पोखरा । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका व्यक्तिमध्ये २७ जनाको शव भेटिएको छ । घाइते १२ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं, पोखरा र बेनीका अस्पतालमा उपचारका लागि पु¥याइएको छ ।
अविरल वर्षापछि शुक्रबार आएको पहिरोमा परी बेपत्ता भएका मालिका गाउँपालिका–७ बिम दुलेबाट ८, धवलागिरि गाउँपालिका–६ मराङ रिखाबाट १८ र रघुगंगा गाउँपालिका ठाडाखानीका एकको मृत अवस्थामा उद्धार गरिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
पहिरोमा परी मालिकाकी विष्णु पौडेल, उनकी ४ वर्षीया छोरी इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली, सन्दीप नेपाली, वीरबहादुर नेपाली र वीरबहादुरी तीन महिनाकी छोरी निशाको मृत्यु भएको छ ।
यस्तै, धवलागिरि गाउँपालिका–६, मरांगमा पहिरोमा परी १८ जनाको मृत्यु भएको छ । स्थानीय सुकना लामगादे, तुलबहादुर क्षत्री, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपावली र प्रकाश केसी (जनिमा केसीका १८ वर्षे छोरा)ले ज्यान गुमाएका छन् ।
यस्तै, सोही ठाउँकी ३३ वर्षीया हीरामती जुग्जाली, ७ वर्षीया करिष्मा जुग्जाली, ५ वर्षीया कञ्चन जुग्जाली, ५५ वर्षीया गौसरा जुग्जाली, २० वर्षीया दीमा जुग्जाली, ४ वर्षीया दीप्ति जुग्जाली र एक वर्षीया दिवान जुग्जालीको पनि मृत्यु भएको छ ।
मालिकाको बिम, मुरवाङ, दुलेमा तथा मराङको मराङ, कल्लेनी, राम्चे र रिखामा पहिरो गएको हो । पहिरोमा अझै चार जना बेपत्ता छन् । बिमकी एलिसा केसी, मालिका–६ बस्ने ४१ वर्षीया गीता रोका (खोलाले बगाएको), कल्लेनीकी ५१ वर्षीया जनिमा केसी र १६ वर्षीय सविन पुनको खोजी कार्य जारी छ ।
पहिरोमा परी १२ जना घाइतेको उद्धार गरी उनीहरूलाई अस्पताल पठाइएको छ । मराङको पहिरो यसअघि बेपत्ता भनिएका धनबहादुर जुग्जाली, अन्दाजी १५ वर्षीया ऋतुकुमारी जुग्जाली, अन्दाजी ५ वर्षीय अर्जुन जुग्जाली भने सम्पर्कमा आएका छन् ।
उद्धारमा सुरक्षाकर्मी, स्थानीयसहित प्रभु एयरको हेलिकोप्टर समेत प्रयोग गरिएको थियो । पहिरोमा धवलागिरि–६, रिखाका १२ वर्षीय अंकित जुग्जाली, ३५ वर्षीय कुशल पुन, १६ वर्षीया बिर्सना जुग्जाली, ३४ वर्षीय धनबहादुर जुग्जाली, ८७ वर्षीया गौतमी सुनार, २२ वर्षीय दीपक श्रीपाली र ७२ वर्षीय हरि बिटाजु घाइते छन् । उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मालिका–७ बस्ने ३६ वर्षीय पूर्णबहादुर नेपाली, धवलागिरि–६ बस्ने २२ वर्षीया मञ्जिता श्रीपाली, ७ वर्षीय सफल श्रीपाली र मालिका–७ ताकमकी ६७ वर्षीया सतदेवी बिटालुलाई हेलिकोप्टरमार्फत उद्धार गरी पोखरा ल्याइएको हो । गर्भवतीसमेत रहेकी मञ्जिताको ढाडमा समस्या देखिएको छ । मालिका–६ का बालसिंह रोकाको काठमाडौंको मेडिसिटीमा उपचार भइरहेको छ ।
यस्तै, रघुगंगा गाउँपालिका ठाडाखानी बस्ने ५० वर्षीइ नलीमान छन्त्यालको खोलाले बगाएर मृत्यु भएको छ । अविरल वर्षाका कारण बिहीबार राति घरमाथिबाट खसेको पहिरोमा परेर ठाउँ ठाउँमा गरी ५०–६० वटा पहिरो गएको धवलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले बताए ।
घटनापछि शनिबार मात्र म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, जिल्ला प्रहरी प्रमख प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरलगायत नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली पहिरो गएको क्षेत्रमा पुगी बेपत्ता भएका व्यक्तिको स्थानीयको सहयोगमा खोजतलासमा खटिएको हो । वडाध्यक्ष राजाराम सुवेदीले विपद्को घडीमा सघाउन सम्पूर्णमा आग्रह गरे ।
यसैगरी, म्याग्दीका विभिन्न स्थानमा पहिरोको उच्च जोखिम भएका २ सय २० जना मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । रघुगंगा गाउँपालिका–३, गलेश्वर राहुँघाटखोला नजिकको बस्ती जोखिममा रहेकाले २१ घरधुरीका ८५ जनाको परिवारलाई नजिकैको गायत्री मन्दिरमा सारिएको छ ।
धवलागिरि–६, कल्लेरी जहरे बस्ने ८९ जनाको उद्धार गरी ५० जनालाई वडा–७, शिवलिंगस्थित हेम मावि आश्रय दिइएको छ भने बाँकी आफन्तकहाँ गएका छन् ।
मालिका गाउँपालिका–५, देवीस्थानका ३ घरधुरीका १३ जना र वडा ६ दरबारचाउटाका ६ घरधुरीका ३३ जना गरी ४६ जनालाई जनप्रिय मावि दरबाङ सारिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
भौगोलिक विकटता र प्रतिकूल मौसमसँगै उद्धारमा कठिनाइ र ढिलाइ भएको प्रहरीले जनाएको छ । शुक्रबार पनि त्यस स्थानमा उद्धारका लागि उडेको हेलिकोप्टर मौसम खराबीले भिजिबिलिटी अभावमा दुईपटक फर्केको थियो ।