३ साउन । बिहानैदेखि झरी परिरहेको थियो । घरबाहिर निस्कने अवस्था थिएन । झरीकै बिच ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको फोन आयो । उनले आफू गाडी लिएर यतै आइरहेकाले तयार भएर बाटोमा निस्कनू भने । म हतारहतार तयार भएँ । बाटोमा निस्केँ । एकैछिनमा नगरप्रमुखको गाडी पनि आयो । म त्यसमा बसेँ । गाडीमा नगरप्रमुखका साथै अन्य पत्रकार साथीहरू पनि थिए । अरु दुईवटा गाडी पनि रहेछन् । त्यसमा पनि नगरपालिकाका उपप्रमुख, कर्मचारी र अरू पत्रकार साथीहरू थिए ।
कार्यक्रम थियो, ठाकुरबाबा नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न गरेका विकासका योजना स्थलगत अनुगमन गर्ने र पत्रकार सम्मेलनमा सहभागी हुने । झरीकै बिच हामी सबैजना हिँड्यौ विकासका आयोजनाहरू अवलोकन गर्न । नगरपालिकाका नौवटै वडाका मुख्य मुख्य आयोजना अनुगमन गरियो । अनुगमनका क्रममा झरीले केही अवरोध पनि ग¥यो ।
अनुगमन गरेर करिब ११ बजे खानाका लागि भुरिगाउँ बजारमा रहेको एक रिसोर्टमा गइयो । खानाको तयारी भइरहँदा हामी पत्रकार साथीहरू आपसमा गफियौं । लकडाउन भएदेखि यति धेरै पत्रकार एकसाथ भेटिएको यो दिन नै पहिलो थियो । सबै साथी एकसाथ भेट्न पाउँदा हामी खुसी थियौं । केही साथी यस्तो अवसर जुटाइदिने ठाकुरबाबा नगरपालिकालाई धन्यवाद पनि दिँदै थिए । भेटको अवसर पारेर साथीहरूबीच लकडाउनका बेला रिपोर्टिङ गर्दाको अनुभव साटासाट ग¥यौं । त्यत्तिकैमा खाना पनि आयो ।
खाना खाएको केही समयपछि नगरपालिकाका कर्मचारी पत्रकार सम्मेलनको तयारीमा जुटे । पत्रकारसहित नगरपालिकाका वडाध्यक्ष, सबै शाखाका कर्मचारी र राजनीतिक दलका प्रतिनिििधलाई आमन्त्रण गरिएको रहेछ । पानी परिहेकाले निर्धारित समयमा सबै उपस्थित नभएकाले करिब १ बजे पत्रकार सम्मेलन सुरु भयो । पत्रकार सम्मेलनमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतले चालु आर्थिक वर्ष २०७७÷७८ को नीति, कार्यक्रम तथा बजेट सुनाए । पत्रकार साथीहरूबाट केही सुझाव र सल्लाह पनि दिइयो । राजनीतिक दलका प्रतिनिधिहरूबाट पनि केही सल्लाह सुझाव आयो । पत्रकार सम्मेलन सकियो ।
खाजा खाएर छुट्टिने कुरो भयो । सबै जना खाजा खाने तरखरमा लाग्यौं । खाजा खाइसक्दा करिब ५ बजेको थियो । पत्रकारको एउटा टिम खुसी हुँदै घरतर्फ लाग्यो । हामी केही साथीहरू भने केहीबेर त्यही अलमलियौँ । अलमलिनुको कारण एउटै थियो, हामी फर्कने गाडीको चाबी भूलवश गाडीभित्रै छुट्यो । गाडी लक भयो । लक खोल्नका लागि प्राविधिक खोज्ने क्रममा ढिलो भयो । केहीबेरको प्रयास पछि लक खोलियो । अनि हिँड्ने तयारी गरियो ।
हिँड्नै लाग्दा पत्रकार मित्र भावुक योगीको मोबाइलमा फोन आयो । फोनमा कुरा गर्दै गर्दा मित्र भावुकको अनुहारको चमक उडेको देख्दा हामी पनि सशंकित भयौं । कहीँकतेबाट अनिष्ट खबर त आएन ? नभन्दै सबैलाई स्तब्ध पार्ने खबर आयो । खबर थियो, ठाकुरबाबा नगरपालिकाका १० जना कर्मचारीमा कोरोना पुष्टि भएको । यो खबरले हामी छाँगाबाट खसेको जस्ता भयौं । हाम्रा ओठमुख सुके । एकै छिनअघिको हाँसो हावासरि उड्यो । हामी एकअर्कालाई टोलाएर बस्नुबाहेक केही गर्न सकेनौं ।
कोरोना पुष्टि भएका कर्मचारी को को हुन् ? उनीहरू आजको कार्यक्रममा थिए वा थिएनन् ? हामीमा कौतूहलता बढ्यो । त्यहाँबाट अघि बढ्न सकेनांै । हाम्रा हातखुट्टा काँपिरहेका थिए । तैपनि अलि मन दह्रो बनाएर केही साथीहरू घरतिर लागे । म, मित्र भावुक र यज्ञ नेपाल भने सरासर नगरपालिकातिर कुद्यौं । त्यहाँ पुग्दा सन्नाटा थियो । कोही केही बेल्न सकिरहेका थिएनन् । नगरपालिका प्रमुखको कार्यकक्षमा पुग्यौं । त्यहाँ पुगेर थाहा भयो कि कोरोना देखिएका कर्मचारीमध्ये एक जना हामीसँगै दिनभर कार्यक्रममै थिए । उनी नगरपालिकाको योजना शाखाका कर्मचारी थिए । उनैले नै पत्रकार सम्मेलन सञ्चालन गरेका थिए । उनी बिहानभर योजना देखाउने काममा हामीसँगै थिए ।
यो खबरले हामीलाई झनै स्तब्ध बनायो । साँझमै रात परेको अनुभूति भयो । केही छिनअघि दह्रो बनाएको मन झनै विचलित भयो । के गर्ने कसो गर्ने केही सोच्न सकिएन । अब त पहाडै खसेको जस्तो लाग्यो । नगरपालिका कार्यालय, सबै वडा कार्यालय, सबै शाखा कार्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय भयो । कार्यक्रममा सहभागी सबैको पिसिआर जाँच गर्ने निर्णय भयो । हामीभन्दा अघि घर फर्केका पत्रकार साथीहरूलाई यस्तो अप्रिय खबर साथीहरूलाई सुनाउनुपर्ने भयो । निकै पीडाबोधका बिच साथीहरूलाई खबर सुनाएर होम क्वारेन्टिनमा बस्नुपर्ने भनियो । यतिन्जेल करिव ८ बज्न लागेको थियो ।
म र पत्रकार मित्र भावुक पीडाबोधका साथ हतारहतार रेडियो टाइगरमा आयौं । अनि नगरवासीलाई सचेत र सजग रहन अनुरोधमूलक सूचना प्रवाह ग¥यौं । त्यसपछि हामी अलमलियौं । कहाँ जाने, के गर्ने, कहाँ बस्ने, रेडियोमै बस्ने कि घर जाने ? अन्तमा फेरि दह्रो मन बनाएर घरमै होम क्वारेन्टिनमा बस्ने निधो गरेर छुट्टियौं ।
घर पुग्दा झमक्क साँझ परिसकेको थियो । दुई छोरीहरू खाना खाएर आफ्नो कोठामा गइसकेका रहेछन् । परिवारलाई बाहिर बोलाएँ । भारी मनका साथ घटना सुनाएँ । श्रीमतीले नआत्तिनुस्, केही हुँदैन भनेर ढाडस दिइन् । बाहिर धारामा नुहाइधुवाइ गरें । लगाएका कपडा धोएँ । आफु पनि सुरक्षित र परिवारलाई पनि सुरक्षित राख्नुपर्ने भएकाले म बस्ने कोठामा नआउन भने । मैले धारा र शौचालय घरबाहिरको प्रयोग गरें । परिवारलाई भित्रको । खाना खान खोजे तर गाँसै गएन । त्यतिकै छाडें । रातभर मनमा अनेक कुरा खेल्न थाले । जसोतसो त्यो रात कटाएँ ।
मेरा दुई छोरी छन् । उनीहरूलाई सुरक्षित राख्नु मेरो कर्तव्य हो । घरमा छोइछिटो होला कि भनेर एकाबिहानै छोरीहरूलाई माइलो दाइको घरमा पठाएँ । अब घरमा म र पत्नी मात्र रह्यौं । दुरी कायम गर्दै घरमा बस्यौं । बिहानैदेखि फोन आउन सुरु भयो । सबैले नआत्तिनुस् भन्दै हौसला दिए । साथीभाइ र आफन्तसँग कुरा गर्दा केही क्षण त ढाडस मिल्थ्यो । केही छिनमै फेरि मन अत्तालिन्थ्यो । खाना खाएको थाल बोकेर बाहिर धारामा धुन जाँदा कोरोना संक्रमति नै भएको महसुस हुन्थ्यो ।
आपूm होम क्वारेन्टिनमा बसेको राजधानी दैनिकका जिल्ला ब्युरो प्रमुख सविन शर्मालाई जानकारी गराएँ । उनले केही हुँदैन, सुरक्षित भएर बस्नु भन्दै ढाडस दिए । दिनभर त फोन र म्यासेजमा भुलेर जेनतेन दिन कट्थ्यो । तर, राति भने निकै बेचैनी हुन्थ्यो । के होला, कसो होला भनेर अनेक कुरा खेल्थ्यो । आफूमा कुनै लक्षण नदिएकाले केही हुँदैन भनेर मन शान्त पार्ने प्रयास गर्थें । तर, कोरोना भाइरस जो कोहीलाई हुन सक्ने भन्ने चर्चाले झनै मन पिरोलिन्थ्यो । कोठामा एक्लै बस्नुको पीडा छुट्टै हुँदो रहेछ । छोरीहरूले बाबा हामी घर कहिले आउने भनेर सोध्दा मन भक्कानिन्थ्यो । म निःशब्द हुन्थें । जीवनमा यति ठूलो पीडाबोध मलाई कहिल्यै भएको थिएन ।
७ गते पिसिआर गर्ने निधो भयो । त्यहीअनुसार १६ जना पत्रकार साथीहरूको स्वाब संकलन भयो । अब रिपोर्ट कस्तो आउने होला भनेर झनै पीडाबोध हुन थाल्यो । स्वाब दिएर घर फर्केपछि झनै बेचैनी बढ्यो । यही रिपोर्ट पोजेटिभ आयो भने के होला, के भन्लान्, मप्रतिको व्यवहार कस्तो होला ? यस्ता यस्ता तर्कनाले मन पोल्थ्यो । केही दिनअघि नगरपालिकाका ८७ जना सबैको रिर्पोट नेगेटिभ आएको खबरले मन केही शान्त त हुन्थ्यो ।
पत्रकारहरूको पिसिआर रिपोर्ट चाँडै निकाल्न प्रयास गरेको भन्दै प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले ढाडस दिन्थे । अरु दिनभन्दा रिपोर्टको पर्खाइ झनै कष्टकर बन्यो । रिपोर्ट’bout जानकारी लिन स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीसँग पटक पटक संवाद गर्थें । उनले रिपोर्ट चाँडै आउनेछ भन्दै नआत्तीकन बस्न हौसला दिन्थे । उनीसँग रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा नै बस्ने’bout छलफल पनि गरेको थिएँ ।
९ गते साँझसम्म रिपोर्ट आउने निधो थियो । तर, अबेर साँझसम्म आएन । झनै बेचैनी बढ्यो । रिपोर्टकै खोजीमा मोबाइल हातमा हुन्थ्यो । ९ गते दिउँसोसम्म रिपोर्ट आउने निधो भयो । के हुने हो भनेर ढुकढुकी झनै बढ्यो । साथीहरूसँग निरन्तर फोन, म्यासेन्जर र च्याटमा कुरा हुँदा मन अलि शान्त हुन्थ्यो । एकले अर्कालाई हौसला दिन्थ्यौं । मन बुझाउँथ्यौं ।
अन्ततः ९ गते साँझ ६ बजे रिपोर्ट आयो । नगेटिभ । एक जना वरिष्ठ पत्रकारबाहेक हामी सबै पत्रकार साथीहरूको रिपोर्ट नेगेटिभ आयो । यो नेगेटिम शब्द सुन्दा ठूलो युद्ध जितेको जस्तो लाग्यो । ७ दिनसम्म पीर र चिन्ताले भित्रभित्रै रोएको मन पिसिआर रिपोर्ट नगेटिभ आएको सुन्दा खुसीले एक पटक फेरि रोयो । आफन्त, साथीभाइ, शुभेच्छुक सबैले खुसीको खबर सुनाउँदै बधाई दिन थाले । मैले पनि पीडामा साथ दिने सबैलाई आभार प्रकट गरें । अनि पुनः थप ऊर्जासहित निममित काममा जुटें । अन्त्यमा, कोरोना पीडाका बेला हौसला बढाउने मेरी पत्नी, सहकर्मी पत्रकार मित्रहरू, आफन्त, साथीभाइ र शुभेच्छुक सबैमा हार्दिक नमन !






