काठमाडौं । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भइरसका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली ल्याउन प्रयोग हुँदै आएको चाटर्ड उद्धार उडान आज (सोमबार) र भोलि (मंगलबार) का लागि नहुने भएको छ । यसअघि निरन्तर लामो समयदेखि उद्धार उडान भइरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइदेखि सबै होल्डिङ सेन्टर सरसफाइको व्यवस्थापन, फ्रन्टलाइनमा कार्यरत कर्मचारीको विश्रामलगायतका विशेष काम गर्नका लागि दुई दिन चाटर्ड उद्धार उडान स्थगित गरिएको हो ।
गत २३ जेठबाट सुरु भएको विदेशमा अलपत्र नेपाली ल्याउने क्रमसँगै अहिले दुई दिनको विश्राम लिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले विमानस्थल र होल्डिङ सेन्टरको सरसफाइ तथा फ्रन्टलाइनमा कार्यरत कर्मचारीको विश्रामका लागि दुई दिन विदेशबाट चार्टर्ड उडान नहुने निणर्य भएको बताए । सरकारको यस्तो निणर्यपछि अब उद्धार उडानमा खटिएका विभिन्न विमानका चालक तथा चालक दलका अन्य सदस्यले पनि दुई दिन विश्राम पाउनेछन् ।
आगामी १५ देखि २१ जुलाइसम्म पुनः उद्धार उडानको तालिका आउने जानकारी गराउँदै लामिछानेले भने, ‘त्यसपछि के गर्ने भन्ने’bout फेरि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नयाँ निर्णय गर्छ ।’ मन्त्रालयका अनुसार बुधबारदेखि आगामी २१ जुलाईसम्म एक साता विदेशमा अलपत्र परी विभिन्न समस्यामा परेका नेपाली कामदार ल्याउन चाटर्ड उद्धार उडान हुनेछन् । त्यसपछि अहिलेकै प्रक्रियाअनुसार उडान भर्ने वा नयाँ तरिकाले अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।
आगामी १५ देखि २१ जुलाईसम्म पुनः उद्धार उडानको तालिका आउने र त्यसपछि के गर्ने भन्ने’bout कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नयाँ निर्णय गर्ने
पर्यटन मन्त्रालयका अनुसार सरकारले चाटर्ड उद्धार उडानको अनुमति दिएदेखि अहिलेसम्म करिब २२ हजार नेपाली आफ्नै खर्चमा हवाई टिकट काटेर चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका छन् । अहिलेसम्म केहीलाई सम्बन्धित रोजगारदाता मुलुकको सरकारले नै खर्च गरेर उतैको विमानबाट निःशुल्क रूपमा काठमाडौं ल्याइदिएको थियो । केही साताअघिदेखि कुवेतबाट कुवेत सरकारले आममाफी पाएका नेपाली कामदारलाई आफ्नै खर्चमा जजिरा एयरलाइन्समार्फत काठमाडौं ल्याइरहेको छ । यसैगरी, अन्य केही खाडी मुलुकका एयरलाइन्समार्फत पनि सम्बन्धित देशका नेपाली नियोगले चार्टर्ड उडान गराएर अलपत्र नेपाली ल्याएका छन् ।
त्यस्ता बाहेक अन्य उद्धार उडानका लागि सरकारले तोकेको चाटर्ड उद्धार उडानको भाडा तिरेर स्वदेश फर्किनेलाई भने नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले सेवा दिइरहेका छन् । मुलुकको राष्ट्रिय ध्वजावाहक निगम र अर्को स्वदेशी निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट आउनेलाई मात्र नभएर काठमाडांैबाट जानेहरूका लागि पनि नेपालबाट उडान भरिरहेका छन् । केहीदिन अघि मात्र निगमका चालकदलका १४ जना सदस्यलाई र हिमालय एयरलाइन्सका केही चालक दलका सदस्यलाई पनि कोरोना संक्रमण देखिएको थियो । अहिले उनीहरू क्वारेन्टाइनमा बसिरहेका छन् ।
५० हजार नेपाली फर्किंदै
अझै विभिन्न मुलुकमा नेपाल फर्किन चाहनेको सूचीमा करिब ५० हजार नेपाली रहेका छन् । उद्धार उडान थालनी भएको पहिलो चरणमा विदेशमा अलपत्र परेकाहरूलाई क्रमैसँग उनीहरूका समस्या हेरेर प्राथमिकताका आधारमा स्वदेश ल्याउने भनिएको थियो । तर, सरकारले निर्धारण गरेको अन्य समयको भन्दा धेरै महँगो हवाई टिकट कामदार आफैंले काट्नुपर्ने र बाटो तथा क्वारेन्टाइन खर्च आफैंले गर्नुपर्ने बाध्यकारी खर्चिलो नियमका कारण समस्यामा परेका नेपाली चाहेर पनि स्वदेश आउन पाएका छैनन् । निकै समस्यामा परेकाहरूले आफ्नो साथमा हवाई टिकट खरिद गर्ने पैसा नभएका कारण चाहेर पनि स्वदेश फर्किन नपाएको बताउँदै आएका छन् ।
यसअघि समस्यामा परेकाको वास्तविक पीडा बुझेर उद्धार थाल्नुअघि नै विभिन्न देशका सम्बन्धित नियोगले पनि चार्टर्ड उडान भन्दा नियमित उडान खोल्नु नै उचित हुने सुझावसहित सरकारलाई आग्रह गरेका थिए । तर, सरकारले पहिलो चरणमा विभिन्न मुलुकमा अलपत्र परेका करिब २५ हजार नेपालीलाई चार्टर्ड उद्धार उडानमार्फत नै स्वदेश फर्काउने नीति लिएको थियो । सरकारको सोही नीतिका कारण साथमा पैसा नभएर अर्काको देशमा बेखर्ची भएका नेपाली थप सास्ती भोग्न बाध्य भइरहेका छन् ।






