प्रदेश २ जलमग्न (फोटोफिचर)

जनकपुरधाम । अबिरल वर्षाका कारण प्रदेशका प्रमुख नदीमा बाढी आएको छ । कोशी, कमला, बागमती,बालबकैया, जलाध, रातु नदीमा पानीको बहाब उच्च रहेको छ ।

धनुषा र महोत्तरीको सिमाना भएर बग्ने रातु खोलाको बाँध भत्किएपछि जिल्लाको सदरमुकाम जलेश्वरसहित दक्षिणि क्षेत्रका आधा दर्जन बस्ती डुबानमा परेका छन् । लगातारको वर्षाले खोलामा पानीको बहाव बढेपछि बाँध भत्किएको थियो ।
एकडारा गाउँपालिका ६ कोल्हुवा र महोत्तरी गाउँपालिकाको रानी रतवाराबाट तटबन्ध भत्काउँदै खोला बस्तीमा पसेको स्थानीयले बताएका छन् ।

जलेश्वर नगरपालिका ८ को रमौल र बजराही हुँदै बाढिको पानी जलेश्वरमा पसेपछि सो क्षेत्रका बस्ती जलमग्न भएको मटिहानी क्याम्पसका प्राध्यापक मनोज झा मुक्तीले वताए । जलेश्वरसँगै जोडिएको मटिहानी नगरपालिकाको सिमरदही,बहुअर्वा,पासवान टोल लगायतको बस्तीमा पनि विगही खोला पसेर डुबान भएको स्थानीयले बताएका छन् । घुँडाभन्दा माथि पानी पुगेकाले स्थानीय समस्यामा परेका छन् ।

केहि बस्ती डुबानमा परेको भएपनि अहिलेसम्म धनजनको क्षति नभएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।

पानीको बहाब बढेर जोखिम सिर्जना भएमा खोज तथा उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन समिति तयारी अवस्थामा रहेको कटुवालले जानकारी दिए । खोलाले बाँध भत्काएको रानी रतवारास्थित तटबन्ध भत्केको स्थानतर्फ नेपाली सेनाको टोली गइसकेको र त्यहाँ पानी रोक्न प्रयास गरिने प्रजिअ कटुवालले बताए ।

महोत्तरीमा प्रत्यक वर्ष बाढी र डुबानबाट ४० हजारभन्दा बढि मानिस प्रभावित हुँदै आएका छन् । यसवर्ष १९ हजार ७ सय ८८ घर र ८५ हजार मानिस बाढी र डुबानको उच्च जोखिममा रहेको जिल्लास्थित विपद् व्यवस्थापन समितिले जनाएको छ । लगातारको वर्षापछि लालबकैया नदीमा आएको बाढी पसेपछि ईशनाथ नगरपालिकाको बन्जाराहा गाउँ जलमग्न भएको छ । गाउँको वरिपरि बाढीले घेरेपछि स्थानीय प्रशासनले सतर्क रहन भनेको छ ।

धनुषा र सिरहा जिल्लामा कमला नदीले पनि दर्जनौ गाउँमा खतरा बढेको छ । सो क्षेत्रमा बिशेष सर्तकर्ता अपनाइदै छ । धनुषाको जनकपुरधाममा पनि दर्जनो घरमा पानी पसेको छ । समयमा नाला सफाई नगरेकाले समस्या भएको चेम्बर अफ कर्मश जनकपुरधामका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले वताए । धनुषामा जलाध, दूधमती नदीपनि खतरामाथि बगिरहेको छ ।
त्यस्तै गौर नगरपालिका–२ महादेवपट्टिस्थित लालबकैया नदीमा बाँधिएको बाँधबाट पानी गाउँमा पस्न थालेको छ । गत वर्ष बाढीले भत्काएको बाँध मर्मत नहुँदा पानी गाउँ पसेको हो । अहिले महादेवपट्टि क्षेत्र जलमग्न भएको छ ।

ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले लालबकैया नदीमा पानीको बहाव बढेपछि उद्धार र राहतका लागि तयारी गर्ने’bout सबै वडाध्यक्षहरुसित छलफल भएको बताए ।

बाढीको बहाव बढ्दै गए सदरमुकाम गौरलाई समेत डुबानमा पार्ने खतरा बढ्ने मेयर मेहता बताउँछन् । डुबानबाट मानवीय क्षति हुन नदिन र अप्ठेरोमा परेकाहरुको उद्धारका लागि सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनालाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । ‘बाँधकै कारण हल्का पानी प्रवेश गरेको छ,’उनले भने, ‘अहिलेसम्म सदरमुकाम डुबानमा परेको छैन ।’

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सबै पालिका प्रमुखलाई रौतहट डुबानको जोखिममा रहेको भन्दै आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।

दशगजामा भारतले एकतर्फी रुपमा बनाएको बाँधका कारण रौतहटका विभिन्न क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेको छ । लगातारको वर्षासँगै लालबकैया नदीमा बाढी आएको छ । पूर्वमा रहेको बाग्मती नदीमा विस्तारै जलस्तर वृद्धि भएपनि लालबकैयामा भने पानीको वहाव उच्च छ ।

तर गौर २ महादेवपट्टीमा दुई वर्षअघि भत्किएको बाँध मम्र्मत भएकाले सदरमुकाम गौरतर्फ बाढी पस्न थालेको छ । ईशनाथ नगरपालिका १ को बन्जरहा डुबानमा परेको छ । त्यहाँ तीन सय घर परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए ।

यसैगरी राजपुर नगरपालिका ८ बलुवा टोलमा पनि बाढीको पानी पसेको छ । बलुवा टोलका २० घरमा लालबकैयाको बाढी पसेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गौर नगरपालिकाको महादेवपट्टी र भन्सार क्षेत्रमा पनि बाढीको पानी पस्न थालेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी श्रेष्ठले बताए । वर्षा नरोकिए बाढी अरु बस्तीमा पस्ने खतरा छ ।

बकैया नदीको पाँच स्थान र वागमती नदीको एक स्थानमा अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

देवाही गोनाही नपाको करुनिया मुसहरी टोल, परोहाको तेजापाकड, कटहरियाको हर्षाहा, फतुवा विजयपुरको लक्ष्मिनियामा बकैया नदीको बाँध तथा वागमतीको माधवनारायण नपाको पिपरा रजवाडामा बाँध अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेकाले त्यहाँ बाढीको अवस्था निगरानी गर्न सुरक्षाकर्मी खटाइएको छ ।

वागमती नदीको बहाव उच्च भएपछि वागमती सिंचाई आयोजनाको ३६ वटै ढोका खोलिएको छ । यस्तै झाझ खोलाको बाढीका कारण दुर्गा भगवती गाउँपालिका ५ बडहर्वा स्थित दलित बस्तीका १५० घर डुबानमा परेको छ ।

निरन्तरको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोसीको मध्य भागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढा गाउँसँग सम्पर्क विच्छेद भएको छ । चारैतिरबाट कोसी नदीले घेरिएको टापु भनेर चिनिने बाढी पसेपछि जलमग्न भएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहका अनुसार गोबरगाढामा ८० घरधुरीमा करिब २ सय जना छन् । चारैतिरबाट कोसी नदीको बाढीले घेरिएपछि सर्वसाधारण संकटमा परेको वडाध्यक्ष बिन्देश्वरी यादवले बताए ।

शुक्रबार रातिदेखि घरघरमा दुई फिटसम्म पानी पसेको र बस्तीको चारैतिर कोसी नदीको बाढीले घेरिएका कारण निस्कन सक्ने अवस्था नरहेको वडाध्यक्ष यादवले बताए । बस्तीका सर्वसाधारणलाई ओहोरदोहोर गर्न यसअघि नै डुंगाको व्यवस्था गरिए पनि स्थानीयहरु टापुबाट बाहिरिएका थिएनन् । शुक्रबार रातिदेखि घर–घरमा पानी पसेपछि गोबरगाढाको जनजीवन निकै नै प्रभावित भएको वडाध्यक्ष यादवले जनाए ।

मेयर शैलेशकुमार साहले गोबरगाढा टापुमा फसेकाहरुलाई त्यहावाट निकाल्ने तयारी भइरहेको बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि अधिकारीले पनि गोबरगाढाका स्थानीयलाई निकाल्ने व्यवस्था मिलाइरहेको बताए । निरन्तरको वर्षासँगै सप्तरी र सुनसरीको सीमामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव उच्च बन्दै गएको छ । शनिबार दिउँसो ३ बजेको मापन अनुसार पानीको बहाव २ लाख ७६ हजार ५ सय ५५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । जसकारण आसपासका बासिन्दालाई सचेत गराउन खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ भने कोशी ब्यारेजका ५६ मध्ये ४० ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै निरन्तरको वर्षाले तिलाठी कोइलाडी गाउँपालिकका झण्डै १ सय ३० विगहा जग्गामा लगाइएको धान खेती बगरमा परिणत भएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 649 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स