उद्योगको तीनवटा निकायमा प्रमुख नियुक्त गरिँदै

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत तीन निकायमा प्रमुख छनोट गर्ने अन्तिम तयारी थालिएको छ । गत असार १७ गते उद्योग मन्त्रालयअन्तर्गतका तीनवटा संस्थानमा नियुक्तिका लागि पदपूर्तिको सूचना सार्वजनिक भएकोमा दरखास्त दिने म्याद साउन ६ गते सकिएको थियो । पारवहान तथा गोदाम व्यवस्था लिमिटेडको महाप्रबन्धक, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र इन्टरमोडेल यातायात विकास समितिको कार्यकारी निर्देशक छनोटको अन्तिम प्रक्रिया अघि बढेको हो ।

गोदाम व्यवस्था लिमिटेडको महाप्रबन्धक बन्न १० जनाले आवेदन दिएका छन् । आवेदकको ३० गते अन्तर्बार्ता गरिने मन्त्रालयले जनाएको छ । यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १२ जनाले आवेदन दिएका छन् । १२ जनाको प्रस्तुतीकरण र अन्तर्बार्ता साउन २६ देखि २९ गतेसम्म हुने बताइएको छ ।

निवेदन परेका व्यक्तिबाट सरकारले एक जनालाई तीन वर्षको पदावधि रहने गरी कार्यकारी प्रमुख छान्नेछ

यसैगरी इन्टरमोडेल यातायात विकास समितिको कार्यकारी निर्देशक बन्न १२ जनाले आवेदन दिएका छन् । उनीहरूको पनि २६ गतेदेखि २९ गतेसम्म अन्तर्बार्ता तथा प्रस्तुतीकरण गराउने मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि अतुल उपाध्याय, टेकबहादुर बम, दिनेशकुमार यादव, रघुराज काफ्ले, योगेन्द्र गौचन र अभिषेक कुमार ठाकुरले आवेदन दिएका छन् । त्यस्तै, रामदेव यादव, अनिल कुमार झा, डोलिन्द्रप्रसाद शर्मा, विनोदकुमार जोशी, नेपाल भूषण वैद्य र मोहन प्रकाश चन्दको पनि आवेदन परेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

निवेदन परेका व्यक्तिबाट सरकारले एक जनालाई तीन वर्षको पदावधि रहने गरी कार्यकारी प्रमुख छान्नेछ । सीईओका लागि आवेदन माग्दा मन्त्रालयले नेपाल सरकार वा सरकारको लगानी भएको पूर्ण वा आंशिक लगानीमा स्थापना भएको सार्वजनिक संस्थानमा कम्तीमा ७ वर्ष कार्य अनुभव भएको व्यक्ति मात्रै आवेदन दिन योग्य रहने उल्लेख गरेको थियो ।

यसैगरी पारवहान तथा गोदाम व्यवस्था लिमिटेडको महाप्रबन्धक बन्न लक्ष्मीप्रसाद पौडेल, मोहनमान स्वार, रामबाबु शाह, रमेश कडरिया, प्रेमराज भण्डारी, कुमार केशी, मित्रबहादुर विष्ट, राजन शर्मा, डोलिप्रसाद शर्मा र गोविन्दप्रसाद दाहालले आवेदन दिएका छन् । सबै आवेदकको साउन ३० गते शुक्रबार अन्तर्बार्ता हुने बताइएको छ ।

यस्तै, इन्टरमोडेल यातायात विकास समितिको कार्यकारी निर्देशक बन्न १२ जनाले आवेदन दिएका छन् । कार्यकारी निर्देशक बन्न लक्ष्मीप्रसाद पौडेल, विश्वप्रसाद पौडेल, रामबाबु शाह, नविन कुमार झा, शरद विक्रम राणा, आशिष गजुरेल, रामदेव यादव, आशिष घिमिरे, कृष्णराज बजगाई, गोविन्दबहादुर पुन, गोविन्दप्रसाद दाहाल र नेत्रप्रकाश पन्त छन् । आवेदकमध्ये शरद विक्रम राणा ट्रेड एन्ड एक्सपोर्ट प्रमोसन सेन्टर (टीईपीसी)मा कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् ।

नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित सिफारिस समितिले असार १७ गते पदपूर्तिसम्बन्धी सूचना जारी गर्दै २१ दिनभित्र दरखास्त दिन भनेको थियो । साउन ६ गतेसम्म दरखास्त दिने म्याद रहेकामा तीन संस्थानका लागि जम्मा ३९ जनाको आवेदन परेको थियो ।

५ हजार रुपैयाँ तिरेर अधिकृत स्तरको व्यवस्थापक पदमा पाँच वर्ष काम गरेको अनुभव भएकाले मात्रै दरखास्त दिन सक्ने उल्लेख थियो । तर, यसअघि सोही पदमा नियुक्तिका लागि सात वर्ष कार्यानुभव चाहिने प्रावधान थियो ।
पारवहन तथा गोदाम व्यवस्था कम्पनीको महाप्रबन्धकका लागि जनप्रशासन, व्यवस्थापन वा मानविकी तथा समाजशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने भनिएको छ । पारवहनको पनि आफ्नै ऐन नभएका कारण मन्त्रिपरिषद्ले नै पाँचवर्षे अनुभव तोकिदिएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओका लागि भने सात वर्ष नै अनुभव तोकिएको छ । व्यापार कम्पनीको आफ्नै ऐन भएकाले सात वर्ष नै तोकिएको र इन्टरमोडल यातायात विकास समितिको भने मन्त्रिपरिषद्ले निर्णय गरेका कारण पाँच वर्ष मात्रै अनुभव कायम गरिएकोे छ ।

तपाइको प्रतिक्रिया
(Visited 520 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री