पिर्लो युभेन्टसको प्रशिक्षक

टुरिन । प्रशिक्षणको अनुभव बटुल्न नपाउँदै इटालियन क्लब युभेन्टसले आफ्ना पूर्व स्टार आन्द्रे पिर्लोलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको एक दिन नबित्दै युभेन्टसले माउरिजियो सार्रीलाई बर्खास्त गरेको थियो । त्यसको केही समयपछि नै पिर्लोलाई तीन वर्षका लागि मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको हो ।

च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलको दोस्रो लेगमा फ्रेन्च क्लब लियोनलाई २–१ ले पराजित गरे पनि समग्रमा २–२ गोलको बराबरी खेलेपछि अवे गोलको आधारमा युभेन्टस बाहिरिएको थियो । पिर्लाे ९ दिनअघि मात्रै युभेन्टसको यू–२३ को प्रशिक्षकमा नियुक्त भएका थिए । तर, क्लबले अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई विकल्पका रूपमा रहेको बताए पनि आफ्नो पूर्वमिडफिल्डरमा विश्वास देखाएको हो । ४१ वर्षीय पिर्लोले यसअघि कुनै पनि युवा वा सिनियर टोलीलाई प्रशिक्षण दिएका छैनन् ।

सिजनको सुरुवातमा चेल्सी छोडेर तीन वर्षका लागि युभेन्टस आएका सार्रीले च्याम्पियन्स लिगमा खराब प्रदर्शन गर्नु नै बर्खास्तीको मुख्य कारण रहेको बताइएको छ । सार्रीको नेतृत्वमा युभेन्टस इटालियन सुपर कप र कोप्पा इटालिया दुवै प्रतियोगिताको फाइनलमा पराजित भएको थियो । इटालियन सिरी ‘ए’को उपाधि जिते पनि युभेन्टसले लिगका अन्तिम खेलतिर लय गुमाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित