काठमाडौं । सरकारले आगामी एक भदौदेखि बन्द रहेको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालनको निर्णय गरेसँगै अहिले विभिन्न वायुसेवा कम्पनीले धमाधम टिकट बुकिङ सुरु गर्न थालेका छन् ।
आन्तरिक उडानका लागि निजी वायुसेवा कम्पनी बुद्ध एयरलायन्सले मंगलबारदेखि नै टिकट बुकिङ सुरु गरिसकेको छ । आइतबारदेखि देशभर परेको भारी वर्षाका कारण अधिकांश सडकमार्ग बाढीपहिरोले प्रभावित पारिदिएपछि समस्यामा परेकालाई गन्तव्यमा पु¥याउन विकल्पका लागि आन्तरिक हवाई उडान नै भएको भन्दै बुद्ध एयरलाइन्सले आगामी १ भदौदेखिका लागि टिकट बुकिङ सुरु गरेको हो ।
बुद्ध एयरलाइन्सका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आगामी १ भदौदेखि यात्रा गराउन आन्तरिक उडानतर्फका सबै गन्तव्यका लागि टिकट बिक्री सुरु भइसकेको जानकारी गराए । उनले सरकारले १ भदौदेखि आन्तरिक उडान सुरु गर्ने भनिसकेकाले आफूहरूले पनि अहिले टिकट बिक्री सुरु गरेको जानकारी दिए ।
बुद्ध एयरलाइन्सले काठमाडौंदेखि भद्रपुर जान प्रतिव्यक्ति ८ हजार ६ सय ३८ रुपैयाँ भाडादर कायम गरेको छ । यसैगरी, काठमाडांैबाट भैरहवाका लागि ५ हजार ६ सय ५९ रुपैयाँ, भरतपुरका लागि ३ हजार ३ सय ४२ रुपैयाँ, विराटनगरका लागि ६ हजार ७ सय १७ रुपैयाँ, धनगढीका लागि १० हजार ९ सय ६६ रुपैयाँ भाडा कायम गरेको जनाएको छ । त्यसैगरी, काठमाडौंबाट जनकपुरका लागि ३ हजार ८ सय ७१ रुपैयाँ, नेपालगन्जका लागि ९ हजार ३ सय १२ रुपैयाँ, पोखराका लागि ४ हजार ६ सय ३० रुपैयाँ, सिमराका लागि २ हजार ८ सय ५२ रुपैयाँ, सुर्खेतका लागि १० हजार २ सय ९२ रुपैयाँ भाडा कायम गरेको सो एयरलाइन्सले जनाएको छ ।
बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतले सरकारले यस्तो संकटको समयमा तयारीकै लागि भनेर १ महिनापछिको साटो अहिले नै उडान खोलेर जनजीवनलाई सहज पार्नुपर्ने धारणा राखे । सरकारले अहिले छोटो दूरीका सवारी साधनबाट हुने आवतजावत खोलिसकेको छ । गत १ असारदेखि नै सरकारले एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न लकडाउनलाई खुकुलो बनाइसकेको थियो । गत आइतबारदेखि मुलुकभरका सबै ठाउँमा परेको भारी वर्षाका कारण अहिले पुनः संकट आइलागेको छ । मुलुकभरका धेरै स्थानको सडक बाटो बाढीका कारण अवरुद्ध भएका छन् भने अधिकांश राजमार्ग क्षतविक्षत भएको अवस्था छ ।
त्यसैले यस्तो बेला स्वास्थ्य सुरक्षा व्यवस्था अपनाएर अत्यावश्यक रूपमा रहेको हवाई सेवा जतिसक्दो छिटो खुला गर्नुपर्नेमा सरकारले ध्यान दिनुपर्ने बस्नेतको भनाइ छ । लक्षण नदेखिएका संक्रमितबाट फैलिन नदिनकै लागि प्रोटोकल बनाउने र त्यसको पालना गर्ने मात्र कुरा भएकाले यसमा वायुसेवा सञ्चालक यसअघि नै तयार भइसकेकाले जतिसक्दो छिटो उडान सुचारु गर्न डराउनुपर्ने अवस्था नभएको उनको दाबी छ ।
बुद्धले टिकट बुकिङ सुरु गरेपछि अन्य वायुसेवा कम्पनी पनि अहिले तयारीमा जुटेका छन् । यति र श्री एयरलाइन्सले भने मंगलबार साँझसम्म बुकिङ सुरु गरिसकेका छैनन् । यति एयरले अहिले आफू तयारी अवस्थामा रहेको तर टिकट बुकिङ भने खुला नगरिसकेको बताएको छ । यसैगरी, श्री एयरलाइन्सले सरकारले सञ्चालन गर भनेकै दिनबाट सेवा दिन आफूहरू तयार रहेको बताएको छ । सो एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले अहिले आफूहरू तयारी अवस्थामा रहेको जानकारी गराउँदै सरकारले भनेकै समयमा उडान सञ्चालन गर्न सक्ने बताए ।
यसअघि वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले पर्यटन क्षेत्र संकटमा परेको भन्दै कुनै पनि हालतमा हवाई उडान सुचारु गर्नुपर्ने बताएका थिए । उनले कोरोनाका कारण यात्रु नपाए पनि सेवा सुचारु गर्न वायुसेवा सञ्चालक तयार रहेको बताएका थिए । जसका लागि गत १ साउनमा विभिन्न तीन दर्जन जति पर्यटन व्यवसायी संघ संस्थाले आगामी १५ साउनदेखि आन्तरिक र ३१ साउनदेखि अन्तर्राष्ट्रिय उडान भर्न पाउनुपर्ने माग गरेका थिए । सो समय उनीहरूले कोरोना भाइरस प्रभावका कारण थला परेको मुलुकको पर्यटन क्षेत्रलाई विस्तारै चलायमान बनाई पहिलेकै अवस्थामा पु¥याउन हवाई उडान प्रमुख भएकाले सबैभन्दा पहिले हवाई उडान नै सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थिए ।
सोमबार मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेदेखि हवाई उडान सुरु गर्ने र त्यसका लागि पर्यटन मन्त्रालयलाई प्रोटोकल बनाउन निर्देशन दिएको थियो ।
आइतबारदेखि भारी वर्षाका कारण देशभरका विभिन्न ठाउँमा सडक यातायात अवरुद्ध भएको छ । जसका कारण राजधानी काठमाडौं जोड्ने कतिपय मुख्य राजमागको सम्पर्क नै विच्छेद भएको अवस्था छ । यसअघि वर्षाको मौसममा हरेक वर्ष यसैगरी बाटो अवरुद्ध भइहेका बेला आन्तरिक हवाई उडानमा यात्रुको अत्यधिक चाप हुने गरेको थियो । तर, यो वर्ष भने अवस्था फेरिएको छ । अघिल्ला वर्षमा वर्षाको मौसममा बाटो अवरुद्ध हुँदा पनि सर्वासाधारणको यात्रालाई हवाइ यातायातले भरथेग गर्दै आएको थियो । अहिलेको अवस्था त्यस्तो छैन ।
गत ११ चैतदेखि भएको लकडाउनमा बन्द भएको नियमित व्यावसायिक हवाइ उडान यो वर्ष अझैसम्म ठप्प छ । अहिले बाढी पहिरोबाट काठमाडांै प्रवेश गर्ने मुख्य राजमार्गकै यात्रा अवरुद्ध भएपछि यात्रामा निस्कने बीचबाटौमा अलपत्र पर्न बाध्य भएका छन् । सरकारले आगामी १ भदौदेखि हवाइ यातायात सञ्चालनको निर्णय गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाउने नयाँ नियमका आधारमा उडान सुचारु गर्ने सरकारको तयारी छ । अब १-२ दिनभित्र नै नयाँ नियम बनाएर हवाई उडान सेवा सञ्चालन गर्न सकिने अवस्था पनि रहेको छ । यसअघि नै मुलुकको हवाई क्षेत्रको नियमन निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सञ्चालनको नयाँ नियम बनाइसकेको छ ।






