कोरोना भाइरस (कोभिड–१८) को संक्रमण देशभर फैलिरहेको छ । सिन्धुपाल्चोकमा अन्य जिल्लाका तुलनामा केही कमी देखिए पनि राजधानीसँग नजिक रहेको जिल्ला र बढी आवतजावत राजधानीमा हुने भएकाले पनि सिन्धुपाल्चोक पनि कोरोनाको उच्च जोखिममा छ । कोरोना भाइरसको कारण नेपालमा नै पहिलो मृत्यु सिन्धुपाल्चोकमै भयो । कोरोनाका कारण सिन्धुपाल्चोकमा हालसम्म दुई जनाको मृत्यु भएको छ भने ७१ जना संक्रमित छन् । कोरोना महामारीकै बिचमा फेरि सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण धेरैले ज्यान गुमाइसकेका छन् ।
गृह प्रशासनमा लामो अनुभव भएका र जिल्लामा संघीय सरकारको प्रतिनिधिका रूपमा रहेका प्रमुख जिल्ला अधिकारी ढकालसँग कोरोना नियन्त्रण, बाढी पहिरोको अवस्था र अन्य नियमित कार्य प्रणालीलगायतका विषयमा केन्द्रित रही राजधानी सहकर्मी दिनेश थापाले गरेको कुराकानीको सारसंक्षेप :
देशव्यापी रूपमा कोरोनाको संक्रमण फैलिरहेको छ, सिन्धुपाल्चोकको पछिल्लो अवस्था कस्तो छ ?
सिन्धुपाल्चोक राजधानीसँग जोडिएको जिल्ला भएकाले सुरुदेखि नै सिन्धुपाल्चोक अलि जोखिममा नै थियो । काठमाडौ नजिकै भएकाले आवतजावत बढी हुने गरेको छ । हामीले सबै निकायसँग पटक–पटक छलफल गरेका थियौ । स्वास्थ्य विज्ञहरूसँग सरसल्लाह गरेर कोरोना नियन्त्रणका लागि हामीले प्रभावकारी भूमिका खेलिरहेका छौं । सिन्धुपाल्चोकमा नै पहिलो पटक कोरोना संक्रमणका कारण एक जनाको निधनसमेत भयो तर जो महिलाको निधन भयो उहाँको पनि काठमाडौंसँग कनेक्सन थियो । सरकाले दिएका निर्देशनअनुसार काम गर्दे गएका थियौं । त्यसकारण सिन्धुपाल्चोकमा धेरै संक्रमित छैनन् । हालसम्मको अवस्थामा हेर्दा सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ भने ७१ कोरोना संक्रमितका बिरामी रहेका छन् । हामीले धेरैभन्दा धेरै पिसिआर परीक्षणको दायरलाई फराकिलो बनाउँदै अहिलेसम्म १५ सय बढीको पिसिआर परीक्षण गराएका छांै । सिन्धुपाल्चोकमा अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन ।
लकडाउनको अवधिमा स्थानीय अलि बढी सचेत थिए तर लकडाउन खुलेपछि त कोही पनि सचेत भएको देखिएको छैन नि ? कतै प्रशासनको भूमिका अहिले कमजोर भएको त हैन ?
लकडाउनको अवधिमा सबै जना सचेत थिए । एक जनामा कोरोना देखियो भने पनि सबै जिल्लाबासी सचेत भएको अवस्था थियो तर अहिले लकडाउन खुलेपछि स्थानीयमा स्वास्थ्यप्रति धेरै सचेत भएको पाइएको छैन । स्थानीयमा अहिले पनि हामीलाई हुँदैन होला भन्ने भ्रम छ तर त्यो गलत हो । अहिले कोही पनि डराएका छैनन् । ‘पब्लिक’ नडराएको र सरकारले पनि खुकुलो बनाएकाले केही समस्या देखिएको छ । सुरक्षाकर्मीले पनि पहिला जसरी कडा गरेका थिए अहिले त्यो छैन किन भने केन्द्रीय ‘पोलिसी’ नै त्यहीअनुसारको छ । तर, अब जोखिम बढ्दै गएपछि हामीले अलि कडा गर्ने योजना बनाएका छांै । समुदायमा कोरोना फैलियो भने त्यो अवस्था निकै दुःखद हुन सक्छ त्यसैले सुरक्षाकर्मीहरूले कडा गरेर मात्रै होइन, स्थानीय आफंै पनि सचेत हुन जरुरी छ ।
लकडाउनपछि सिन्धुपाल्चोकका तीनै क्षेत्रमा सरकारी स्तरबाट सञ्चालन गरिएको क्षेत्रीय क्वारेन्टिन र आइसोलेसन स्थापना गरिएको थियो तर अहिले ती सबै हटेका छन् नि ? कतै व्यवस्थापन गर्न नसकिएको त हैन ?
क्वारेन्टिनको व्यवस्थापन स्थानीय सरकारले गर्ने भन्ने निर्देशन नै थियो । क्वारेन्टिनको मापदण्ड अहिले कडा भएकाले जिल्लामा त्यही जस्ताको तस्तै कार्यान्वयन गर्न समस्या थियो । त्यसैले हामीले डिसिसिएमसीको निर्णय गरेर जिल्लाका तीन स्थानमा क्षेत्रीय स्तरको क्वारेन्टिन बनाएका थियौं । ती क्वारेन्टिनमा सबै सरकारी सुविधासहित स्तरीय व्यवस्थापन थियो नै । क्षेत्रीय क्वारेन्टिनमा सबै स्थानीय सरकारले सहयोग गर्ने सहमति भएको थियो । त्यो धेरै राम्रो पनि थियो तर । पछि स्थानीय सरकारले आफ्नो क्षेत्रमा नै क्वारेन्टिन बनाउन पाए हुने,अ ार्थिक भार पनि कम पर्ने भन्ने स्थानीय सरकारका प्रमुखहरूले भनेपछि हाम्रो जनतालाई अन्यत्र राख्ने भन्दा आफ्नै पालिकमा राख्न पाए हुन्थ्यो भन्ने माग आएपछि स्थानीय सरकारहरूले नै निर्णय गरेर अहिले सबै गाउँपालिका-नगरपालिकाहरूमा नै क्वारेन्टिन सञ्चालन गरिएको छ ।
जिल्लामा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथाममा तीन सरकारबीचको समन्वय कसरी अघि बढिरहेको छ ?
प्रमुख जिल्ला अधिकारी स्थानीय सरकार, प्रदेश र संघीय सरकारको प्रतिनिधि हो । प्रदेश र संघीय सरकारसँग समन्वय भइरहेको छ । स्थानीय सरकारसँग पनि राम्रो समन्वय छ । हामीले प्रत्येक पटक निर्णय गर्दा स्थानीय सरकारका प्रमुखहरूसँग समन्वय र छलफल गरेर नै अघि बढिरहेका छौं । सबै पालिकालाई एउटै ‘स्टयान्डरमा’ लैजानका लागि हामीले मापदण्ड, कार्यविधि पनि बनाएका छांै । एकरुपता होस सबै पालिकामा भनेर हामी लागेका छांै र तिनै सरकारबीचको समन्वयले गर्दा हाम्रो जिल्लामा कोरोनाले भयावह अवस्था लिएको छैन ।
स्थानीय सरकारको कामप्रति तपाईं सन्तुष्ट हुनुहुन्छ त ?
मिश्रित छ, जिल्लामा कुनै पालिकाहरूले धेरै राम्रो गरेका छन् । केहीले ठीकै गरेका छन् । सबैले कम संक्रमण होस भन्ने प्रयास गरिरहेका छन् । सबै स्थानीय सरकारहरूले कोरना नियन्यत्रणमा खेलेको भूमिका राम्रो छ । भौतीक स्रोत साधनले गर्दा पनि सबैको काम समान छैनन् तर पनि हामी सबैले उच्च गतिका साथ काम गरुन् भन्ने चाहनामा छौं ।
स्थानीय सरकारले के गर्दा कोरोना रोकथाम र नियन्त्रणमा अझै प्रभावकारी हुन्छ होला त ?
हामी समन्वय र सहकार्य गरेर नै अघि बढिरहेका छौं । राम्रो काम गरेका छांै । सबै बसेर बेला बेलामा छलफल गर्ने, एकरूपताले निर्णय गर्ने र त्यो निर्णयलाई कार्यन्वन गर्ने हो भने अझै राम्रो हुन्छ । तर कतिपय स्थानीय सरकारका प्रमुखहरू उपस्थिति नहुँदा गरेका निर्णयहरूलाई कार्यान्वयन गर्न समस्या देखिएको छ ।
चीनसँग सीमा जोडिएको जिल्ला भएकाले चीन सरकारले पनि राम्रो सहयोग गरिरहेको छ हैन ?
म पहिला पनि सीमा जोडिएको जिल्लामा बसेको भएकाले मित्रराष्ट्रसँग कसरी समन्वय गर्ने भन्ने केही ‘आइडिया’हरू थियो । यसअघि जिल्लामा लामो समयदेखि सुरक्षा बैठक पनि बस्न सकिरहेको अवस्था रहेनछ । म आएपछि हाम्रो पहलमा नै सीमा बैठक बस्यौं । बैठकमा हामीले सहयोगको प्रस्ताव पनि गरेका थियौं । चिनियाँ पक्ष एकदमै सकारात्मक भएर हामीलाई स्वास्थ्य सामग्रीहरू सहयोग गर्नुभयो । कोरोना पछि तातोपानी नाका बन्द पनि थियो । हाम्रो पहलमा बन्द नाका पनि सञ्चालन भएको छ । सहयोगको वातवरण अघि बढेको छ । हामीलाई खाद्यान्नलगायत अन्य सहयोगका सामग्री सहयोग गर्ने वचन दिनुभएको छ । सीमा जोडिएको जिल्लाबिचको समन्वय अहिले एकदमै राम्रो छ । समन्वयका कारण नै त्यो सम्भव भएको हो ।
बजेट अभावमा डिसिसिएमसीलाई काम गर्न गाह्रो भएको भन्ने छ नि ?
डिसिसिएमसीसँग छुट्टै बजेट छैन । प्रदेश सरकारले केही बजेट दिएको थियो । त्यसबाहेक हामीसँग पैसा छैन । बजेट अभावका कारण केही समस्या छ । विदेशबाट आएकाहरूलाई जिल्लामा ल्याउनु पर्दा समेत स्थानीय सरकारहरूलाई अनुरोध गरेर ल्याउनुपर्ने अवस्था छ । अहिले स्रोत अभावका कारण सबै पालिकाहरूलाई नै अनुरोध गर्नुपर्ने अवस्था छ । बजेट हुने हो भने केही सजिलो त हुने नै थियो तर पनि बजेट छैन भन्दैमा चुप लागेर बस्ने अवस्था पनि छैन ।
कोरोनाको महामारीकै बिचमा फेरि प्राकृतिक विपत्ति सुरु भयो नि सिन्धुपाल्चोकमा पछिल्लो अवस्था के छ ?
सिन्धुपाल्चोकमा प्रकृतिका विपत्तिबाट यो वर्ष ठूलो क्षति भयो, केही स्थानीय तहबाहेक बाढी पहिरोबाट सबै पालिकाहरू प्रभावित भएको छ । यो वर्ष पानी असाध्यै बढी परेको छ । जमिनले धान्न सक्ने अवस्था छैन । बाह्रविसे, भोटेकोसी,जुगल र बलेफी धेरै प्रभावित भएका छन् । यो एक महिनाको बिचमा बाढीपहिरोले मात्रै १९ को मृत्यु र २० बेपत्ता भएका छन् । भौतिक क्षति अझै धेरै छ । हामीले बाढीपहिरोबाट विस्थावित भएकाहरूलाई उद्धार र राहतमा लागिरहेका छौं । यो कार्यमा सबैको सहभागिता देखिएको छ । तार, जाली, टेन्ट लगायतका हामीसँग जे सामग्री छ, त्यो सबै प्रभावित क्षेत्रमा पठाइरहेका छौ । प्रदेश र केन्द्र सरकारबाट मृतक र घाइतेहरूका लागि प्राप्त रकम वितरण गरेका छौं । बेपत्ताहरूको खोजीमा विज्ञ टोली परिचालन भए पनि अझै फेला पार्न सकिएको छैन । अब भेटिने सम्भावना ज्यादै कम छ, अब हामी वेपत्तालाई प्रक्रियाअनुसार मृतक घोषणा गरेर उनीहरूले पाउने रकम दिने प्रक्रियामा पनि जाने छौ ।
सिन्धुपाल्चोकमा अहिले बढी नै बाढीपहिरोका घटना घटिरहेका छन् । बाढीपहिरो बढ्नुका कारण’bout अनुसन्धान भएको छ त ?
सिन्धुपाल्चोक विशेषगरी भोटेकोसी नदी करिडोर असाध्यै कमजोर भु–बनोट भएको क्षेत्र भनेर विज्ञहरूले समेत भनि सकेको अवस्था छ । भूकम्पले चिरा परेको जमिनमा वर्षाको पानीले गर्दा पनि बाढी पहिरो गएको हुन सक्ने विज्ञहरूले औंल्याएका छन् । साना खोलाहरूले पनि धेरै ठूलो क्षति भएको छ । चीनको हिमताल फुट्ने खतरा पनि अझै छ । सिन्धुपाल्चोकमा जुरे जस्तै अर्काे ठूलो प्राकृतिक विपत्ति हुने खतरा देखिएको छ । वर्षामा समस्या हुने, त्यसपछि फेरि त्यस्तै ठाउँमा गएर बस्नाले पनि समस्या देखिएको छ । वर्षाको समयमा भएका सबै विपत्ति भुलेर त्यस्ता जोखिम स्थानबाट स्थानीयलाई सुरक्षित रुपमा राख्नका लागि सबै सरकारहरूले योजना बनाएर लाग्ने हो भने आगामी दिनमा मानवीय क्षति कम हुन सकिन्छ कि जस्तो लाग्छ ।
गृह मन्त्रालयले गर्ने मूल्यांकनमा सिन्धुपाल्चोक गत वर्ष ७७औं नम्बरमा थियो । अहिले ग्रेड ‘ए’ मा परेको छ । यो कसरी सम्भव भयो होला ?
मूल्यांकनका केही आधारहरू छन्, ती आधरहरूमा रहेर हामीले काम गर्नुपर्छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीले गर्ने दैनिक कार्य सम्पादन नै मुख्य हो । सिडिओले दैनिक गर्ने कामलाई प्रक्रियागत रूपमा गर्ने नै हो । कामको गुणस्तर र प्रभावकारिताको पनि मूल्यांकन हुन्छ । जिल्लामा राम्रो काम नै भएको छ जस्तो लाग्छ र त्यही कारणले नै गृह ले गर्ने मूल्यांकनमा अगाढी आएको हुन सक्छ । सिडिओ एक्लैले भन्दा पनि टिमका कारण यो सम्भव भएको हो । हाम्रो ध्यान सिन्धुपाल्चोकलाई अर्काे वर्ष एक नम्बरमा ल्याउने गरेर कामको सुरुवात भएको छ ।