काठमाडौं । यो वर्षको हरितालिका तीज नजिकिँदै छ । तीजलाई लक्षित गरेर दैनिक दर्जनांै गीत रेकर्डिङ र म्युजिक भिडियो निर्माणको क्रम जारी छ । यसैक्रममा विगतमा झैं यसपटक पनि छायाछवि तीज म्युजिक अवार्ड हुने भएको छ । तर, यसपटक विगतको भन्दा कार्यक्रमको आयोजना केही फरक हुने आयोजक संस्था छायाछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।
हरेक वर्ष ५ सयदेखि ८ सयसम्म तीज गीत रेकर्डिङ भएर बजारमा आउँछन् । यस्ता गीतहरूलाई प्रोत्साहन गर्नुका साथै उत्कृष्ट विभिन्न विधालाई पुरस्कृत गर्न सात वर्ष अघिबाट ‘छायाछवि तीज म्युजिक अवार्ड’ सुरु गरिएको पनि आयोजक शान्तिप्रियले बताए । हालसम्म यो अवार्डका लागि १ सयभन्दा बढी संगीतकर्मीहरूले फारम भरिसकेको पनि आयोजक पक्षले जनाएको छ ।
अवार्डका लागि यसपटक आवेदन दुई साताअघि नै खुला गरिएको आयोजक पक्षले बताएको छ । यो महिनाको अन्त्यसम्म आवेदन भर्ने समय राखिएको छ । अवार्ड भने आगामी २ भदौमा काठमाडौंमा एक समारोहबीच हुनेछ ।
‘विगतमा हामीले ३२ विधामा अवार्ड दिने गरेका थियौं । तर, अहिलेको अवस्थालाई मध्यनजर राख्दै यसपटक हामीले २० देखि २५ विधासम्ममा अवार्ड र सम्मान प्रदान गर्नेछौं,’ शान्तिप्र्रियले भने ।
यसपटक तीज लोक गीत, तीज दोहोरी गीतमा अवार्ड प्रदान गरिनेछ । जसमा तीज दोहोरी गीतमा ध्वनि मुद्रण, एरेन्जर, नवगायक, नवगायिका, भिडियो सम्पादक, छायाकार, पुरुष मोडल, महिला मोडल, नृत्य निर्देशक, भिडियो निर्देशक, विधामा अवार्ड प्रदान गरिने भएको छ ।
यस्तै, तीज सन्देशमूलक गीत, तीज लोकदोहोरीतर्फ तीज गीत, शब्द, लय, भिडियो निर्देशक, गायक, गायिका, मोडल, नृत्य निर्देशक, छायाकार, सम्पादकलाई यो अवार्ड प्रदान गरिने भएको छ । तीज गीत उत्पादक कम्पनी र मौलिक तीज गीतलाई पनि अवार्ड प्रदान गरिने आयोजक पक्षले जनाएको छ । यी अवार्डहरू सामाजिक दूरी कायम गर्दै प्रदान गरिने पनि आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताए ।






