सिन्धुपाल्चोक । चीनको न्यालम क्षेत्रमा रहेका विभिन्न हिमतालहरु फुट्ने जोखिम रहेको चिनियाँ अधिकारीहरुले नेपाली पक्षलाई जानकारी गराएपछि त्यसबाट हुने क्षतिलाई रोक्न भोटेकोशी नदीमा पुर्व सूचना प्रणाली स्थापन गर्न माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र विपद व्यवस्थापन समितिको बैठकले नदीको तल्लो क्षेत्रमा ताल फुट्दा हुने जोखिम कम गर्नका लागि नदीमा पुर्व सूचना प्रणाली स्थापनाको लागि माग भएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्द चीन सरकारसँग कुटनीतिक पहलकदमी गरेर नदीमा पुर्व सूचना प्रणाली राख्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । पुर्व सूचना प्रणाली जडान हुँदा बाढी आएको थाहा हुने र नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरु सचेत हुन पाउने भएकाले परराष्ट्र मन्त्रालयलाई यस्तो अनुरोध गरिएको ढकालले जानकारी दिए ।
चीनको तिब्बत क्षेत्रमा रहेको केरुङ छ्यो तालमा पानीको सतह बढेको र जति बेला पनि फुट्न सक्ने खतरा रहेको भन्दै एक साता अघि चिनियाँ अधिकारीहरुले जानकारी गराएपछि भोटेकाशी नदी क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा राखिएको थियो । तालमा पानीको वहाब कम भएपछि तत्कालको लागि ताल नफुटेपनि जोखिम भने कायम नै रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । ताल फुट्यो भने नदीको तल्लो क्षेत्रमा ठुलो जनधनको क्षति हुन सक्ने भएकाले स्थानीय सरकारको समेत आग्रहमा मन्त्रालयलाई अनुरोध गरिएको ढकालले जानकारी दिए ।







