इटहरी । इटहरी उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ । बुधबारदेखि लागू हुने गरी उपमहानगरपालिकाले मंगलबार लकडाउन गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले ५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
केही दिनयता इटहरी उपमहानगरपालिकाका एक इन्जिनियरमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै परीक्षणको दायरालाई तीब्रता दिईइको थियो । १५ गते यता मात्रै ३ सय ५२ जनाको स्वाब संकलन गरिएको र तीमध्ये मंगलबार मात्रै ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि लकडाउन गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले जानकारी दिए ।
‘मंगलबार पनि थप एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ,’ मेयर चौधरीले भने, ‘२५ गतेसम्मका लागि सबै बजार क्षेत्र लकडाउन गर्ने निर्णय भएको हो ।’ इटहरीका बुद्धिजीवि, सरोकारवाला निकाय, प्रहरी प्रशासन लगायत बसेको बैठकले उक्त निर्णय गरेको हो । अहिलेसम्म इटहरी क्षेत्रमा इटहरी नगर क्षेत्र ५ दिनका लागि लकडाउन गर्ने निर्णय भएको छ ।
बुधबारबाट दूध र औषधीका पसलहरू बाहेक सम्पूर्ण पसल व्यावसाय, तथा कार्यालयहरु समेत बन्द हुनेगरी लकडाउन गर्ने निर्णय भएको छ । उद्योग कलकारखाना बाहेक सबै क्षेत्र बन्द हुने बताईएको छ । इटहरीमा हालसम्म कोरोना संक्रमितको संख्या २१ पुगेको छ ।
उता, इटहरीको छिमेकी नगर रामधुनी नगरपालिका, इनरुवा नगरपालिका र दुहवी नगरपालिकाले पनि एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ । सीमा नाका सँग जोडिएको सुनसरी जिल्लामा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएकाले लकडाउन गर्ने निर्णय भएको छ । तर, उता, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले भने आँफू लकडाउन गर्ने पक्षमा नरहेको जिकिर गर्दै आएका छन् ।
मंगलबार इटहरीमै बसेको बैठकमा २० वटै वडाका वडाध्यक्ष र जनस्तरबाट १५ दिन लकडाउन गर्नुपर्ने माग उठेपनि प्रजिअले भने ५ दिन भन्दा बढी लकडाउन गर्न नहुने अडान अन्तिमसम्म पनि छाडेनन् । उनले लकडाउन गर्नै नहुने भएपनि ५ दिन लकडाउन गर्ने निर्णयमा आँफू पुगेको बताए ।