काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि मंगलबार साँझ अस्पताल भर्ना भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।
सेन्टरको क्याथ ल्यावमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण भएको छ । यसअघि प्रधानमन्त्री ओली डायलासिसका लागि मनमोहन सेन्टरमा निरन्तर जाने गरेका थिए । सोमबार गृह जिल्ला झापा पुगेर विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भएका उनले काठमाडौं आएपछि अस्वस्थ महशुस गरेका थिए ।
अस्पतालका एक चिकित्सकले यस पटक प्रधानमन्त्री ओली डायलासिस नभएर अन्य उपचारका लागि भर्ना भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले मिर्गौलाको खराबीका कारण केही समययता नियमित डायलासिस गराउँदै आएका छन् ।
प्रधानमन्त्री ओलीको १३ कात्तिकमा पहिलो पटक डायलायसिस गरिएको थियो । दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ । तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको थियो । गत १३ र १४ कात्तिकमा उनको चौबिस घण्टामा दुईपटक डायलासिस भएको थियो ।
२०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि उनले नियमित औषधि सेवन गर्दै आएका छन् ।
गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उनको उपचार भएको थियो । प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो ।
१२ वर्षअघि ओलीको मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फोहोर निष्कासन गर्न नसकेपछि मेसिनको सहयोग लिएर गरिने फोहोर निष्कासन गर्ने पद्धति नै ‘डायलासिस’ हो ।