कर्मचारीको कोभिडको खर्च बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने

काठमाडौं । कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रूपमा घर, अस्पताल वा होटलमा आइसोलेसनमा राख्नुपर्ने र सोको खर्च बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने गरी नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बिहीबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी एवं सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी न्यूनत्तम बैंकिङ सेवा सुचारु गर्नुपर्ने देखिएको भन्दै १४ बुँदे निर्देशन जारी गरेको हो ।

सूचनामा राष्ट्र बैंकले कर्मचारी र ग्राही दुवै पक्षको स्वास्थ्य सुरक्षालाई जोड दिएको छ । राष्ट्र बैंकले ५० प्रतिशतभन्दा बढी कर्मचारी प्रयोग नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई कोरोना भाइरस सुरक्षा व्यवस्थापन समूह गठन गर्नपनि निर्देशन दिएको छ ।

संक्रमितको सम्पर्कमा आएका वा कन्ट्रयाक टे«सिङमा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटल क्वारेन्टिनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बंैक तथा वित्तीय संस्थाले बेहोर्नुपर्ने गरी केन्द्रीय बेंकले सूचना निकालेको छ ।

कोरोना भाइरसको जोखिम पछिल्लो समय बढ्दै गएकाले घरमै बसेर र आलोपालो कार्यालय गएर काम गर्ने व्यवस्था मिलाउन सूचनामा उल्लेख गरिएका छ । २ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्ला र काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो गरी कार्यसम्पादन गराउन निर्देशन जारी गरेको हो ।

केन्द्रीय बैंकले डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन पनि निर्देशन दिएको छ । सूचनाअनुसार इलाका बाहिर खटिएका कर्मचारी संस्थामा फर्कदा पीसीआर परीक्षण गराई रिपोर्ट नेगेटिभ आएमा मात्र कार्यालयमा आउने व्यवस्था बैंक तथा वित्तीय संस्थाले गर्नुपर्नेछ । बाँकी कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाले घरबाटै काम गर्ने व्यवस्था मिलाई सो अवधिको हाजिरी हुने व्यवस्था गर्दै पूरा तलब दिनुपर्ने उल्लेख गरेको छ ।

राष्ट्र बैंकले बैंकिङ सेवा प्रवाहका क्रममा कर्मचारीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री फेस मास्क, पन्जा, स्यानिटाइजर, फेस सिल्ड, प्रोटेक्टिभ ब्यारियरको अनिवार्य व्यवस्था गरी कार्यस्थलको सुरक्षामा कुनै कमी नरहने व्यवस्था गर्न पनि सूचना प्रकाशन गरेको छ ।

कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रूपमा घर, अस्पताल वा होटलमा राख्नुपर्ने जनाएको केन्द्रीय बैंकले आइसोलेसन तथा क्वारेन्टाइनमा बसेका संक्रमित कर्मचारीको पिसीआर टेस्टको नतिजा नेगेटिभ आएपछि मात्र कार्यालय आउने व्यवस्थागर्न पनि सूचनामा भनेको छ ।

पीसीआरको टेस्ट गराउन लाग्ने सम्पूर्ण खर्च पनि बंैक तथा वित्तीय संस्थाले नै बेहोर्नुपर्ने सूचनामा उल्लेख छ । कर्मचारी आइसोलेसनमा रहँदाको समयको तलबसहितको अतिरिक्त बिदाको व्यवस्थागर्ने तथा क्वारेन्टिनमा बसेका कर्मचारीलाई क्वारेन्टिनमा रहने समयावधिमा वर्क फ्रम होमको व्यवस्था गर्नुपर्ने पनि उल्लेख गरिएको छ । कर्मचारीको हाजिरीमा अतिरिक्त बिदा र वर्क फ्रम होम उल्लेख गर्ने व्यवस्था मिलाउनुपर्ने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले समुदायस्तरमा कोभिड–१९ संक्रमण फैलिइ महामारीको विशेष अवस्था आइपर्ने अवस्थाको आंकलन गरी विस्तृत कार्ययोजना पनि राष्ट्र बैंकमा बुझाउनुपर्ने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 311 times, 1 visits today)

epaper

ताजा समाचार

गण्डकी मिडिया समिटमा अग्रज पत्रकार सम्मानित