सिन्धुपाल्चोक । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधी पसलहरु समेत अवैधानीक रुपमा अरुकै लाइसेन्स लिएर सञ्चालन गरेर स्थानीयको स्वास्थ्यमा गम्भीर लापरर्वाही भएको छ ।
बाह्रविसे नगरपालिका भित्र सञ्चालित अधिंकाश औषधी पसलहरुको अनुगमन गर्दा अवैधानीक रुपमा सञ्चालन भइरहेको भेटीएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले बाह्रविसे बजार क्षेत्रमा सञ्चालित औषधी पसलहरुमा गरेको अनुगमनका क्रममा चिकित्सकहरुको सिफारिस बिना नै मनलाग्दी रुपमा औषधी बिक्री वितरण गर्ने गरेको नगर स्वास्थ्य शाखाका प्रमुख होमनाथ लामीछानेले जानकारी दिए ।
औषधी पसल सञ्चालकहरुले अरुकै अनुमतीपत्र लिएर औषधी विक्री वितरण गर्ने गरेको अनुगमनको क्रममा भेटिएको उनले जानकारी दिए । औषधी पसलहरुले सरकारबाट निःशुल्क वितरण गर्ने औषधी समेत महंगो मुल्य लिएर विक्री गरेको भेटिएको थियो ।
औषधी बिक्रीको अनुमति लिएर ल्याब सञ्चालन
औषधी मात्रै विक्री को अनुमती भएपनि बाह्रविसे लगायत सिन्धुपाल्चोकका अन्य क्षेत्रमा सञ्चालित औषधी पसलहरुले लामो समयदेखि ल्याब समेत राखेर विरामीको स्वास्थ्यमा खेलवाड गर्दा समेत सम्बन्धीत निकायले चासो नदिएको जनप्रतिनिधिहरुको आरोप छ ।
कोरोना भाइरस(कोभीड १९) को संक्रमण फैलीरहेको बेलामा स्वास्थ्य क्षेत्र जिम्मेवार हुनु पर्नेमा गैरजिम्मेवार भएर अवैध रुपमा औषधी विक्री गरिरहेको औषधी खरिद गर्ने ग्राहक र नगरको अनुगमनको समितिको प्रतिवेदनमा समेत उल्लेख भएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए ।
औषधी पसल सञ्चालकहरुको मनोमानीको स्थानीयले व्यापक गुनासो गरेपछि नगर स्वास्थ्य शाखाले अनुगमण गर्दा प्राय सबै औषधी पशलहरुले जनताको स्वास्थ्यमा खेलवाड गरेको अनुगमनको क्रममा पाइएको गरेको मेयर शेर्पाले बताए ।
औषधी पसलहरुले सरकारबाट निःशुल्क वितरण गर्ने औषधी समेत महंगो मुल्य लिएर विक्री गरेको भेटिएको छ
‘विरामीको स्वास्थ्य परीक्षणपछि चिकित्सकहरुको सिफारिसमा मात्रै औषधी पसलहरुले औषधी विक्री गर्नुपर्ने हो, तर यहाँका कुनै पनि मेडिकलहरुले त्यसको पालना गरेको देखिएन’ मेयर शेर्पाले भने । नेपाल सरकारले निःशुल्क दिएको औषधी बाह्रविसे बजारमा सञ्चालित सेतीदेवी मेडिकलले २ हजार ४ सय रुपियाँ लिएर समेत विक्री वितरण गर्ने गरेको मेयर शेर्पाले आरोप लगाए । सुरक्षीत रुपमा गर्भपतनका लागि सरकारले अनुमती दिनु पर्छ तर बाह्रविसे लगायत सिन्धुपाल्चोकमा सञ्चालित प्राय औषधी पशलहरुले अवैधानीक रुपमा गर्भपतन समेत गर्ने गरेको स्थानीयले जानकारी दिए ।
बाह्रविसे नगरपालिका अन्र्तगत बाह्रविसे बजारमा सञ्चालित कुबेर मेडिकल हल,सेतीदेवी मेडिकल हल,क्षमादेवी मेडिकल,अरनिको फर्मा र सदिक्षा फर्मामा नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रतिनिधिहरुले अनुगमन गरेका थिए ।
कोरोनाको संक्रमणको बेला स्थानीय टाढा जान सक्ने अवस्था थिएन तर यहाँका मेडिकलहरुले नशा छामेको भरमा निकै कडा कडा औषधी दिएर पठाउने गरेको मेयर शेर्पाले जानकारी दिए । एक साताको लागि औषधी लैजानका लागि चिकित्सकहरुले सिफारिस गरेपनि औषधी पशलहरुले एक महिनाको लागि समेत औषधी भिडाएर पठाउने गरेको मेयर शेर्पाले बताए ।
डब्बल मुल्य असुल्छन्
औषधीमा लेखिएको मुल्य भन्दा डबल मुल्य लिएर औषधी पसलहरुले मनोमानी गरिरहेको स्थानीयको भनाई छ । औषधीको मुल्य एउटा हुन्छ तर औषधीमा त यो मूल्य छ नी! भन्दा मेडिकल सञ्चालकहरुले यो आइसी मुल्य हो भन्दै पैसा लिने गरेको गातीबाट आएका एक स्थानीयले बताए ।
औषधीमा बढी रकम लिएको हो भने त्यसमा नगरपालिकाले नै कारवाही गर्न सक्ने र अन्य विषयमा भने औषधी व्यवस्था विभागले मात्रै अरु प्रक्रिया अघि बढाउने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए । ‘हामीलाई नगरपालिकाले प्राविधिक सहयोग माग्नु भएको थियो,स्वास्थ्य कार्यालयबाट डाक्टरसाबहरु अनुगमनका जानु भएको थियो,केही समस्या देखियो हामीले गर्ने सहयोग गर्न तयार छौ ।’ स्वास्थ्य कार्यालयका प्रमुख चापागाईले भने। बाह्रविसे क्षेत्रमा सञ्चालित कुबेर मेडिकल सञ्चालकले औषधी खरिद गर्ने ग्राहक र अनुगमणमा गएका नगर स्वास्थ्य शाखाका प्रतिनिधिहरुलाई फोन मार्फत धम्की दिने गरेको गुनसो समेत आएको छ ।
नगरपालिकाको निगरानिमा औषधी पसल

बाह्रविसे बजार क्षेत्रमा सञ्चालित औषधी पसलहरुले अवैधानीक रुपमा औषधी विक्रीगर्ने गरेको स्थानीयको गुनासो र अनुगमनको क्रममा पनि त्यही भेटिएपछि नगरपालिकाको प्रत्यक्ष सुपरीवेक्षणमा अस्पताल हाता भित्रै औषधी पशल सञ्चालन सुरु गरिएको छ ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सरकारी सुविधा सम्पन्न बाह्रविसे स्वास्थ्य केन्द्र हाता भित्रै सबै कानुनी प्रक्रिया पुरा गरेर औषधी पसल सुरुवात गरिएको बाह्रविसे नगरपालिकाका मेयर एवम बाह्रविसे स्वास्थ्य केन्द्रका सञ्चालक समितिका संरक्षक निमफुञ्जो शेर्पाले जानकारी दिए । ‘हामीले औषधी पशलका लागि सबै संरचना उपलब्ध गराएका छौ,त्यसबापत स्वास्थ्य केन्द्रलाई मासिक भाडा पनि आउँछ ।’ शेर्पाले भने– ‘औषधी पसललले नाफाको निश्चित प्रतिशत रकम समेत स्वास्थ्य केन्द्रमा उपलब्ध गराउने छ ।’
स्वास्थ्य केन्द्रहाता भित्र सञ्चालन गरिएको औषधी पसलको हरेका साता नगर स्वास्थ्य र स्वास्थ्य केन्द्रका डाक्टरहरुबाट नियमित अनुगमन हुने गरेको बाह्रविसे स्वास्थ्य केन्द्रका मेडिकल सुपरीटेण्डेन डाक्टर सिर्जना महर्जनले जानकारी दिइन् ।






