ललितपुर । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरमा आज मंगलबार गाइजात्रा पर्व मनाइँदैछ । विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रामा गाई या गाईको चित्र अंकित तस्वीर लगाएका मानिसलाई नगर परिक्रमा गराउने चलन छ ।
गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउछ भन्ने विश्वास छ । मरेका मान्छेको घरबाट गाइ या गाईको तस्वीर लगाएर हिड्नेलाई निकालेर नगर घुमाउँदा मृत आत्मा यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भत्रे विश्वास छ ।
तर यसपाली कोरोना भाइरसका कारण सबै प्रभावित हुने देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहले गाईजात्रा र त्यसपछि आउने विभिन्न जात्राका क्रममा सावधानी अपनाउन आग्रह गरेको छ । लकडाउन खुले लगत्तै फेरी कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौं महानगरपालिकासहित उपत्यकाका विभिन्न स्थानीय तहले आन्तरिक रुपमा सकेसम्म घरमै जात्रा मनाउन आग्रह गरेका छन् ।
घरबाहिर आएर भिडभाड गर्दै जात्रा मनाउनाले संक्रमणको खतरा हुने संकेत गर्दै उनीहरुले सकेसम्म जात्रा पर्व मनाउदै गर्दा भीडभाड नगर्न सुझाव दिएका छन् । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, भक्तपुर नगरपालिका लगायतका स्थानीय तहले यस्तो आग्रह गरेका हुन् ।
मान्छे मरेको घरबाट भने थोरै संख्यामा मान्छे निस्केर गाइजात्रा मनाउन हुने उनीहरुको भनाई छ । ‘दिवंगत आत्माको शान्त्तिका लागि भीडभाडजन्य कार्य नगरी सरोकारवालालाई मात्र गाईजात्रामा समावेश हुन अपिल गरेका छौं, गोदावरीका मेयर गजेन्द्र मर्हजनले भने ।
गाइजात्रामा ब्याङ्ग्यात्मक प्रदर्शन, नाटक प्रर्दशन तथा लाखे नाच पनि देखाइने भए पनि यसपाली अत्यावश्यकबाहेक अरु प्रदर्शन नगरिने तयारी भएको छ ।
हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाउने गाइजात्रा भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाउने परम्परा छ । यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेश पाई मुक्ति पाउने पुराणमा उल्लेख छ ।
जात्राका दिन केहिले जोगीको भेष धारण गरि रंगी बिरंगी कपडा, मुकुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर साँस्कृतिक बाजागाजा सहित नगर परिव्रmमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा उनीहरुले रामायणको करुण रसका गीत र अन्य भजन पनि गाउने गर्छन् । दिवंगतका परिवारजनले उनिहरुको सम्झनामा क्बाटी, स्याउ, नास्पाती, काक्रो आदि बाँड्ने गर्छन् ।
आफन्तको मृत्यु भएर सोकमा डुबेका परिवारजनलाई हसाउने र मरेका आफन्तको शोक हटाउने चाडका रुपमा पनि यसलाई लिने गरिन्छ । अपरान्हपछि ठाँउठाँउबाट लाखे नाच पनि देखाइन्छ ।
आफ्नो घरमा मात्र होइन नगरका अन्य ब्यक्तिमा पनि परिवारजन मरेका छन् भन्ने देखाएर चित्त बुझाउने बाटो यो पर्वले दिएको धेरै संस्कृतिविद्ले बताएका छन् । काठमाडौंका तत्कालीन मल्ल राजा प्रताप मल्लले आफ्नो पुत्र वियोगमा शोकमा डुबेकी रानीको मन बहलाउन गाइजात्राको चलन ल्याएको इतिहास छ । ललितपुरको पाटनसँगै अन्य शहरहरुमा तथा काठमाडौंको बसन्तपुरसहित अन्य स्थानमा गाइजात्रा मनाइन्छ ।
यस्तै भक्तपुरमा गाइजात्राको दिन ताहामच्चा र साँचा बनाउनुका साथै घिन्ताङ्गघिसी र माँक प्याखँ (बाँदर नाच) नाच देखाइने चलन भएपनि कोरोना माहामारीले यो प्रभावित हुनेछ । गाइजात्रा पर्व धुलिखेल ,बनेपा, दोलखा, त्रिशूली, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा, लमजुङ पोखरा लगायतका नेवार वस्ती रहेका स्थानमा मनाइने गरिन्छ ।
गाईजात्रालाई लक्ष्य गरी हाँस्य ब्यङ्ग्य कलाकारहरुले मुलुकको राजनीति तथा सामाजीक विकृति बिसंगतिप्रति व्यंग्य गर्दै मनोरञ्जनात्मक प्रस्तुतिहरु युट्युब लगायत अन्य सामाजिक सन्जालमा हालिरहेका छन् । नाटकले देशको पछिल्लो अवस्थाप्रति तिखो ब्यङ्ग्य प्रहार गरेको छ ।






