मकवानपुर । नोबल कोरोना भाइरसविरुद्ध उच्च सतर्कता अपनाउने सिलसिलामा बागमति प्रदेश सरकारले मकवानपुर र चितवनको दुईवटा सरकारी अस्पतालनमा सुविधा सम्पन्न आइसोलेशन वार्ड स्थापना गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडास्थित हेटौंडा अस्पतालमा र चितवन अस्पतालमा नोबल कोरोना भाइरसबाट संक्रमित व्यक्तिलाई राख्न आइसोलशन वार्ड स्थापना गरिएको हो ।
प्रदेश सरकारले नोबल कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउँदै संक्रमण देखिए अस्पतालमा छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाएको हो । हेटौंडा अस्पतालको एक भवनमा संक्रमितलाई नियमित चिकित्सकको निगरानीमा राख्न वार्ड स्थापना गरिएको छ ।
उक्त भवनमा दुई बेडको व्यवस्था मिलाएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रविण श्रेष्ठले बताए । उक्त वार्डमा रहने चिकित्सकको लागि भाइरस प्रतिरक्षा डे«सको व्यवस्था समेत गरिएको छ ।
हालसम्म प्रदेशभित्र कुनै पनि व्यक्तिलाई कोरोना भाइरसको लक्षण नदेखिएको बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ । एकसाता अघि सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका विरामी फेला परेको विषय भ्रममात्रै भएको मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुबेदीले बताए ।
बागमती प्रदेश सरकारले भाइरसको संक्रमण फैलन नदिन सामाजिक विकास मन्त्रालयले उच्च स्तरीय समिति र प्रदेश स्तरीय द्रुत प्रतिकार्य समिति गठन यसअघि नै गरेको छ । सामाजिक विकास मन्त्रालयका सचिव डा. गोकर्णमणि दुवाडीको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गरिएको छ ।
यस्तै चीनबाट ल्याइएका विरामीमा कोरोना भाइरस भए नभएको जाँच गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था संघीय सरकारले गरेको छ । कोरोना भाइरस मानव शरिरमा १४ दिनसम्म रहने भएकाले चीनबाट नेपाल ल्याइएका नेपालीलाई उच्च निगरानीका साथ भक्तपुरको खरिपाटीमा स्थापन गरिएको क्वारन्टाइनमा राखिएको छ ।
क्वारेन्टाइन रहेका व्यक्तिमा शंकास्पद लक्षण देखिएमा थप परीक्षण तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिने तयारी संघीय सरकारले गरेको छ ।
यसैबीच कोरोना परीक्षणका लागि रसुवागढी नाकामा स्थापना भएको अस्थायी संरचनालाई बागमती प्रदेश सरकारले स्थायी हेल्थ डेस्क बनाउने भएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले रसुवागढी नाकाको अवलोकनपछि प्रदेशका सीमा वारपार गर्ने मानिसको चेकजाँचका लागि स्थायी हेल्थ डेस्क निर्माण गर्ने बताएका हुन् ।
नाकाबाट भित्र्ने मानिसको प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि स्थायी हेल्थ डेस्क आवश्यक देखिएकाले प्रदेश सरकारले निर्माण गर्ने तयारी गरेको हो । हाल प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि अध्ययन थालेको समेत मन्त्री दुलालले जानकारी दिए । केही हप्तामा स्थायी संरचना निर्माणको काम सुरु गरिने उनले बताए । हेल्थ डेस्क सञ्चालनका लागि प्रदेश अस्पतालबाट चिकित्सकसहितको टोली खटाउनले निर्णय प्रदेश सरकारले गरेको छ ।