ललितपुर । कोरोना संक्रमणका कारण अन्योलजस्तै बनिरहेको रातो मत्स्येन्द्रनाथ रथारोहण अन्ततः आज शनिबार हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा मत्स्येन्द्रनाथ पूजारी, पानेजु, ज्यापु समाज अध्यक्षलगायत सरोकारवालाबीच शुक्रबार सम्पन्न छलफलले जात्रा छिटो गर्नुपर्नेमा जोड दिएको छ । त्यसक्रममा महानगर प्रमुल चिरीबाबु महर्जनले आज शनिबार नै रथारोहण हुने प्रस्ट पारेका छन् ।
मत्स्येन्द्रनाथका ज्योतिषले यसअघि गत २४ असारमा रथारोहण साइत निकालेका थिए । गुठी संस्थान शाखा कार्यालय ललितपुरले कोरोना जोखिम भन्दै स्थगित गरेको थियो । कोरोना महामारीका कारण महिनादेखि जात्रा रोकिएको छ ।
गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुख राजन भुजुका अनुसार आज दिउँसो १२ बजेर १० मिनेटदेखि २५ मिनेटसम्ममा मत्स्येन्द्रनाथ रथमा विराजमान गराइने साइत छ
पानेजु संघ अध्यक्ष यज्ञरत्न बज्राचार्यले मत्स्येन्द्रनाथ रथ जात्रा रोक्न नहुने बताए । ‘सावधानी अपनाएर भए पनि जात्रा गर्नुपर्छ,’ उनले भने, ‘अझै केही दिन गर्न ढिला भएको खण्डमा साइत तत्काल ननिस्कन पनि सक्छ ।’
पानेजु कपिलदेव बज्राचार्यले संकट मोचनका लागि गरिने जात्रा रोक्न नहुने बताउ“दै यस्तो भएमा नयाँ पुस्तामा गलत सन्देश जानसक्ने औंल्याए । रातो मत्स्येन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषिले आज शनिबारका लागि रथयात्राको उत्तम साइत निकालेका हुन् । गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुख राजन भुजुका अनुसार आज दिउँसो १२ बजेर १० मिनेटदेखि २५ मिनेटसम्ममा मत्स्येन्द्रनाथ रथमा विराजमान गराइने साइत छ ।
मत्स्येन्द्रनाथ रथमा हाल्नुअघि रथ निर्माण सक्काउनुपर्ने भएको बाराही नाइके दिलकुमार बाराही बताउँछन् । उनका अनुसार रथको ढोका झ्याल, ब्यामो, घमालगायत आवश्यक सामग्री हाल्न बाँकी छ ।
मत्स्येन्द्रनाथसँगै मीननाथ रथ पनि तयारी अवस्थामा राखिने कार्यालय प्रमुख भुजु बताउँछन् । हाल, सो रथ टंगल र मत्स्येन्द्रनाथे रथ पुल्चोकमा छ । मत्स्येन्द्रनाथ रथमा हाल्न पूजारी, पानेजु, शुभेच्छुक बाजागाजासहितको लाबालस्करले तःबहाल पुगेर खटमा हाली मूर्ति ल्याउनेछन् । तःबहालस्थित पाटीमा रहेका मत्स्येन्द्रनाथ मूर्ति पुजारी मिलेर बाजागाजा, पूजापाठ, गुरुज्युको पल्टनसाथ पुल्चोकमा रहेको रथमा विराजमान गराइन्छ ।
मत्स्येन्द्रनाथ मूर्ति पुल्चोकमा निर्माण गरिएको रथमा विराजमान गराउनुअघि तःबहालस्थित मन्दिरमा राजप्रतिनिधिका रूपमा तत्कालीन लिच्छवि राजा नरेन्द्रदेवको खड्ग र त्यही स्थानमा भक्तपुर दरबारबाट ल्याइएको कोतपूजा पनि गरिन्छ । यी क्रियाकलाप पूर्ण रूपमा कोरोना भाइरस खतरा मध्यनजरसहित सावधानी अपनाएर गरिने भएको छ ।
अघिल्ला जात्रामा रथारोहण हेर्न उपत्यकाका विभिन्न स्थानबाट भिड लाग्ने गरे पनि यसपटक त्यो संख्या कम हुने आँकलन गरिएको छ । वर्षा र सहकालका देवता मत्स्येन्द्रनाथ रथयात्राका लागि वैशाख कृष्ण औंशीमा पर्ने मातातीर्थको भोलिपल्ट रथारोहण गरेपछि चौथो दिन यात्रा गर्ने परम्परा रहेको छ । तर, यसपटक भने त्यो नियम लागू नहुने नाइके बाराही बताउँछन्् ।
जात्राअघि बढाउन ललितपुरका विभिन्न संघसंस्था र स्थानीयले विशेष पहल गरेका हुन् । गत १० असारदेखि मत्स्येन्द्रनाथ रथ निर्माण धमाधम भइरहेको छ । किंवदन्तीअनुसार लिच्छवि राजा नरेन्द्रदेवको पालामा भारतको कामरूप कामाख्या गई ‘वुंगद्य’ अर्थात् रातो मत्स्येन्द्रनाथ काठमाडौं उपत्यकामा ल्याइएको थियो ।
गुरु गोरखनाथले नवनागको आसन बनाई बसिदिएका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजासमेत कामरूप कामाख्या गई ‘वुंगद्य’ अर्थात् रातो मत्स्येन्द्रनाथ काठमाडौं उपत्यकामा ल्याएका थिए ।
आप्ना गुरु मत्स्येन्द्रनाथ देखेपश्चात् गोरखनाथ गुरुको दर्शनका लागि जानेक्रममा नवनाग मुक्त भई वर्षा भएको र सहकाल लागेको जनविश्वास छ ।
यही किंवदन्तीका आधारमा हालसम्म पनि मत्स्येन्द्रनाथ मूर्ति रथयात्रा गर्ने परम्परा छ । रथमा राखिएको तीन दिनपछि मत्स्येन्द्रनाथ रथ पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । पुल्चोक, गाःबहाल, सुन्धारातफ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल, जावलाखेलमा परिक्रमा गराइने परम्परा छ । मत्स्येन्द्रनाथ जात्राक्रममा नरिवल खसाल्ने र भोटो जात्रा पनि पर्छन् ।