काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले नेता गोविन्दराज जोशी सहित तीन जनालाई पार्टीबाट निष्काशन गरेको छ ।
समितिको शनिबार बसेको बैठकले पूर्वमन्त्री समेत रहेका जोशी र पुस्करनाथ ओझा सहित डडेलधुराका नेता रामबहादुर विष्टलाई पार्टीबाट निष्काशन गरेको हो । जोशी तनहुँबाट प्रतिनिधि सभाको गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवार बनेका थिए ।
समितिले गरेको कारवाही अनुसार पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको छ । यसैगरी पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको छ ।
ओझामाथी गत निर्वाचनमा कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ ।
यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ । अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो ।
तर उनीहरुबाट चिक्तबुझ्दो जवाफ नआएकाले पार्टीको अनुशासन उंल्लंघन गरेको भन्दै निस्कासन गर्ने निर्णय भएको समितिले जनाएको छ ।
कांग्रेसले प्रतिनिधि सभा, प्रदेश सभा तथ स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार बिरुद्ध बागि उम्मेदवार बनेका, तीनका समर्थक तथा प्रस्तावक बसेका तथा पार्टीबाट आधिकारिक उम्मेदवार बनेकाहरुलाई हराउन भुमिका खेलेकाहरु उपर परेका उजुरीमाथी २६ बैशाख २०७६ मा स्पष्टीकरण सोधेको थियो ।






