‘छाडा भयो गाईजात्रा’

काठमाडौं । हास्यव्यंग्य अभिनेता शिवहरि पौडेलको नजरमा पछिल्लो समय गाईजात्रा छाडा भएको छ । गाईजात्रालाई अहिलेको पुस्ताले छाडा बनाएको यी अभिनेताको कथन छ ।

सामाजिक सञ्जालका कारण अहिले दर्शकले दिनदिनै गाईजात्रा हेर्न पाएको यी अभिनेताले बताएका छन् । आज गाईजात्रा हो । यसैको अवसरमा राजधानीसँगको कुराकानीमा उनले भने, ‘पञ्चायती कालमा राजादेखि रैतीसम्मलाई व्यंग्य गर्र्दै हसाउन गाईजात्राकै दिन कुर्नुपथ्र्यो । अहिले त सामाजिक सञ्जालमा हरेक दिन जो कोहीलाई व्यंग्य गर्दै ३६५ दिन नै गाईजात्रा हुने गरेको छ ।’

उनले अगाडि थपे, ‘त्यतिबेला राजा, नेता, कलाकारदेखि विभिन्न व्यक्तिलाई गाईजात्रामा सोझै गाली गर्न पाइँदैनथ्यो । प्रधानमन्त्री सूर्यबहादुर थापालाई व्यंग्य गर्नुप¥यो भने सत्ताको तातो सूर्यले पोल्यो भनेपछि दर्शक मुर्छा परेर हाँस्थे । तर, अहिले नेता, कलाकारदेखि जोकोहीलाई जोकोहीले पनि सामाजिक सञ्जालमा अश्लील ठाडो गाली गर्नेक्रम मौलाएको कलाकार पौडेलको गुनासो छ ।

यी हास्यव्यंग्य अभिनेताको अनुभवमा अहिले सबै हास्यकलाकार बनेको छन्, ‘कलाकारले भन्दा राम्रोसँग नेताहरूले प्रहसन प्रस्तुत गर्छन् । नेताहरूबाटै दिनदिनै टेलिभिजनदेखि स्टेजसम्मको भाषणमा प्रहसन प्रस्तुत हुने गरेपछि अब दर्शकले प्रहसनका लागि हाम्रो गाईजात्रा कार्याक्रम नै कुर्नु नपर्ने दिन आए ।’ उनले भने, ‘त्यसो त, यो बाह्रमासे प्रहसनले सामाजिक सञ्जालमार्फत हामीभन्दा हसाउन माहिर प्रतिभाहरू पनि आएका छन् । उनीहरू मूलधारमा आएपछि नेपालमा हास्यव्यंग्यको बजारसमेत बढेको छ ।’

पछिल्लो समय गाईजात्रामा छाडातन्त्र बढ्दै जानुमा आफूहरू पनि दोषी रहेको अभिनेता शिवहरि पौडेलको कथन छ । अहिलेको पुस्ता नै छाडा बनेपछि आफूहरूले पनि बिस्तारै छाडा प्रस्तुति दिनुपरेको यी कलाकारले बताए, ‘सामाजिक सञ्जालले युवा पुस्तालाई यस्तो छाडा बनायो कि हामीले प्रस्तुत गर्ने सांकेतिक व्यंग्य उनीहरूलाई मनै पर्दैन । सोहीकारण उनीहरूको शैलीलाई अपनाउदा हामी पनि प्रहसन प्रस्तुतिमा छाडा बन्दै गएका हौं ।’

२०४६ साल अघि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्तोष पन्तलगायतको गाईजात्रा कार्यक्रम हेर्न रातिदेखि प्रज्ञा भवनमा लाइन बसेर टिकट लिएको शिवहरि पौडललाई याद छ । तिनै कलाकारसँग २०५० पछि कलाकार पौडेलले गाईजात्रा कार्यक्रम प्रस्तुत गर्ने अवसर पाए । गाईजात्रे स्टेज कार्यक्रममा हास्यव्यंग्य अभिनेताद्वय किरण केसी र शिवहरि पौडेल लामो समयसम्म जोडीका रूपमा प्रस्तुत भए, ‘टेली शृंखला जिरे खुर्सानीमा म र जितु नेपाल जोडी भए पनि मेरो गाईजात्रे कार्यक्रमका जोडीचाहिँ किरण केसी नै हुन् । हामी दुईले नेपालमा मात्र हैन ३० भन्दा बढी देशमा जोडी भएरै गाईजात्रे कार्यक्रम देखाईसकेका छौं,’ पौडेलले भने ।

आफूहरूलाई गाईजात्रे कार्यक्रमले राम्रो आम्दानी दिने गरेको शिवहरिले बताए, ‘एक सातासम्म काठमाडौंमा र त्यसपछि देशविदेशमा प्रस्तुत गर्ने गाईजात्रा कार्यक्रमबाट हामीले दशैंतिहार मान्ने खर्च कमाउँथ्यौं । त्यसेले हाम्रा लागि गाईजात्रा दसैंतिहारजस्तै विशेष उत्सव होे ।’ तर कोरोना संक्रमणका कारण यसपटक गाईजात्रा कार्यक्रम प्रस्तुत गर्न नपाएकोमा उनी दुःखी छन् ।

मनोज गजुलेरलगायत केही हास्यव्यंग्य कलाकारहरूले यसपटक पनि टेलिभिजन र युट्युब च्यानलमार्फत सप्ताहव्यापी गाईजात्रा महोत्सव प्रस्तुत गरिरहेका छन् । तर, यो कार्यक्रममा हास्य अभिनेता शिवहरि पौडेल छानिएनन् । अहिले थुप्रै नयाँ कलाकारहरू यो क्षेत्रमा आएकाले यस्ता कार्यक्रममा आफूहरू नछानिएको यी कलाकारको तर्क छ । तर, आफूभन्दा प्रतिभावान् नयाँ पुस्ताले हास्यव्यंग्यका लागि यस्ता कार्यक्रममा स्थान पाउँदा खुसी लागेको पनि पौडेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

epaper

ताजा समाचार

चाइनाबजारको शुभारम्भ साउन १३ गते