लन्डन । घरेलु टोली इंग्ल्यान्डले वेस्ट इन्डिजसँगको दोस्रो टेस्ट खेलमा पहिलो इनिङमा विशाल अग्रता लिएको छ । अलराउन्डर बेन स्टोक्सको सानदार शतकमा दोस्रो दिन ४ सय ६९ रन जोड्दा ९ विकेटको क्षतिमा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो ।
दोस्रो दिनको खेल सकिँदा वेस्ट इन्डिजले १४ ओभरमा ३२ रन बनाउन एक विकेट गुमाएको छ । तेस्रो दिनको खेल वर्षाका कारण सुरु हुन सकेको छैन । ओपनर क्रेग ब्रेथवेट ६ र अल्जारी जोसेफ १४ रनमा क्रिजमा छन् । जोन क्याम्पबेललाई साम करनले १२ रनमा एलबीडब्लू आउट गरे । कप्तान जो रुटले रिभ्यु लिँदै क्याम्पबेललाई पेभिलिएन फर्काए ।
स्टोक्सलाई केमार रोचले विकेटकिपर सेन डोरिचबाट क्याच गराएपछि दोहोरो शतक बनाउन चुकेका थिए । स्टोक्सले २ सय ५५ बलमा आफ्नो टेस्ट करिअरको १०औं शतक पूरा गरेका थिए । स्पिनर रोस्टन चेसलाई रिभर्स स्विप सटमा चौका प्रहार गर्दै स्टोक्सले शतक पूरा गरेका थिए । यो स्टोक्सको दोस्रो उत्कृष्ट टेस्ट इनिङ हो । यसअघि सन् २०१६ मा कप टाउनमा दक्षिण अफ्रिकाविरुद्ध स्टोक्सले २ सय ५८ रनको करिअरको उत्कृष्ट ब्याटिङ गरेका थिए ।
कमजोर सुरुवात गरे पनि चौथो विकेटका लागि स्टोक्सले ओपनर डोम सिब्लेसँग मिलेर ५ सय ६८ बलमा २ सय ६० रनको धैर्यपूर्ण साझेदारी गरेपछि इंग्ल्यान्डले बलियो योगफल तयार पारेको हो । सिब्ले १ सय २० रनमा आउट भए । चेसले ओपनर रोरी बन्र्सलाई १५ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा युवा ब्याट्सम्यान ज्याक क्रलीलाई कप्तान जेसन होल्डरबाट क्याच गराउँदै गोल्डेन डग आउट पेभिलिएन फर्काए । अल्जारी जोसेफले दोस्रो सिलिपमा होल्डरबाट कप्तान जो रुटलाई २३ रनमा क्याच आउट गराए ।
विकेटकिपर जस बटलरले ७९ बलमा ४ चौकासहित ४० रन जोडे । साम करन १७ रनमा आउट हुँदा क्रिस वोक्सले खाता खोल्न सकेनन् । स्पिनर डोम बेस २६ बलमा ३ चौकासहित १ छक्कासहित ३१ र स्टुअर्ट ब्रोर्ड ११ रनमा अविजित रहे । अन्तिम विकेटका लागि बेस र ब्रोर्डले ४२ रनको अविजित साझेदारी गरेका थिए । वेस्ट इन्डिजका स्पिनर रोस्टन चेसले ४४ ओभरमा ३ मेडनसहित १ सय ७२ रन खर्चेर ५ विकेट लिए । चेसले तेस्रोपटक टेस्टमा पाँचमाथि विकेट लिएका हुन् ।
इंग्ल्यान्डविरुद्ध दोस्रोपटक हो । केमार रोचले २, जेसन होल्डर र अल्जारी जोसेफले १–१ विकेट लिए । तीन टेस्ट सिरिजमा पहिलो टेस्टमा वेस्ट इन्डिज ४ विकेटले विजयी हुँदै १–० को अग्रता लिएको छ ।






