रेलिगेसनमा परेको एक वर्षपछि नै फुलहम इंग्लिस प्रिमियर लिगमा फर्किएको छ । दोस्रो डिभिजनको च्याम्पियनसिपको प्ले अफको अन्तिम खेलमा ब्रेन्टफोर्डलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै फुलहम प्रिमियर लिगमा फर्किएको हो ।
फुलहम २०१८–१९ को सिजनमा दोस्रो डिभिजनमा घटुवा भएको थियो । फुलहम २०१४ देखि २०१८ सम्म च्याम्पियन सिपमा रहेको थियो । २०१८ मा सिधै प्रिमियर लिगमा बढुवा हुने मौका गुमाएको फुलहमले ईएफएल च्याम्पियनसिप प्ले अफ फाइनलमा एस्टन भिल्लालाई पराजित गर्दै प्रिमियर लिगमा बढुवा भएको थियो । तर, फुलहम शीर्ष डिभिजनमा एक वर्ष पनि टिक्न सकेको थिएन । च्याम्पियससिपबाट यो सिजन लिड्स र बेस्ट ब्रुम अल्वियोन सिधै छनोट हुँदा तेस्रो टोलीको लागि चार टोली (ब्रेन्टफोर्ड, फुलहम, कार्डिफ सिटी र स्वान्सी सिटी)बीच प्ले अफमा प्रतिस्पर्धा भएको थियो । च्याम्पियनसिपमा ब्रेन्टफोर्ड तेस्रो तथा फुलहम चौथो स्थानमा रहेको थियो ।
वेम्वली स्टेडियममा मंगलबार राति भएको खेलमा अतिरिक्त समयमा जोए ब्रायनले दुई गोल गरेपछि फुलहम च्याम्पियन्ससिपको प्ले अफको च्याम्पियन बन्न सफल भयो । सबै तीन गोल अतिरिक्त समयमा नै सम्भव भएको थियो ।
निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसरहरु खेलर फाल्दा खेल अतिरिक्त समयका लम्बिएको थियो । अतिरिक्त समयको १०५औं मिनेटमा ब्रायनले ४० यार्डबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । ११७औं मिनेटमा ब्रायनले एलेक्सन्डर मिट्रोभिकको पासमा व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरेपछि फुलहम जिततर्फ अग्रसर बनेको थियो ।
अन्तिम समयमा ब्रेन्टफोर्डका हेनरिक डाल्सगार्डले mिस्टियन नोरगार्डको पासमा गोल गरे पनि खेलमा फर्कन निकै ढिला भएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा फुलहम २–१ ले विजयी हुन सफल भयो ।






