निर्मला प्रकरण, अनुसन्धान र यातना

निर्मला प्रकरणमा प्रमाण नष्ट गरेको तथा प्रहरी अनुसन्धानमा रहेका दिलिपसिंह विष्टलाई यातना दिएको आरोपमा मुद्दा चलाइएका आठ प्रहरी अन्ततः निर्दोष ठहरिए । अदालतको आदेशले उनीहरूउपर झुटो मुद्दा लगाइएको प्रमाणित ग¥यो । दबाब र आरोपकै भरमा चलाइने मुद्दा सफल हुँदैनन् भन्ने यो दृष्टान्त पनि हो । निर्मला हत्याका सम्बन्धमा तत्कालका सबुत प्रमाण नष्ट भएका थिएनन्, उपलब्ध सबुतकै आधारमा कसुरदारलाई प्रहरीले कानुनको दायरामा ल्याउनुपर्दछ भन्ने संकेत पनि फैसलाले दिएको छ । अब भने प्रमाण लोप भएकै कारण प्रहरी अनुसन्धान अलमलियो भनी ढिलाइ गर्ने अवस्था रहेन । यसैले, अनुसन्धानका निम्ति प्रहरीले अझै तदारुकता अपनाउनुपर्ने अवस्था आएको छ । बलात्कारपछिको यो हत्याकाण्ड नेपाल प्रहरीकै प्रतिष्ठा र चुनौतीको विषय बन्दै आएको छ । अहिलेसम्म अनुसन्धानको क्रममा केन्द्रीय, प्रदेशस्तरीय तथा जिल्लास्तरीय अनेकौं छानबिन टोली घटनास्थल पुगे पनि घटनाको जड पहिल्याउन सकेको देखिँदैन । उपलब्ध गरेको आंशिक तथ्यमा यथेष्ट आधार नहुँदा अनुसन्धान अन्त्य भएन ।

कसुरदारले यसरी अपराध ग-यो भन्ने कुरा लास, लास प्राप्त स्थल र प्रारम्भिक घटनास्थलले नै मौन भाषामा बताइरहेको हुन्छ । यो भाषा अनुसन्धान अधिकृतले बुझ्न सक्नुपर्दछ । सबुतले बोल्ने मौन भाषा बुझ्न अनुसन्धान अधिकृत पनि दक्ष हुनैपर्दछ । सतही ज्ञानले मात्र यस्तो भाषा बुझ्न सकिँदैन । बलात्कारपछिको हत्यामा कसुरदारको पहिचान खुल्न सक्ने यथेष्ट प्रमाण हुन्छन् । जस्तो मृतकको गुप्ताङमा हुने स्वाब, लगाएको कपडा वा शरीरको भागमा वीर्य, मृतको शरीर र लुगामा प्राप्त हुने संघर्षका चिह्न, मृतकको गुप्ताङ वरिपरि पाइन सक्ने कसुरदारको गुप्ताङको रौं, अठ्याउँदा मृतकको छाती, हात, टाउको र मुखमा बन्न सक्ने नीलडाम, मृतकको हातको नङमा कोतरिएको अवस्थाको कसुरदारको छाला र रगतको भाग, मृतकले लगाएको पोसाकसँग मेल नखाने कपडाकै टुक्रा वा रेसा, घटनास्थल र मृतकको शरीर वा हातमा प्राप्त हुन सक्ने कसुरदारको कपालको रौं, आक्रमणकारीकै पदचिह्न वा जुत्ता, चप्पल, रुमाल, डोरी, कटु र कपडाको टुक्रा, हत्यामा प्रयोग भएका औजार तथा हातहतियार, प्रतिकारको क्रममा बनेका अन्य संघर्षका चिह्नहरूजस्ता अनेकौं सबुतहरू लास र घटनास्थलमा पाउन सकिन्छ । घटनास्थलमा प्राप्त यस्तै सबुतले यो व्यक्तिले यसरी बलात्कार र हत्या ग-यो भनी बताइरहेको हुन्छ । त्यस्ता सबुतलाई यथावस्थामै जोगाएर कसुरदारसँगै इजलासमा पेस गर्नुपर्दछ ।

सबुतको स्वरूप र अवस्थालाई बिग्रन नदिई यथावस्थामै सुरक्षित राख्नु अनुसन्धानमा बढी महत्वपूर्ण मानिन्छ

सबुत प्राप्त गर्नका निम्ति घटनास्थल र लासको यथावस्थाको सूक्ष्म अध्ययन अवलोकन अपरिहार्य हुन्छ । निर्मलाको लास उखुबारीमा पाइएको र पानी परिरहेको तत्कालको मौसमी प्रतिकूलताले सबुत संकलनमा कठिनाई उत्पन्न भएको पनि हुन सक्छ तर लासनजिकै पाइएको निर्मलाको साइकल र पाठ्यपुस्तक नभिजेको ओभानै अवस्थामा पाइएको आधारले सबुत प्राप्त हुन नसक्ने अवस्थामा लास नभएको अनुमान गर्न सकिन्छ । घटनास्थलबाट सबुत संकलन गर्नु मात्र अनुसन्धानको उपलब्धि होइन । सबुतको स्वरूप र अवस्थालाई बिग्रन नदिई यथावस्थामै सुरक्षित राख्ने तथा परीक्षणबाट यो व्यक्ति वा कसुरदार घटना सम्बद्ध हो भनी प्रमाणित गराउने कार्य अनुसन्धानमा बढी महŒवपूर्ण मानिन्छ । निर्मलाले लगाएको पोसाक महिला प्रहरीले नै नजिकको पानीमा पखालेर बोकिन भन्ने कुरा उत्तिखेरै चर्चामा आएको थियो ।

घटनास्थलमा अपनाउने संवेदनहीनताले प्रहरी अनुसन्धान अझै औपचारिकतामै आधारित छ भन्ने संकेत गर्दछ । हुन त तीन दशक पहिलेबाटै अनुसन्धानलाई विशिष्टीकृत गराउँदै ल्याउने प्रयास गरिएको भए पनि अझै पनि यो व्यवहारमा पूर्ण रूपले लागू हुन सकेको छैन । विशिष्टीकरणकै क्रममा अलगअलगै इकाइ गठन गरिए पनि आपराधिक घटना हुँदा कार्यक्षेत्रमा अनुसन्धान शाखामा खटिएका २-३ जनाबाहेक अन्य आवश्यक प्रहरी कर्मचारी अनुसन्धानको आधारभूत ज्ञान भएका छन्÷छैनन् भन्ने कुरा विचारै नगरी कार्यालय कम्पाउन्डमा जो जो खाली छन् उनीहरूलाई नै भेला पारी घटनास्थलको सुरक्षार्थ खटाउने प्रवृत्ति अझै हटेको छैन । प्रारम्भिक अनुसन्धान नै अस्तव्यस्त बन्ने प्रमुख कारण यही हो । निर्मला प्रकरणमा पनि यही भयो ।

निर्मलालाई जीवितै अवस्थामा अन्तिमपटक देख्ने व्यक्ति र त्यतिखेरको समय, निर्मला घर जाने बाटोको आसपासको वातावरण, लास बरामद स्थानको दूरी तथा सो बेला उक्त स्थानमा आवागमन गर्ने व्यक्ति र तत्कालको स्थानीय सामाजिक वातावरण र गतिविधि अनुसन्धानको दोस्रो चरणका प्रमुख स्रोतसामग्री हुन् । अनुसन्धान अधिकृतको तत्कालको ध्यान त्यसतर्फ केन्द्रित भएकै कारण दिलिप विष्ट फेला परे । तर, निर्मलाको भेजनल स्वाबसँग विष्टको डीएनए मेल नखाएको आधारले विष्टले तत्काल छुट्कारा पाए । छानबिनकै क्रममा खटिएको विज्ञ टोलीले डीएनए परीक्षण नै गलत थियो भन्ने निष्कर्ष निकाल्यो । घटनास्थलमा प्राप्त हुने कतिपय उपरोक्त सबुतको आधारमा पनि डीएनए पहिचान हुन सक्छ ।

यस घटनामा दिलिप विष्टबाहेक अन्य व्यक्तिसम्म प्रहरी पुग्न सकेको प्रत्यक्ष देखिएको छैन । तर, दिलिप विष्ट उक्त समयमा घटनास्थल आसपासमा देखिएको भन्ने कुरा तेस्रो देख्ने व्यक्तिबाटै पुष्टि भइसकेको छ । लास फेला परेको स्थान पनि प्रारम्भिक घटनास्थल थिएन । अन्यत्र घटना गराएर लास उखुबारीमा फालिएको थियो भन्ने कुरा लास प्राप्त अवस्थाले नै पुष्टि गरिसकेको छ । दिलिप विष्ट हुँदै लास बरामद स्थलदेखि बलात्कार भएको प्रारम्भिक घटनास्थलसम्म अनुसन्धान पुगेको र सो’bout संकलन गरिएका प्रमाण र तथ्यमा आधारित छन् भन्ने दाबी अनुसन्धान अधिकृतले गर्दै आएका छन् । त्यसलाई इन्कार गर्नुहुँदैन पक्राउ परेका दिलिप विष्टले आफूले बलात्कार गरेको प्रारम्भिक घटनास्थलसम्म अनुसन्धान अधिकृतलाई पु¥याएको भन्ने कुरा पनि पुष्टि भएको प्रहरीको भनाइले अनुसन्धान करिबकरिब अन्त्यतिर पुगेको अनुमान गर्न सकिन्छ ।

प्रहरी अनुसन्धान तथ्यमा आधारित छ-छैन भनी जाँच्ने प्रमुख कसी भनेकै डीएनएलगायतका अन्य प्राप्त भौतिक सबुतको परीक्षण प्रतिवेदन नै हो । घटनास्थलबाट प्रहरीले केकस्तो सबुत उठायो ? र त्यसको परीक्षण प्रतिवेदनले दिलिप विष्टको सम्बन्ध घटनास्थलमा भएको प्रमाणित ग-यो-गरेन ? भन्ने कुरो त मिसेलले नै बताउँला । तर, यस घटनाको अनुसन्धानको आधार स्तम्भ मानिने डीएनए रिपोर्ट नै गलत कसरी भयो ? यो अनुसन्धानको गम्भीर सवाल हो । बलात्कार पछिको हत्या आफैंमा संवेदनशील घटना हो । संवेदनशील घटनाकै डीएनए परीक्षण नै गलत भएको आधारले यसउपर विभिन्न आशंका उत्पन्न भएका छन् । यसमध्ये निर्मलाको भेजनल स्वाव पोस्टमार्टम गर्ने चिकित्सकले नै निकालेको हो वा अनुसन्धान अधिकृत वा सोको अधिकृतले ? स्वाब प्रयोगशालामा सही हालतमा पुगेको थियो÷थिएन ? यसको साथै सही वा सुरक्षित रूपमै स्वाब विशेषज्ञसामु पुगेको हो भने विशेषज्ञद्वारा भएको परीक्षण गलत कसरी भयो ? भन्ने कुरा पनि अनुसन्धानले उजागर गर्नुपर्दछ । किनकि स्वाब संकलनदेखि परीक्षणको चरणसम्म पनि बदनियत हुन सक्छ । अन्यथा डीएनए परीक्षण गलत हुने सम्भावना हुँदैन ।

न्यायमूर्तिकै कारण न्यायालयले आफ्नो सम्मान र गरिमा जोगाउन नसक्ने अवस्था सिर्जना हुँदै छ

यसको मतलब डीएनए दिलिप विष्टकै हुनुपर्दछ भन्ने होइन, विष्टसँग नमिले पनि रिपोर्ट ठीक आउनुपर्ने सो आएन, जसले अनुसन्धानलाई विवादास्पद बनायो । स्वाबको शृंखलाभित्र पर्ने प्रमुख चार चरण जस्तो संकलक, प्याकिङकर्ता, क्यारियर र परीक्षणकर्तामध्ये कसैको यसमा बदनियत नहोला भन्न सकिन्न । बदनियत सम्बन्धित व्यक्ति विशेषको स्वार्थसँग पनि सम्बन्धित हुन सक्छ, तथा बाह्य प्रभावसँग पनि सम्बन्धित हुन सक्छ । बाह्य प्रभावमा प्रहरीकै उच्च अधिकारी पनि आउन सक्छन् भने राजनीतिक व्यक्ति पनि, जसले अनुसन्धानलाई अस्तव्यस्त बनाई दोषी व्यक्तिलाई जोगाउने रणनीति अवलम्बन गरेको नहोला भन्न सकिन्न । यसर्थ, अनुसन्धान अधिकृतले अन्य सम्बद्ध सबुतद्वारा कसुरदारलाई घटनामा संलग्न रहेको भन्ने तथ्य उजागर गराउनुपर्दछ ।

डीएनएबाहेककै अन्य सम्बद्ध प्रमाणबाट दुई वर्षअगाडि नै दिलिप विष्टसम्म प्रहरी अनुसन्धान पुगिसकेको थियो । त्यसपछि अहिलेसम्मको प्रहरी अनुसन्धानले अन्य नयाँ उपलब्धि पनि हासिल गरेकै होला । यसक्रममा दिलिप विष्टबाहेक अन्य व्यक्ति पनि घटनाको नजिक आउन सक्छन् । समष्टिगत रूपमा अनुसन्धानको अहिलेसम्मको अवस्था के छ ? यस’boutमा प्रहरीले पीडित पक्षलाई जानकारी गराउँदै आश्वस्त बनाउँदै ल्याउनुपर्दछ । निर्मला प्रकरणको अनुसन्धानको समष्टिगत परिदृश्यलाई हेर्ने हो भने यो अनुसन्धानमा प्रहरीले आफ्नो व्यावसायिक दक्षता स्वतन्त्र रूपमा प्रयोग गर्न नपाएको आभास हुन्छ । किटानी जाहेरीमा परेकै व्यक्ति दिलिप विष्टकै सन्दर्भमा पनि अनुसन्धानबाट प्राप्त तथ्य उजागर गर्न प्रहरी हिच्किचिएको देखिन्छ । हुन त यो अनुसन्धान प्रारम्भमै राजनीतिक प्रभावमा प¥यो भन्ने टीकाटिप्पणी नभएको होइन । त्यस’boutको वास्तविकता पनि प्रहरीले खुलस्त पार्न सक्नुपर्दछ । किनकि, प्रहरी नेता विशेषको हतियार होइन, ऊ त ३ करोड नेपालीकै रक्षक हो । व्यक्ति विशेषको प्रभावमा परेर प्रहरीले आफ्नो निष्कलंक छविमा दाग लगाउनुहुँदैन । आईजीपी सैलेश थापाको यो मुख्य चुनौती हो ।

मुलुकमा राजनीतिक अपराध पराकाष्ठामा पुगेको छ । स्वार्थ केन्द्रित मानसिकताले राजनीतिलाई संगठित अपराधमा रूपान्तरित गराएको छ । अपराधीलाई दण्ड गराउने चलन हराउँदै छ । सत्ता सञ्चालकले नै अपराधीलाई संरक्षण गर्दै आएका छन् । अपराधीलाई साथमा लिए व्यक्ति मात्र होइन, पार्टी नै मजबुत बन्छ भन्ने मानसिकता विकास भएको छ । सर्वस्वसहित जन्मकैद तोकिएको क्रुर पाशविक हत्यारालाई थुनामुक्त गराउन सर्वोच्च न्यायमूर्ति नै लागेको दृष्टान्त देखिएका छन् । न्यायमूर्तिकै कारण न्यायालयले आफ्नो सम्मान र गरिमा जोगाउन नसक्ने अवस्था सिर्जना हुँदै छ । स्वार्थभन्दा ठूलो अरू केही हुँदैन भन्ने व्यक्तिवादी चिन्तन राज्य प्रशासनको सबै क्षेत्रमा व्याप्त छ । यस्तै, हस्तक्षेपको प्रभाव निर्मला प्रकरणमा पनि परेको नहोला भन्न सकिन्न । तर, प्रहरीले आफ्नो सकारात्मक कार्यको पछाडि ३ करोड नेपालीकै साथ सहयोग छ भन्ने कुरा नभुली स्वच्छ र पारदर्शी अनुसन्धानबाट पीडितलाई राहत दिलाउन विचलित हुनुहुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 326 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम