काठमाडौं । नेपाली राष्ट्रिय टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका पूर्वगोलरक्षक विकास मल्ल राष्ट्रिय पुरुष फुटबल टोलीको गोलरक्षक प्रशिक्षक नियुक्त भएका छन् ।
प्राविधिक समितिले गोलरक्षक प्रशिक्षकमा सिफारिस गरेपछि एन्फाले मंगलबार मल्ललाई २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोटका बाँकी तीन खेलका लागि जिम्मेवारी प्रदान गरेको हो । टोलीको मुख्य प्रशिक्षकमा स्विडिस योहान कालिन तथा सहायक प्रशिक्षकमा किरण श्रेष्ठ रहेका छन् । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ । एन्फाले जापानी गोलरक्षक प्रशिक्षक हिरो मित्सोमारुको स्थानमा मल्ललाई प्रशिक्षकमा नियुक्त गरेका हुन् । हिरोले जाइकामार्फत स्वयंसेवक प्रशिक्षकका रूपमा राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्दै आएका थिए । अर्का गोलरक्षक प्रशिक्षक नवीन महर्जन एन्फाको युवा विभाग प्रमुख भएका कारण जिम्मेवारी पाउन सकेनन् ।
एन्फाले मल्ललाई जिम्मेवारी प्रदान गरे पनि आर्मीबाट स्वीकृति लिन बाँकी छ । एन्फाको प्रस्ताव स्वीकृत भए मल्लले नेपालको आगमी तीन खेलको गोलरक्षक प्रशिक्षण सम्हाल्नेछन् । आफ्नो जमानाका उम्दा र भलाद्मी खेलाडी तथा हाल नेपाली सेनाको मेजर रहेका मल्लले एएफसी लेभल वान गोलकिपिङ कोर्स, एएफसी ‘सी’ कोचिङ लाइसेन्स फिफाबाट एमए कोर्स पूरा गरेका छन् ।
२००५ मा बंगलादेशमा आयोजना भएको साफ च्याम्पियनसिपबाट मल्लले राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए । विभागीय त्रिभुवन आर्मी क्लबका समेत गोलरक्षक रहेका मल्लले २०१३ मा राष्ट्रिय टोलीबाट खेलेका थिए । त्यसपछि उनी प्रशिक्षण कोर्समा लागेका थिए । सुरुवाती ५ खेलमा १ जित निकालेको नेपाल पाँच राष्ट्र सम्मिलित समूहको चौथो स्थानमा छ । नेपालले एक मात्र जितको रूपमा ताइपेईको मैदानमा २–० को जित निकालेको थियो ।






