कोरोना संक्रमण रोकथाम र नियन्त्रणको पछिल्ला प्रयासमा नागरिक अनुशासनको विषय पनि जोडतोडका साथ उठ्न थालेका छन् । पहिले सरकार, स्वास्थ्यसँग सम्बन्धित निकाय र स्वास्थ्यकर्मीहरूसँग जोडिएर उठ्ने प्रश्न अबका दिनमा नागरिकसँग पनि जोडिएर आएका छन् । कोरोना संक्रमण रोकौं र संक्रमितलाई निको पार्न पहल गरौं भन्ने खालका कार्यक्रम र अभियानहरू नागरिक समाजले नै लैजान सक्थे तर त्यसो भएको देखिँदैन । सायद नेपालको नागरिक समाज राजनीतिक प्रश्न, आफूसम्बद्ध आस्थाका पार्टी र तिनका अभियान तथा राजनीतिक दबाब समूहका रूपमा काम गर्न बढी प्रेरित रहेको देखिन्छ । कहिलेकाहीँ सरकारका काम कारबाही त्यति प्रभावकारी नहुँदा र सरकारले पनि जनताको इच्छा र भावनालाई सम्बोधन गरी अघि बढाउन नसक्दाका अवस्थामा नागरिक र नागरिक समाजका आवाज आवश्यक हुन्छन् । तर, ती केवल दबाब समूहका रूपमा मात्र नभएर सहयोगी तथा सिर्जनात्मक अभियानका रूपमा पनि अघि बढाउन आवश्यक हुन्छन् । यस्ता अभियानमार्फत स्वयं नागरिकले नागरिकलाई उत्प्रेरित गर्न, हातेमालो गर्न र सहकार्य गर्न अनुकूल वातावरण सिर्जना गर्न सकिन्छ ।
कुनै समय विशेष आफ्नै नागरिकको पनि सरकार वा सरकारी संस्था वा अन्य कुनै विशेष संस्थासँग केही पूर्वाग्रह सिर्जना हुन सक्छ । यो मानवीय स्वभावजन्य अभिव्यक्ति पनि हुन् । अहिलेको समाजवादोन्मुख भनिएको वाम सरकारसँग जनताका धेरै असन्तुष्टि छन् । ती नागरिकका इच्छा–आकांक्षाका कारण पनि सिर्जना भएका छन् भने उत्तिकै रूपमा सरकारले चुनावका बेला दिएका आश्वासन, घोषणापत्रमा अभिव्यक्त प्रतिबद्धता तथा कतिपय वस्तुगत आवश्यकताले पनि निम्त्याएका वा आवश्यकताले गर्दा सिर्जित हुन गएका हुन् । यसको समसामयिक र वस्तुसंगत हल जरुरी छ । तर, यति नै बेला समग्र मानवजातिको साझा दुष्मनका रूपमा कोभिड–१९ नामक महामारी विश्वभर आक्रामक बनेर फैलिइरहेको छ । यसको रोकथामका लागि सरकारले लामो समयसम्म लकडाउनको अभ्यास पनि ग-यो । तर, त्यसपछि पनि कोरोनाविरुद्ध लडाइँमा केही न केही अस्त्र त प्रयोग गरिनु जरुरी थियो । उसले स्थानीय निकायमार्फत निषेधाज्ञाको कार्यक्रम अघि बढायो ।
यो सबै समग्रमा जनताको हितका लागि हो । यो महामारी सरकार वा सरकारी निकायका चाहनाले निम्तिएको पनि होइन । यो मानिसमार्फत मानिसमा संक्रमण हुने रोग हो । यसका रोकथामका लागि अन्तर्राष्ट्रिय मापदण्ड निर्माण गरिएका छन् । साथै, देशको विशिष्टतामा सुरक्षासम्बन्धी राष्ट्रिय मापदण्ड पनि बनाइएका छन् । स्वयं नागरिक स्वास्थ्य सुरक्षाका लागि यी मापदण्डहरू आमनागरिकबाट पालना गरिनु जरुरी छ । महामारीजस्तो रोगले कोही कसैलाई पनि छाड्दैन । त्यसैले वर्तमानमा जारी गरिएको निषेधाज्ञा महामारीविरुद्ध लडाइँको घोषणा हो । यो लडाइँको मोर्चामा समग्र मानवजाति एकातिर र महामारी अर्कोतिर हुन्छ । बीचमा लटरपटर गर्नेको स्थान रहँदैन । त्यसैले, कोरोना महामारीविरुद्धको लडाइँमा सबै नागरिक एक भएर सुरक्षाका सबै विधि अपनाउँदै सरकारी अभियानलाई सफल पार्न लाग्नु सबैभन्दा उत्तम उपाय हो ।






