काठमाडौं । तेक्वान्दोकी निमा गुरुङ र पाराग्लाइडिङका विमल अधिकारी वर्ष २०७५ को सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)को आयोजनामा मंगलबार भएको १४औं संस्करणको एनएनआईपीए स्पोट्र्स अवार्ड–२०७५ मा विमल पुरुषतर्फ र निमा महिलातर्फ सर्वोत्कृष्ट घोषित भएको हो । दुवैले ग्लोबल आईएमई बैंकद्वारा प्रायोजित जनही १÷१ लाख रुपैयाँ पुरस्कार हात पारे । एनएनआईपीएले २०१८ मा इन्डोनेसियामा सम्पन्न एसियन गेम्समा समावेश २८ अलग–अलग खेलका उत्कृष्ट खेलाडीमध्येबाट सर्वोत्कृष्ट खेलाडी छनोट गरेको हो ।
सोही कार्यक्रममा एथलेटिक्सका अजितकुमार यादव र भलिबलकी सरस्वती चौधरी प्रतिभावान् खेलाडी घोषित भएका छन् । अजित र सरस्वतीले समान ५०–५० हजार रुपैयाँ प्राप्त गरे । २०७५ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागी खेलमा गरेको प्रदर्शनलाई आधार मान्दै सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडी घोषित गरिएको हो । एसियन खेलकुदमा नेपालले विभिन्न २८ खेलमा प्रतिस्पर्धा गरेको थियो । उत्कृष्ट २८ खेलाडी यसअघि नै घोषणा भइसकेको थियो । उनीहरूले समान १० हजार रुपैयाँ प्राप्त गरे । एनएनआईपीए उत्कृष्ट खेलाडीबाट सम्मानित हुने खेल फुटबल, पौडी, भलिबल, टेबल टेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, पाराग्लाइडिङ, कुराँस, कबड्डी, फेन्सिङ, रोलर स्पोट्र्स, स्क्वास छन् ।
त्यस्तै, सेपाकताक्रो, कुस्ती, स्पोट्र्स क्लाइम्बिङ, बास्केटबल, लन टेनिस, ब्याडमिन्टन, ट्रायथोलन, पेन्काक सिलात, कराँते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथ्लेटिक्स र गल्फका खेलाडी उत्कृष्ट घोषित हुँदै सम्मानित भए । उनीहरूले समान १०÷१० हजार रुपैयाँ पाए ।
यस्तै, एनएनआईपीएले पहिलोपटक समावेश गरेको पारा खेलकुदको अवार्ड बोसिया खेलकी महिमा कोइरालाले प्राप्त गरिन् । उनले जनही १० हजार पाए । यस्तै, राजेन्द्र चित्रकार खेल पत्रकारबाट पुरस्कृत भए उनले २५ हजार रुपैयाँ हात पारे । एनएनआईपीएले गत महिना एआईपिएस अवार्डको बेस्ट कोलम राइटिङ अवार्ड जितेका नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव तथा दि काठमाडौं पोस्टका प्रज्वल ओलीलाई विशेष सम्मान गरेको छ ।
विजयी खेलाडीलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, मध्यपुर ठिमीका प्रमुख मदन कुमार श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव नीलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका सहमहासचिव तथा राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना, ग्लोबल आईएमई बैंकका सीईओ, एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ नेपाली फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्य र हरि खड्कालगायतले पुरस्कृत गरे । १५औं संस्करण मध्यपुर ठिमी नगरपालिकामा हुनेछ ।

उत्कृष्ट खेलाडी
भरत खवास (फुटबल), सरस्वती चौधरी (भलिबल), सुस्मिता नेपाल (सुटिङ), सन्जु चौधरी (भारोत्तोलोन), विमल अधिकारी (प्याराग्लाइडिङ), सुभम श्रेष्ठ (पौडी), नविता श्रेष्ठ (टेबल टेनिस), ओमकार सिंह (फेन्सिङ), प्रेरणा कोइराला (लन टेनिस), रेणुका कुमारी राजवंशी (कबड्डी) रोशन तामाङ (सेपाकताक्रो), पेम्वा शेर्पा (क्लाइम्विङ), मिलन शाही ठकुरी (बक्सिङ), दीपेश धामी (ब्याडमिन्टन), उपेन्द्र थापा (कुराँस), गोविन्द चौधरी (पेनकेक सिलात), वसन्त थारू (ट्रायथोलन), अजितकुमार यादव (एथलेटिक्स), मनीषराज उपाध्याय (बास्केटबल) इन्द्रबहादुर श्रेष्ठ (जुडो), विजय श्रेष्ठ (कराँते), रेशम गौतम (कुस्ती), जुनी राई (उसु), तिलक पुन मगर (आर्चरी), निमा गुरुङ (तेक्वान्दो) र टंकबहादुर कार्की (गल्फ)
गुरुङ आदर्श खेल व्यक्तित्व
बक्सिङका प्रशिक्षक मदनकुमार गुरुङलाई एनएनआईपीएले गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मान गरेको छ । नेपालको पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित अवार्ड गुरुङलाई प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्य सचिव शरदचन्द्र शाहको आग्रहपछि बर्माको सैनिकको जागिर छाडेर गुरुङ नेपाल आएका थिए ।
गुरुङ सफल नेपालका सफल बक्सरका प्रशिक्षक हुन् । जसमा दलबहादुर राना, पुष्करध्वज शाहीदेखि प्रकाश थापामगर, मानबहादुर श्रेष्ठलगायतका हुन् । आइबा रेफ्रीसमेत रहेका ५९ वर्षीय गुरुङ राखेपका दोस्रो श्रेणीका अधिकृत हुन् । उनले सम्मान पत्रसहित ३५ हजार रुपैयाँ प्राप्त गरे ।