सिन्धुपाल्चोक । चार दिन अघि गएको भिषण पहिरोले जुगल–२ लिदीबासीले धेरै आफन्त गुमाए । धेरैघरवार बिहीन भए, धेरैलाई सपना जस्तो लागिरहेको छ त्यो दिनको घटना । केही मिनेट अघि मात्रै सँगै रहेका परिवारलाई छिनैमा गुमाउनु पर्दाको पीडा कस्तो हुन्छ, त्यो लिदीबासीलाई मात्रै थाहा छ ।
पुरिएको ठाउँबाट आफन्तको शब निकालेर दाहासंस्कार गर्नुपर्दाको पीडा लिदीबासीले बताउनै सक्दैनन् तर पनि यो सबै गर्न बिवस छन् । घटनाको चार दिनपछि लिदीका पहिरो पीडितहरु विस्तारै आफुलाई सामान्कृत गर्न खोजीरहेका छन् तर पनि सकिरेहका छैनन् । पहिरोमा आफन्त गुमाएका लिदीका निमा दोङ भन्छन् जो नहुन थियो भैहाल्यो । अब कसलाई भन्नु, सहनु नै प¥यौ । पहिरो स्थल केही नजिकै निला टेण्टहरु लहरै गाडिएका छन् । दिनभर पहिरो स्थलमा आफन्तको खोजबिन अनि बेलुकी त्यही टेण्टमा आएर सुत्ने गरेका छन् लिदीका स्थानीय ।

जिल्ला विपद व्यवस्थापन समितिले उपलब्ध गराएका निलो चाइनिज टेण्ट झण्डै ४० वटा तयार पारिएको छ । सुत्ने, खाने बस्ने सबै अहिले त्यही टेण्ट नै भएको छ लिदीबासीको । कतिपयले भकारी राखेर गोठ पनि बनाएका छन् भने त्रिपाल राखेर पनि अस्थाई बासस्थान बनाएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए । पहिरोले पुरिएको घरबाट निकालिएका भाडावर्तन पनि स्थानीयले टेण्ट भित्रै राखेका छन् ।

जिल्ला विपद व्यवस्थापन समितिले पहिरो गएको दिन नै एकसरो राहातका सामग्री पीडितहरुलाई प्रदान गरिएको थियो भने तत्कालका लागि १५ हजार पनि गृहमन्त्री रामबहादुर थापाले हस्तान्तरण गरेका थिए । गाउँपालिकाले घोषणा गरेको राहात रकम पनि गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठले पीडितहरुलाई प्रदान गरेका छन् । गाउँपालिकाले मृतक परिवारलाई १ लाख २५ हजारका दरले सहयोग दिएको थियो । सोमबार बेलुकी स्काभेटर पुगेपछि अब पहिरोमा हराइरहेकाहरुको खोजीमा सहज हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।







