काठमाडौं । सरकारले कोरोना महामारी रोक्न गरेको लकडाउन तथा निषेधाज्ञाले बिहीबार ५ महिना पूरा भएको छ । नेपालमा खेलकुद गतिविधि भने चैतको पहिलो साताबाट नै ठप्प छ । यसबीचमा सरकारले १ साउनबाट लकडाउनलाई खुकुलो पारेपछि ब्युतिन लागेको खेलकुद गतिविधि काठमाडौं उपत्यकामै कोरोना संक्रमण दर दिनानुदिन बढ्दै गएपछि पुनः एक साताअघिबाट निषेधाज्ञा जारी गर्दा खेलकुद गतिविधि ठप्प छ ।
सरकारको १ भदौंदेखि सञ्चालनमा आउने भनिएका खेलकुद प्रशिक्षणलगायतका क्षेत्र १५ भदौसम्मलाई स्थगित छ । सरकारको निर्णयपछि खेलकुदको सर्वाेच्च सस्था राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र अखिल नेपाल फुटबल संघ (एन्फा)ले सूचना जारी गर्दै खेलकुद गतिविधि अनिश्चित कालका लागि स्थगित गरिसकेको छ ।
यसबीचमा खेलकुदसँग सम्बन्धित व्यक्तिलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि चलायन बन्न लागेको घरेलु खेलकुद गतिविधि पुनः ठप्प भएको हो । खेलकुद क्षेत्रमा ४५ भन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ । १५ भदौंपछि पनि नेपाली खेलकुद चलायनमान हुन्छ भन्न सकिने कुनै अवस्था नरहेको खेलकुदका पदाधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार यो विषम अवस्थामा नेपालीको महान् पर्व दसंै–तिहार अघिसम्म खेलकुदका कुनै पनि गतिविधि हुन नसक्ने बताउँछन् ।
अब पनि खेलकुद गतिविधि सुरु हुन सकेन भने खेलमा आश्रितहरूले अन्यत्र विकल्प खोज्ने बाध्यता आउन सक्दछ । यो भनेको नेपाली खेलकुद नै पछि धकेलिनु हो ।
एन्फाले ठूलो मिहिनेतका साथ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण १ भदौबाट गर्ने योजना बनाएको थियो । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम तीन खेलका लागि प्रशिक्षण सुरु गर्ने अन्तिम तयारी गरे पनि अन्तिम समयमा स्थगित हँुदा बन्द प्रशिक्षणमा डाकिएका खेलाडी आआफ्नो घर फर्किसकेका छन् । एन्फाले विभिन्न १८ प्रोटोकल अपनाएर १ भदौबाट प्रशिक्षण थाल्नेगरी एन्फा मुख्यालय सरसफाइ, बन्द प्रशिक्षणमा डाकिएका ३४ खेलाडी, होस्टेल स्टाफ र एन्फा अफिसियल गरी ५४ जनाको स्वाब संकलन गरेको थियो ।
तर, एसियली फुटबल कन्फेडेरेसन (एएफसी)ले २०२१ सम्म खेलकुद गतिविधि नगर्ने निर्णय गरेपछि राष्ट्रिय टोलीको प्रशिक्षण सुरु नै नभई स्थगित भएको थियो । विश्व क्रिकेट लिग–२ का बाँकी खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्ने तयारी गरे पनि २०२० मा हुने सिरिजहरू स्थगित भएपछि क्रिकेट टोलीको प्रशिक्षण पनि रोकिन पुग्यो । अर्काे वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकको तयारीमा रहेको करातेको प्रशिक्षणका साथै ब्याडमिन्टन र टेवल टेनिसले प्रशिक्षण सुरु गरे पनि प्रशिक्षण प्रभावित बनेको छ ।
कोरोनाकै कारण विश्व खेलकुद नराम्ररी प्रभावित बनेको थियो । फ्रेन्च लिग वान स्थगित भए पनि बुन्डेसलिगा, स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग, इटालियन सिरी ‘ए’, युरोपा लिग र च्याम्पियन्स लिग रोकिएकै अवस्थाबाट सुरु भएर सम्पन्न भइसकेको छ । क्रिकेटका सिरिज र लन टेनिसका खेलहरू पनि सुरु भइसकेका छन् । यसले विश्व खेलकुद चलायमान बनिसकेको छ । तर, नेपालमा खेलकुद कहिलेबाट चलायमान हुने भन्न सकिने अवस्था नै छैन । उनीहरूले सुरक्षा सतर्कता अपनाएका छन् । नेपाल जस्तो अर्थतन्त्र कमजोर रहेको राष्ट्रले विकसित राष्ट्रको जस्तैगरी बढी रकम खर्च गरेर खेल सञ्चालन गराउन कठिन छ । भारतले कोरोनाकै बीचमा पनि प्रशिक्षण सुरु गर्ने योजना अघि सारेको छ ।
खेलकुद विज्ञ सुरुले लकडाउन र निषेधाज्ञाको बहानामा खेलाडीको प्रशिक्षण रोक्न नहुने बताउँछन् । लामो समय प्रशिक्षणबिना बस्नु पर्दा खेलाडीहरू आफ्नो पुरानो फर्ममा फर्कन समय लाग्न सक्नेछ । त्यसैले सरकारले पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को निर्देशन पालना गराउँदै खेलाडीहरूलाई प्रशिक्षणमा फर्काउने वातावरण सिर्जना गराउन पहल गर्नुपर्दछ ।
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाको प्रयासले मात्रै फुटबल गतिविधि सञ्चालन गर्न नसकिने बताउँछन् । अध्यक्ष शेर्पाले सरकारबाट निर्देशन पाएको खण्डमा सुरक्षित हुने मापदण्ड अपनाएर खेलकुद गतिविधि सञ्चालन गर्न सकिने बताए । ‘यो हाम्रो हातमा छैन । हामी सरकारी नियमको पालना गर्नेछौं ।
यो विषम अवस्थामा हामीले मात्रै प्रशिक्षण सुरु गराउने अवस्था छैन । क्याबिनेटबाट मुस्किलले स्वीकृति लिएर प्रशिक्षण गर्ने योजना बनाए पनि अन्तिम समयमा क्याबिनेटबाटै स्थगित हुन पुग्यो ।’ अध्यक्ष शेर्पाले भने, ‘कोभिडको विषयमा सरकारले पोलिसी बनाउनुपर्छ । सबै पक्ष (एन्फा, क्लब, खेलाडी र अफिसियल)को अनुकूल मिल्नुपर्दछ । क्लबले पनि खेलाडीलाई होटेलमा राखेर खेलाउने सम्भावना छैन ।’ यस्तै, अध्यक्ष शेर्पाले दसंैअघि खेलकुद सुरु हुन कठिन रहेको समेत बताए ।
राष्ट्रिय टोलीका खेलाडी विक्रम लामाले अब पनि खेलकुद गतिविधि सुरु हुन नसके धेरै गाह्रो हुने बताएका छन् । ‘हरेक कुराले सीमित समय धान्ने हो । अब पनि खेलकुद गतिविधि सुरु हुन सकेन भने खेलमा आश्रितहरूले अन्यत्र विकल्प खोज्ने बाध्यता आउन सक्दछ । यो भनेको नेपाली खेलकुद नै पछि धकेलिनु हो ।’ लामाले भने, ‘मानव स्वास्थ्यभन्दा ठूलो केही होइन । यसमा सरकारले ठूलो सहयोग गर्नुपर्दछ ।
फिफा र डब्लूएचओको निर्देशन पालना गरेर सरकारले व्यवस्थापन गरिदिने हो भने फुटबल सञ्चालन असम्भव छैन भन्ने कुरा विश्वले देखाइसकेको छ । यो नेपाली खेलकुदका लागि पनि पाठ हो ।’ यस्तै लामाले पहिला स्वास्थ्य नै ठूलो रहेको र त्यस कुरामा ध्यान दिइसकेपछि खेल क्षेत्रमा पनि ध्यान दिनुभएमा राष्ट्र पुनः खेलक्षेत्रमार्फत समृद्ध हुन सकिने बताए ।






