेको बताए ।






